ठाकुरप्रसाद आचार्य
म्याग्दी, पुस ११ गते । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) म्याग्दीले आगामी फागुन २१ गते घोषणा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गरेको छ ।
बेनीस्थित पार्टी कार्यालयमा बिहीबार बसेको बैठकले प्रत्यक्षतर्फ पाँच र समानुपातिकतर्फ ६ जनाको नाम सिफारिस गरेको हो । प्रत्यक्षतर्फ अर्जुनबहादुर थापा, कृष्णकुमार विश्वकर्मा, गमबहादुर श्रीसमगर, टेकबहादुर विक, दुर्गा कार्की (बानियाँ)को नाम सिफारिस गरिएको नेकपाका युवा नेता रेशम जुग्जाली सुविनले जानकारी दिनुभयो ।
समानुपातिकतर्फ गोविन्द पौडेल, चन्द्रबहादुर घिमिरे, पुनम खड्का, मिना विक, दिलु बुदुजा र लालबहादुर चर्माकार (लालु किसान)को नाम सिफारिस भएको छ । बुदुजा यौनिक अल्पसङ्ख्यक समुदायका हुनुहुन्छ । एकताको भावना र समावेशी मर्म अनुसार युवाहरुलाई प्राथमिकता दिएर सिफारिस गरेको जुग्जालीले बताउनुभयो ।
बैठकमा नेकपाका नेता दिनानाथ शर्माले आगामी फागुन २१ गते घोषणा भएको निर्वाचन तोकिएकै मितिमा हुने राजनीतिक वातावरण बन्न थालेको बताउनुभयो । विगतमा भएका राजनीतिक उपलब्धी, संविधान र व्यवस्था बचाउदै जेनजी पुस्ताको आन्दोलनको मर्म र भावना अनुसार देशलाई राजनीतिक निकाश दिन चुनावको विकल्प नभएको बताउनुभयो ।
नेता शर्माले राजनीतिक परिवर्तनको अगुवाइ गरेको नेपाली कम्युनिष्ट पार्टीले सुशासनको जगमा देशमा राजनीतिक स्थिरता कायम गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी, भ्रष्टाचारको छानविनका लागि शक्तिशाली आयोग गठन, संवैधानिक निकायहरुलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउन योग्यता र क्षमताको आधारमा अवसर दिने प्रणाली विकास गराउने मुद्दा लिएर चुनावमा जाने बताउनुभयो ।
बैठकमा सहभागि नेताहरुले एकतावद्ध भएर निर्वाचनको तयारीमा जुट्न आग्रह गरेका थिए । पार्टी एकताको सन्देशसभा र चुनावी तयारीलाई सँगसँगै अघि बढाउने कार्यक्रम बनाएको नेता सेरबहादुर केसीले बताउनुभयो ।