• ११ पुस २०८२, शुक्रबार

ज्येष्ठ नागरिकको हक, अधिकारमा प्रदेश सरकार प्रतिबद्धः मुख्यमन्त्री आचार्य

blog

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य

रमेश विश्वकर्मा 
गुल्मी, पुस ११ गते ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले राष्ट्रिय ज्येष्ठ नागरिक दिवस, २०८२ का अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । ज्येष्ठ नागरिक समाजका अमूल्य धरोहर भएको उल्लेख गर्दै उहाँहरुको सम्मान, सुरक्षा र सुखद जीवन सुनिश्चित गर्नु राज्यको प्रमुख दायित्व भएको मुख्यमन्त्री आचार्यले बताउनुभएको हो ।

उहाँले ज्येष्ठ नागरिकले दिएको अनुभव, ज्ञान र योगदानकै कारण समाज अघि बढेको उल्लेख गर्नुभएको छ । मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेश सरकारले ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा, हक र अधिकारको संरक्षणलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको स्पष्ट पार्नुभएको छ । प्रदेश सरकारले ज्येष्ठ नागरिकको निरोगितालाई ध्यानमा राख्दै घर–घरमै पुगेर निःशुल्क स्वास्थ्य जाँच कार्यक्रम सञ्चालन गरिरहेको उहाँले बताउनुभएको छ ।

शुभकामना सन्देशमा ८० वर्ष उमेर पूरा गरेका ज्येष्ठ नागरिकका लागि घरमै पुगेर उपचार सेवा उपलब्ध गराइँदै आएको उल्लेख गरिएको छ । यसले ज्येष्ठ नागरिकलाई अस्पताल धाउनुपर्ने बाध्यता कम हुनुका साथै समयमै उपचार पाउन सहयोग पुगेको प्रदेश सरकारको ठहर रहेको छ ।

मुख्यमन्त्री आचार्यले आगामी दिनमा पनि ज्येष्ठ नागरिकको जीवनस्तर सुधार, स्वास्थ्य सेवा विस्तार र सामाजिक सुरक्षाका कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै लैजाने बताउनुभएको छ । साथै उहाँले परिवार, समाज र राज्य सबैले ज्येष्ठ नागरिकप्रति सम्मान र सद्भाव प्रकट गर्नुपर्नेमा जोड दिनुभएको छ ।