• १५ चैत २०८०, बिहिबार

मङ्सिर–पुसमा पनि बढ्यो चामलको भाउ

blog

काठमाडौँ, माघ १० गते । हरेक वर्ष नयाँ धान भित्र्याएपछि बजारमा चामलको भाउ घट्ने गरे पनि यो वर्ष भने बढेको छ। गएको असोजयता चामलको मूल्य प्रतिबोरा पाँच सय रुपियाँसम्म बढेको छ। विगतका वर्ष नयाँ धान आउँदा प्रतिबोरा चार सय रुपियाँसम्म घटेर आउने गरेकामा यस पटक भने मिलवालाको मनोमानीका कारण भाउ घट्नुको सट्टा बढेको खुद्रा व्यापारी बताउँछन्। 

नेपाल खुद्रा व्यापार सङ्घका महासचिव अमूलकाजी तुुलाधरले यो बेलामै चामलको मूल्य बढेपछि उपभोक्ताको गुनासो आउने गरेको बताउनुभयो। उहाँले भन्नुभयो, “अघिल्ला वर्ष मङ्सिरदेखि नै नयाँ धानको चामल बजारमा आउने भएकाले मूल्य घट्थ्यो। यो वर्ष माघको दोस्रो सातासम्म आइपुग्दा पनि मूल्य घट्नुको सट्टा झन् बढेर आउने गरेको छ।” मिलवालाले नै चामलको मूल्य बढाएको अवस्थामा सरकारका नियमानकारी निकायले खुद्रा पसलमा अनुगमन गर्ने गरेको उहाँको गुनासो छ। 

सङ्घका अनुसार गएको असोजयता प्रतिबोरामा पाँच सय रुपियाँसम्म बढेको छ। सबभन्दा सस्तो सोना मनसुली चामल प्रतिकेजी ६५ रुपियाँ रहेको छ भने सबभन्दा महँगो लङग्रेन बासमती चामल प्रतिकेजी १६० रुपियाँ रहेको छ। जिरा मसिनो चामल प्रतिकेजी ९०–९५ रुपियाँ रहेको जनाएको छ। 

उपभोक्ता अधिकारकर्मी प्रेमलाल महर्जनले सरकारका नियमनकारी निकायले प्रभावकारी रूपमा काम गर्न नसक्दा र मिलवालाको मनोमानीका कारण मूल्य घट्नुको साटो बढेको दाबी गर्नुभयो। साल्ट ट्रेडिङ कर्पोरेसनले असोजयता बजारमा चामलको मूल्य प्रतिबोरा पाँच सय रुपियाँभन्दा पनि बढीले वृद्धि भएको जनाएको छ। चामलको नयाँ सिजन सुरु हुँदा पनि बजारमा चामलको मूल्य बढेको साल्ट ट्रेडिङका बजार प्रबन्धक प्रज्वल प्रधानले जानकारी दिनुभयो। अहिले पुरानो मौज्दात रहेकाले बिक्री मूल्य नबढाएको जानकारी दिँदै उहाँले भन्नुभयो, “मौज्दात सकिएपछि नयाँ खरिदको चामलमा भाउ बढ्न सक्छ।”

गत वर्ष बेमौसमी वर्षाले क्षति हुँदा धान उत्पादन घटेपछि चामलको मूल्य थोरै मात्र घटेको थियो। कृषि तथा पशुपन्छी मन्त्रालयको तथ्याङ्कले भने यो वर्ष धान उत्पादन गत वर्षभन्दा सुधार भएको जनाएको छ। मन्त्रालयका अनुसार यो वर्ष देशभर ५४ लाख मेट्रिक टन धान उत्पादन भएको छ। जब कि नेपालको माग पूरा गर्न प्रत्येक वर्ष ६८ लाख मेट्रिक टन धान आवश्यक हुन्छ। उपभोक्ता अधिकारकर्मी महर्जनले धान उत्पादनको तथ्याङ्क हेर्दा नेपाललाई १४ लाख मेट्रिक टन मात्रै अपुग भए पनि भन्सार विभागको तथ्याङ्कले भने हरेक तीन महिनामा चार अर्ब रुपियाँको चामल नेपालमा आयात भएको देखिएको छ।

“किसानले उत्पादन गरेका धान सस्तोमा भारत निर्यात गर्ने र इन्डियन फुड कर्पाेरेसनले लिलामी बिक्री गरेका चामल ठूला व्यापारीले नेपालमा सस्तोमा ल्याएर पोलिस गरेर विभिन्न ब्रान्ड दिएर महँगोमा बिक्री गर्छन् अनि कसरी नयाँ धानको घटेको भाउको चामल खाउन पाउँछन् ?” उहाँले प्रश्न गर्नुभयो। नेपालमा उत्पादन भएको धान बजार आएको भए पो। भारतबाट तस्करी गरेर भित्र्याएको गुणस्तरहीन चामल बिक्री गर्दा सरकारका नियमनकारी निकाय रमिते बनेको महर्जनले आरोप लगाउनुभयो। 

थोक व्यापारी भने नेपालको आन्तरिक उत्पादनले देशमा चामलको बजार मागको आधा पनि नधान्ने दाबी गर्छन्। खाद्य किराना तथा थोक व्यवसाय सङ्घका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठले भारतले चामल निर्यातमा लगाएको शुल्कको असर नेपालमा सोझै परेकाले मूल्यमा असर परेको बताउनुभयो। “भारतले चामल निर्यातमा २० प्रतिशत शुल्क लगाएको छ। यसले हाम्रो बजारमा चामल प्रतिबोरामा दुई सय रुपियाँभन्दा बढी बढेको छ। पहिले चामल आयात गर्दा अतिरिक्त शुल्क थिएन, त्यसैले नयाँ धान आएको सिजनमा चामल सस्तो हुने गरेको थियो,” उहाँले भन्नुभयो।

चामलका मिलवालाले भने भारतबाट चामलको भाउ बढेर आएका कारण खुद्रासम्म पुग्दा अझै बढेको बताउँछन्। खाद्य मिलका सञ्चालक पशुपति डल्लाकोटीले नेपालमा धान चामलको मौज्दात सकिएको र भारतबाट आउने चामलको निर्यात शूल्यमा २० प्रतिशत बढेकाले यसको असर मूल्यमा परेको बताउनुभयो। भन्सार विभागका अनुसार धान, चामल र कनिका आयात भने घटेको छ। चालू आर्थिक वर्षको छ महिनामा आठ अर्ब ८९ करोड ९२ लाख ६९ हजार रुपियाँ बराबरको चामल आयात भएको छ। यस्तै सो अवधिमा नौ अर्ब ७३ करोड ४९ लाख १० हजार रुपियाँको धान र २८ करोड २७ लाख ८८ हजार रुपियाँको कनिका आयात भएको भन्सार विभागको तथ्याङ्क छ।