खलङ्गा समाचारदाता
जाजरकोट, पुस ११ गते । सरकारले आगामी फागुन २१ गते निर्वाचन घोषणा गरेपछि यहाँका गाउँबस्तीमा चुनावी चहलपहल बढेको छ । उम्मेदवारको सिफारिसदेखि लिएर नेताहरूले जनतासँग भेटघाट पनि सुरु गरिसकेका छन् । सहरदेखि गाउँबस्तीसम्म नेताहरूको चहलपहल हेर्दा चुनाव हुने छनक देखिएको छ । चुनावसँगै नेपाली कांग्रेसले घोषणा गरेको १५ औँ महाधिवेशनका कारण पनि पार्टीको चहलपहल अलि बढी देखिएको छ । जिल्लास्तरका नेता कार्यकर्तालाई अगुवा कार्यकर्ता तथा जनताको घरदैलोमा पुग्न भ्याइनभ्याइ छ । जाजरकोटका कांग्रेस नेता मुक्तिप्रसाद आचार्य प्रतिनिधि सभामा जाजरकोटबाट सिफारिस हुनुभएको छ । कांग्रेसको १५ औँ महाधिवेशनमा जिल्ला सभापतिको उम्मेदवार बन्ने भएपछि उहाँले जनताका समस्या बुझ्न अभियान थाल्नुभएको छ । उहाँले जुनीचाँदे गाउँपालिकामा पालिकास्तरीय अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा जिल्ला सभापतिमा सबैको सहयोग पाउने अपेक्षा गर्नुभयो ।
छेडागाड नगरपालिका–४ का पूर्णप्रसाद अधिकारीले जनताका आधारभूत समस्या समाधान गर्ने उम्मेदवारलाई भोट दिने बताउनुभयो ।
रास्वपाको सक्रियता
दैलेख समाचारदाताका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्ष्य गरी सङ्गठन विस्तार तथा सुदृढीकरण अभियान तीव्र बनाएको छ । पार्टीले दैलेख जिल्लाका ११ वटै स्थानीय तहका ९० वटै वडामा वडा भेला तथा वडा अधिवेशनको प्रक्रिया अघि बढाएको जनाएको छ । रास्वपा दैलेखका जिल्ला सभापति मित्रबहादुर प्याकुरेलले पार्टीलाई तल्लो तहदेखि नै व्यवस्थित र सक्रिय बनाउने उद्देश्यसहित वडाकेन्द्रित अभियान सञ्चालन गरिएको जानकारी दिनुभयो ।
रास्वपाले परम्परागत राजनीतिक अभ्यासभन्दा फरक र जिम्मेवार शैलीमा राजनीति गर्ने दाबी गर्दै स्थानीय तहबाटै पारदर्शी र जवाफदेही सङ्गठन निर्माणमा जोड दिएको छ । प्रतिनिधि सभा सदस्यमा सामानुपातिकतर्फ खस आर्यबाट उम्मेदवार रहनुभएका जिल्ला सभापति प्याकुरेलका अनुसार दैलेख जिल्लाका दुवै निर्वाचन क्षेत्रका लागि निर्वाचन परिचालन समितिको संयोजकमा क्रमशः ऐनबहादुर शाही र बिनी शाहीलाई चयन गरिएको छ ।
उम्मेदवार सिफारिस
जुम्ला समाचारदाताका अनुसार नेपाली कम्युनिस्ट पार्टी जुम्लाले प्रतिनिधि सभा सदस्य उम्मेदवारका लागि प्रत्यक्षतर्फ नरेश भण्डारीसहित पाँच जनाको नाम सिफारिस गरेको छ ।
नेकपा जुम्लाका नेता नवीन शर्माका अनुसार बुधबार बसेको बैठकले प्रत्यक्षतर्फको उम्मेदवार सिफारिस टुङ्गो लगाएको छ । उहाँका अनुसार संविधान सभा सदस्य उम्मेदवारमा नरेश भण्डारी, दलबहादुर जिसी, नवराज न्यौपाने, अमराज शाही र हरिबहादुर रावलको नाम सिफारिस गरिएको हो । समानुपातिकतर्फ भने नाम टुङ्गिएको छैन ।
यस पटक पनि राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ज्ञानबहादुर शाहीको नाम जुम्लाबाट सिफारिस भएको छ । २०७९ सालमा थोरै मत भएका शाहीले बाजी मार्दा अहिले प्रमुख दलको चुनावी प्रतिस्पर्धा जुम्लामा कस्तो होला भन्ने रोचक हुने देखिन्छ । यसअगाडि नेपाली कांग्रेसले पनि केन्द्रीय सदस्य कान्तिका सेजुवाल, जिल्ला सभापति कर्णबहादुर शाही, खड्कबहादुर सेजुवाल, पूर्णप्रसाद आचार्यसहित चार जनाको नाम सिफारिस गरिसकेको छ ।
हटाइयो मतदाताको नाम
मुसीकोट समाचारदाताका अनुसार रुकुमपश्चिममा करिब तीन सय मतदाताको नाम मतदाता नामावलीबाट हटाइएको छ । जिल्ला निर्वाचन कार्यालय रुकुमपश्चिमका अनुसार मृत्यु भएका, दोहोरो परेका र नागरिकता त्याग गरेका २९५ जना मतदाताको नाम हटाइएको हो । जिल्ला निर्वाचन कार्यालयका प्रमुख मोहनलाल केसीका अनुसार मतदाता नामावली अद्यावधिक कार्यक्रम अन्तर्गत मतदाताको नाम एकभन्दा बढी स्थानमा समावेश भएकोमा एक स्थानमा मात्र कायम गर्न निवेदन आह्वान गरिएको थियो । यसै गरी मतदाताको मृत्यु भएको वा नागरिकता त्याग गरेको भए नामावलीबाट हटाउन सूचना दिनसमेत भनिएको थियो ।
यसका लागि अनलाइन वा निर्वाचन कार्यालयमै निवेदन तथा सूचना दिन आह्वान गरिए अनुसार २९५ जनाको नाम नामावलीबाट हटाइएको प्रमुख केसीले बताउनुभयो । जिल्लामा अद्यावधिक भएको तथ्याङ्क निर्वाचन आयोगमा पठाइसकिएको उहाँले जनाउनुभयो । कार्यालयका कम्प्युटर अपरेटर जयराम केसीका अनुसार जिल्लाको सानीभेरी गाउँपालिकाका ६७ जना, मुसीकोट नगरपालिकाका ७२ जना, बाँफीकोट गाउँपालिकाका ५८ जना, त्रिवेणी गाउँपालिकाका २८ जना, चौरजहारी नगरपालिकाका ३८ जना र आठबिसकोट नगरपालिकाका ६२ जनाको नाम हटाइएको छ । रुकुमपश्चिम जिल्लामा दुई हजार ८३७ जना नयाँ मतदाता थपिएका छन् ।