• ११ पुस २०८२, शुक्रबार

ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान

blog

नेपालमा विसं २०७८ पुस ११ गतेदेखि राष्ट्रियस्तरमा ज्येष्ठ नागरिक दिवस मनाउन थालिएको हो । नेपाल सरकारको निर्णयबमोजिम हरेक वर्ष पुस ११ गतेलाई राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका रूपमा मनाउने गरिन्छ । यो यर्ष हामी ५ औँ राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउँदै छौँ । २०५१ साल पुस ११ गतेदेखि तत्कालीन सरकारले ७५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई एक सय रुपियाँ मासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्ने घोषणा गरेको थियो । त्यही एक सय रुपियाँ बढ्दै बढ्दै जाँदा अहिले मासिक चार हजार पुगेको छ । जुन ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई राज्यबाट सामाजिक सुरक्षा भत्ताका रूपमा वितरण गर्ने गरिन्छ । त्यही २०५१ साल पुस ११ गते स्मरण गर्दै विसं २०७८ पुस ११ गतेदेखि राष्ट्रियस्तरमा ज्येष्ठ नागरिक दिवस मनाउन थालिएको हो । यो दिन ज्येष्ठ नागरिकको योगदान, अधिकार, सम्मान र संरक्षणप्रति राज्य, समाज र परिवारको ध्यानाकर्षण गर्न मनाइने विशेष दिवस हो ।

ज्येष्ठ नागरिकको मानव अधिकारको संरक्षण, स्वस्थ र मर्यादित जीवनशैलीको प्रवर्धन र उनीहरूमाथि हुने दुव्र्यवहार, हिंसा र विभेद रोकथामका लागि आवाज उठाउन विभिन्न नीति तथा कार्यक्रम तय गर्नु यो दिनको प्रमुख विशेषता हो । ज्येष्ठ नागरिकले जीवनभर परिवार, समाज र देशका लागि महत्वपूर्ण योगदान दिइरहेका हुन्छन् । उमेर ढल्किँदै जाँदा उनीहरूलाई उपेक्षा, एक्लोपन, आर्थिक समस्या र स्वास्थ्य चुनौती सामना गर्नु पर्छ । यही वास्तविकतालाई सबैले देख्न, बुझ्न र सुधार गर्न सकियोस् भन्ने उद्देश्यले यो दिवस मनाइन्छ । यो दिनका लागि यस वर्षको नारा ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ रहेको छ । 

नेपालको संविधान–२०७२ को धारा ४१ मा ‘ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुने छ’ भनी मौलिक हकको रूपमा उल्लेख गरेको छ । ज्येष्ठ नागरिकको सामाजिक सुरक्षाको प्रत्याभूति दिनु राज्यको दायित्व हो । यही कुरालाई दृष्टिगत गर्दै ज्येष्ठ नागरिकको सम्मान, वृद्धावस्थामा हुन सक्ने समस्या र विभिन्न अप्ठ्यारालाई सम्बोधन गर्न ज्येष्ठ नागरिकको कानुनको रूपमा ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ तयार गरिएको थियो । अहिले २०७९ मा संसोधित भई लागु भइसकेको छ । जसमा ६० वर्ष वा सोभन्दा माथिका व्यक्तिलाई ज्येष्ठ नागरिक भनी परिभाषित गरेको छ । 

ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ संसोधन (२०७९) का केही प्रमुख उद्देश्य र प्रावधान रहेका छन् । उद्देश्यमा ज्येष्ठ नागरिकको सम्मान, सुरक्षाको व्यवस्था गर्ने, सामाजिक, आर्थिक र स्वास्थ्यसम्बन्धी सेवा र सुविधा उपलब्ध गराउने र पारिवारिक उत्तरदायित्व सुनिश्चित गर्ने रहेका छन् । यसै गरी राज्यले ज्येष्ठ नागरिकको स्वास्थ्य, आवास र सामाजिक सुरक्षाको व्यवस्था, परिवारका सदस्यले ज्येष्ठ नागरिकको हेरचाह गर्न कानुनी दायित्व हो, ज्येष्ठ नागरिकलाई यातायात, अस्पताल र सेवा क्षेत्रमा प्राथमिकता दिने व्यवस्था, ज्येष्ठ नागरिक परिचयपत्र प्रदान गर्ने व्यवस्था, ज्येष्ठ नागरिक आवासगृह स्थापना गर्न सकिने व्यवस्था र हेला, दुव्र्यवहार वा परित्याग गरेमा कारबाहीको व्यवस्था ज्येष्ठ नागरिकसम्बन्धी ऐनका केही प्रमुख प्रावधानमा पर्छन् ।

