नवलपरासी समाचारदाता
कावासोती, माघ १० गते । सुगम जिल्लाका रूपमा परिचित पूर्वी नवलपरासीका तीन गाउँपालिकाका १३ वडामा अझै राष्ट्रिय प्रसारणको बिजुली पुग्न सकेको छैन।
यस जिल्लाको तीन गाउँपालिका हुप्सेकोट, बुलिङटार र बौदीकालीका १३ वटा वडामा अझै पनि बिजुली पुगेको छैन। यो वर्षभित्रै राष्ट्रिय प्रसारण लाइन पु-याउन काम दु्रत गतिमा अगाडि बढेको नेपाल विद्युत् प्राधिकरणको कावासोती कार्यालयका निमित्त प्रमुख निश्चल अधिकारीले जानकारी दिनुभयो। यसबाट यहाँका करिब ५० हजार जनता लाभन्वित हुने अधिकारीले बताउनुभयो।
अहिले राष्ट्रिय प्रसारण लाइन पु-याउन पोल गाड्ने काम भइरहेको छ भने कतै ट्रान्समिटर जडानको काम भइरहेको र अब चाँडै नै बिजुली बाल्ने र उज्यालो नवलपुर अभियान सफल पार्न काम अगाडि बढेको निमित्त प्रमुख अधिकारीले बताउनुभयो।
स्थानीय लघुजलविद्युत् आयोजनामार्फत जेनतेन बिजुली बालेर जीवन बिताउन बाध्य त्यहाँका जनता अब भने चाँडै नै केन्द्रीय प्रसारण लाइनमा जोडिने स्थानीय बुलिङटारका भविलाल रानामगरले बताउनुभयो। प्राधिकरणले विद्युत् सेवा दिन प्रक्रिया सुरु गरेपछि केही आशा पलाएको बौदीकाली गाउँपालिकाका अध्यक्ष प्रकाश ओझाले बताउनुभयो।
बुलिङटार गाउँपालिकाको अर्खलामा सबस्टेसन निर्माण दु्रत गतिमा भइरहेको र आगामी असोजसम्म सबै ठाउँमा विद्युत् पु-याउने निमित्त प्रमुख अधिकारीले बताउनुभयो। यहाँबाट ३३ केभी प्रसारण लाइन विस्तार गरी यस जिल्लाको पहाडी क्षेत्रका तीन गाउँपालिकामा राष्ट्रिय प्रसारण लाइनबाट विद्युत पु-याउने योजना छ।
अहिले विद्युत् वितरण प्रणाली सुदृढीकरण तथा विस्तार आयोजना बुटवलअन्तर्गत आठवटा सबस्टेसन निर्माण भइरहेको र बुलिङटारको बोझापोखरीमा पनि सबस्टेसन निर्माण अन्तिम चरणमा पुगेको छ।