रमेश विश्वकर्मा
गुल्मी, पुस १० गते । गुल्मीको चन्द्रकोट गाउँपालिकाको आयोजनामा भएको सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता ज्ञानोदय माध्यमिक विद्यालय मजुवाले जितेको छ। यस गाउँपालिकाको वडा ४, शान्तिपुरस्थित उदय माध्यमिक विद्यालय र चक्रेश्वर इङ्लिस बोर्डिङ स्कुलको व्यवस्थापनमा भएको प्रतियोगितामा २५ स्वर्ण, नौ रजत र छ काँस्यसहित ४० पदक हात पार्दै ज्ञानोदय माध्यमिक विद्यालय मजुवाले उपाधि जितेको हो।
लगातार तेस्रो पटक उपाधि जितेको ज्ञानोदय माध्यमिक विद्यालयले उपाधिसँगै रनिङ शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ, भने रनिङ शिल्ड कब्जा समेत गरेको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमख नयन सिंह ठकुरीले जानकारी दिनुभयो । दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा दोस्रो भएको उदय माध्यमिक विद्यालय शान्तिपुरले नौ स्वर्ण, १६ रजत र चार काँस्यसहित २९ पदक प्राप्त गरी उपविजेता बनेको छ। नौ स्वर्ण, पाँच रजत र तीन काँस्यसहित १७ पदक प्राप्त गरी शारदा माध्यमिक विद्यालय सराङ्ग तेस्रो भएको हो । सात स्वर्ण, तीन रजत र चार काँस्यसहित कुल १४ पदक प्राप्त गरी शारदा माध्यमिक विद्यालय रुपाकोट सान्त्वना भएको छ।
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन निर्देशिका, २०७० ९पाँचौ संशोधन० अनुसार भएको थियो । भलिबल, कबड्डी, दौड, रिले दौड, हाइजम्प, लङजम्प, कराते, तेक्वान्दो लगायतका खेल समावेश गरिएको प्रतियोगितामा गाउँपालिकाभित्रका १० विद्यालयका विद्यालयका करिब ५०० विद्यार्थीले प्रतिस्पर्धा गरेका थिए। प्रतियोगितामा विजेता विद्यालय र खेलाडीलाई जिल्ला समन्वय समिति प्रमुख द्रोण खत्री, गाउँपालिका अध्यक्ष युवराज खत्री क्षत्री, उपाध्यक्ष विष्णुप्रसाद भण्डारी, वडा अध्यक्ष, कार्यपालिका सदस्यलगायतले सम्मानसहित ट्रफी, पदक र प्रमाणपत्र प्रदान गर्नुभयो।