नेपालमा ज्येष्ठ नागरिकको सङ्ख्या दिनानुदिन बढ्दो छ । स्वास्थ्य सेवामा पहुँच, औसत आयुमा वृद्धि र जनसाङ्ख्यिक परिवर्तनका कारण नेपाल बुढ्यौली देशमा रूपान्तरित भइरहेको छ । अहिले नेपालमा कुल जनसङ्ख्याको १०.२१ प्रतिशत सङ्ख्या ज्येष्ठ नागरिकको रहेको छ । अबको २५ वर्ष अर्थात् सन् २०५० मा यो सङ्ख्या दोब्बर हुने छ भन्ने प्रक्षेपण जनसङ्ख्याविद्ले गरेका छन् । दुःखको कुरा के छ भने, सङ्ख्या बढ्दै जाँदा सम्मान र सुरक्षाको अवस्था भने कमजोर हुँदै गएको छ । यो विषय नै आजको मुख्य चुनौती हो । 

परम्परागत संयुक्त परिवार प्रणालीमा ज्येष्ठ नागरिक निर्णयकर्ता, मार्गदर्शक र सम्मानित व्यक्ति हुन्थे । समयसँगै परिवार संरचना परिवर्तन भयो । वैदेशिक रोजगारी, सहरीकरण र व्यक्तिगत जीवनशैलीका कारण संयुक्त परिवार कमजोर र एकल परिवार बलियो बन्दै गयो । यसको सिधा असर ज्येष्ठ नागरिकको जीवनमा प¥यो । आजको समाजमा सहनशीलता हराउँदै गएको देखिन्छ । अति उत्पादनमुखी जीवनशैली, प्रवृधिमैत्री संस्कृतिले ज्येष्ठ नागरिकलाई समय दिन नसक्ने पुस्ता उत्पादन गरिरहेको छ । 

यसको जिम्मेवारी राज्य मात्र होइन, परिवार, समाज र प्रत्येक नागरिकको साझा कर्तव्य सम्झेर आआफ्नो जिम्मेवारी र दायित्व पूरा गर्ने हो भने यो अवस्थालाई परिवर्तन गर्न सकिन्छ । नेपालमा ज्येष्ठ नागरिकको अवस्था केवल सामाजिक मुद्दा होइन, मानव अधिकार र सामाजिक न्यायको प्रश्न पनि हो । नीति र कानुन पर्याप्त भए पनि कार्यान्वयन र व्यवहार कमजोर रहँदा सम्मान सुनिश्चित हुन सकेको छैन । अबको आवश्यकता भनेको कानुनको प्रभावकारी कार्यान्वयन र साझा जिम्मेवारी हो । घरभित्रैबाट सम्मानको अभ्यास भएन भने कानुनले मात्र पनि समाज बदलिँदैन ।

