• २२ वैशाख २०८३, मङ्गलबार

हावाहुरीका सप्तरीमा दुई जना घाइते

blog

विनय कर्ण
कल्याणपुर (सप्तरी), वैशाख २२ गते ।
सप्तरीमा आएको हावाहुरीका कारण भएका दुई जना घाइते भएका छन् । सोमबार साँझ ६ः१५ बजे राजविराज नगरपालिका वडा नम्बर ६ स्थित ट्रान्सफर्मर नजिक हावाहुरीले उडाएको जस्तापाताले लाग्दा रुपनी गाउँपालिका ३ मकरी टोलका ४० वर्षीया सोनी कुमारी मण्डल घाइते हुनुभएको हो ।

उहाँको अवस्था सामान्य रहेको तथा राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीले जानकारी दिनुभयो ।

यसैगरी, सोही दिन राति राजविराज नगरपालिका वडा नम्बर ५ शिव बोर्डिङ स्कुल नजिक राजविराज–कुनौली सडक खण्डमा राजविराजबाट कुनौलीतर्फ जाँदै गरेको स ८ प ५०८७ नम्बरको मोटरसाइकल हावाहुरीका कारण झुण्डिएको नेपाल टेलिकमको तारमा बेरिँदा चालक हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १४ रामपुर टोल का ३२ वर्षीय हेमन्त साह घाइते हुनुभएको छ ।

तारमा बेरिएर दुर्घटना हुँदा साहको नाकमा चोट लागेको तथा गजेन्द्र नारायण सिंह अस्पताल, राजविराजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।