• ११ पुस २०८२, शुक्रबार

जङ्गली हात्तीको आतङ्क

blog

जङ्गली हात्तीले भत्काएको त्रियुगा नगरपालिका–५, बेलचौरीकी ३७ वर्षीय रेवती सदाको घर । तस्बिर : भक्तिविलास पोखरेल

गाईघाट समाचारदाता 

गाईघाट (उदयपुर), पुस ११ गते   । उदयपुरमा जङ्गली हात्तीले आतङ्क मच्चाएको छ । राति राति गाउँमा आउने र दिउँसो जङ्गलमा लुक्ने गरेको हात्तीको समूहले स्थानीयका दर्जनभन्दा बढी घर भत्काउने, अन्न खाइदिने र फलपूmल नष्ट पारिदिने गरेको हात्तीपीडितको भनाइ छ । छ वटा समूहमा रहेका र फरक फरक ठाउँबाट गाउँ पसेका हात्तीले त्रियुगा नगरपालिका–५, बेलचौरी; वडा नं. ६ को मोहनपुर तथा ७ को चकलघाट क्षेत्रमा ठुलो नोक्सानी गरेको प्रहरीले जनाएको छ । हात्तीले स्थानीयको घर तथा भान्साघर भत्काउनुका साथै अन्नपात, खानेपानीको पाइपसमेत नष्ट गरिदिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।  

हात्तीले त्रियुगा नगरपालिका–५, बेलचौरीकी ३७ वर्षीय रेवती सदाको घर भत्काएर १० हजार रुपियाँभन्दा बढीको क्षति गरिदिएको छ भने सोही स्थानकी ४१ वर्षीय वृहस्पति सदाको पाँच हजार रुपियाँ बराबरको अन्नपात नष्ट गरिदिएको छ । सोही ठाउँका ७७ वर्षीय गणेश बुढाथोकी, रुद्र पोखरेल, ४५ वर्षीय विष्णु भुजेल, ६४ वर्षीय मनकुमारी राईको घर तथा भान्साघर भत्काई क्षति गरेको प्रहरीले जनाएको छ । बुढाथोकीको पाँच हजार एवं भुजेल र राईको १० हजार रुपियाँ बराबरको धनमाल हात्तीले क्षति गरेको प्रहरीको भनाइ छ ।  

हात्तीले सबैभन्दा बढी त्रियुगा नगरपालिका–६, मोहनपुरकी ५५ वर्षीय बिन्दा परियारको २० हजार रुपियाँ बराबरको क्षति गरेको छ । सोही ठाउँका ५२ वर्षीय राजन कार्कीको १६ हजार, ४९ वर्षीय मानबहादुर विकको १२ हजार, त्यहीँकी ४३ वर्षीय गङ्गामाया कार्कीको १० हजार रुपियाँ बराबरको क्षति गरिदिएको छ । हात्तीले त्रियुगा नगरपालिका–७, चकलघाटकी ७८ वर्षीय नर्वदा कार्कीको पनि आठ हजार रुपियाँ बराबरको क्षति गरेको छ । 

जिल्ला प्रहरी कार्यालय उदयपुरका  प्रवक्ता प्रहरी नायब उपरीक्षक केदारमान दोङले १२ घरपरिवारको गरी एक लाख ४० हजार रुपियाँभन्दा बढी मूल्य बराबरको क्षति पु¥याएको बताउनुभयो । तिनै ठाउँ पसेर विध्वंस गर्न थालेको हात्तीलाई स्थानीयले बिहीबार बिहान जङ्गलतर्फ लखेट्न सफल भएको प्रनाउ दोङले बताउनुभयो ।

यी क्षेत्रमा कहिल्यै नछिरेको हात्ती यस वर्ष एक्कासि गाउँ छिरेर विध्वंस मच्चाएको प्रत्यक्षदर्शी मीना राउतले बताउनुभयो । उहाँका अनुसार चुरे जङ्गलसँग जोडिएको गाउँ भएकाले हात्ती सहजै जङ्गलबाट बस्ती छिरेर उट्पट्याङ गर्दै घर तथा भान्साकोठा भत्काएर खानेकुरा खाइदिने, अन्नपात र फलफूल खाने भाँच्ने गरेर क्षति गर्ने गरेको छ ।

उदयपुरगढी–७ का वडाध्यक्ष भुवन केप्छाकीमगरले त्रियुगाका विभिन्न ठाउँमा बिज्याइँ गरेका हात्ती स्थानीय र प्रहरीले धपाउँदा आफ्नो गाउँबस्तीतर्फ पसेको जानकारी आएको भन्दै सबैलाई सतर्क भएर बस्न, एक ठाउँमा जम्मा हुन, विशेष गरी राति चनाखो हुन र सुरक्षाकर्मी तथा जनप्रतिनिधिलाई खबर गर्न आग्रह गरेको बताउनुभयो ।