ज्येष्ठ नागरिक हाम्रो समाजका जीवित इतिहास हुन् । समाजका अमूल्य धरोहर हुन् । उनीहरूका अनुभव, त्याग, सङ्घर्ष र योगदानकै जगमा आजको समाज उभिएको छ । विडम्बना, समयसँगै समाज आधुनिक बन्दै जाँदा ज्येष्ठ नागरिकप्रतिको श्रद्धा र सम्मान पक्ष कमजोर हुँदै गएको यथार्थ हामी सबैका अगाडि छ । ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान कुनै एक व्यक्ति, संस्था वा सरकारले मात्र पूरा गर्न सक्ने जिम्मेवारी होइन, यो हाम्रो साझा अभियान हो । ज्येष्ठ नागरिकले आफ्नो जीवनको ऊर्जावान् समय परिवार पालनपोषण, समाज निर्माण र राष्ट्र सेवामा खर्चिए । आज उनीहरू उमेर, स्वास्थ्य र शारीरिक सीमितताका कारण अरूमा निर्भर हुन बाध्य छन् । यो निर्भरता कमजोरी होइन, जीवनचक्रको स्वाभाविक चरण र प्रक्रिया हो । दुर्भाग्यवश, यही अवस्थालाई कतिपयले बोझका रूपमा बुझ्ने गरेका छन्, जुन आधुनिक समयसँगै उब्जिएको चिन्ताजनक सामाजिक व्यवहार या प्रवृत्ति हो । बढ्दो उमेरका कारण शारीरिक रूपमा केही सीमित भए पनि ज्ञान, अनुभव र जीवन सिकाइमा धनी ज्येष्ठ नागरिकको कुरा सुन्नु, अनुभवबाट सिक्नु र सम्मानका साथ व्यवहार गर्नु हाम्रो कर्तव्य हो । घरमै हजुरबुबा–हजुरआमा वा बुबाआमालाई समय नदिने, बेवास्ता गर्ने वा बोझ ठान्ने बानीले हामी र हाम्रो समाजलाई नै कमजोर बनाउँछ ।

श्रद्धा भनेको केवल खुट्टा ढोग्नु वा औपचारिक सम्मान गर्नु मात्र भने पक्कै पनि होइन । श्रद्धा भनेको सुन्नु, बुझ्नु, साथ दिनु र निर्णय प्रक्रियामा समावेश गराउनु हो । सम्मान भनेको ज्येष्ठ नागरिकलाई सहानुभूति या दयादानका आँखाले मात्र होइन, अधिकारको दृष्टिले हेर्नु हो । घरपरिवारमै ज्येष्ठ नागरिकको विचारलाई महत्व नदिने, उनीहरूलाई एक्लो छाड्ने वा बेवास्ता गर्ने बढ्दो प्रवृत्तिले समाजको नैतिक धरातल कमजोर बनाउँदै छ । संविधान तथा ऐनले उनीहरूलाई सम्मानपूर्वक बाँच्न पाउने हक सुनिश्चित गरेको छ । कानुन कागजमा मात्र सीमित भयो भने त्यसको अर्थ रहँदैन । राज्यले नीति निर्माण र सेवा प्रवाहमा जिम्मेवारी निभाउनु पनि जरुरी छ । यसरी नै परिवार र समाजले व्यवहारमा सम्मान उतार्नु अझै बढी आवश्यक छ ।

आजको पुस्ताले यी कुरा बुझ्नै पर्छ कि आज सम्मान नपाएका ज्येष्ठ नागरिक भोलिका हामी नै हौँ र ज्येष्ठ नागरिकप्रतिको व्यवहारले नै हाम्रो भविष्यको सामाजिक संरचना तयार पार्छ । त्यसैले यस साझा अभियानमा परिवारले माया, समय र संवाद दिनु पर्छ । समाजले बहिष्कार होइन, सहभागिता दिनु पर्छ । राज्यले पहुँचयोग्य सेवा, सुरक्षा र संरक्षण दिनु पर्छ । युवापुस्ताले अनुभवबाट सिक्ने संस्कार विकास गर्नु पर्छ । हामी सबैले आआफ्नो ठाउँबाट जिम्मेवारी पूरा ग¥यौँ भने मात्र ‘ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ नारामा सीमित हुँदैन, जीवित संस्कृतिमा रूपान्तरण हुन्छ । ज्येष्ठ नागरिकको सम्मान गर्नु दया होइन, सभ्य समाजको परिचय हो ।

ज्येष्ठ नागरिकलाई सम्मान गर्ने अभियानमा जुट्नु भनेकै मानवीय मूल्य र सामाजिक न्यायको पक्षमा उभिनु हो । यही सोचका साथ अघि बढ्नु आजको आवश्यकता र भोलिको सुरक्षित बुढ्यौली सुनिश्चितता उदय हो ।