• १६ चैत २०८०, शुक्रबार

गाउँपालिकाले उत्पादन गर्‍यो च्यवनप्राश

blog

तानसेन समाचारदाता

पाल्पा, माघ ११ गते । रम्भा गाउँपालिकाले गाउँमै पाइने जडीबुटीबाट ‘च्यवनप्राश’ उत्पादन गरेको जनाएको छ। नागरिक आरोग्य सेवा केन्द्र र रम्भा गाउँपालिकाले गाउँमै पाइने विभिन्न खालका जडीबुटीबाट पौष्टिक आहार ‘च्यवनप्राश’ उत्पादन गरेको हो। पालिकाभरिका ज्येष्ठ नागरिकलाई पौष्टिक आहारका रूपमा वितरण गर्ने गरी च्यवनप्राश उत्पादन गरिएको सेवा केन्द्रका कविराज मिलन आचार्यले जानकारी दिनुभयो। 

रम्भा गाउँपालिकाले उत्पादन गरेको च्यवनप्राश आयुर्वेदको चरक समीताको रसायन ग्रन्थमा टेकेर तयार गरिएको कविराज आचार्यले बताउनुभयो। उत्पादन गरिएको च्यवनप्राशमा अमलासहितका ४४ वटा जडीबुटीको मिश्रण रहेको छ। मिश्रण गरिएका जडीबुटीको मापदण्ड तयार गरेर बनाइएको र यसको सेवनबाट स्वास्थ्यका लागि फाइदा हुने केन्द्रको भनाइ छ। 

हालसम्म चार सय किलोग्राम च्यवनप्राश उत्पादन भइसकेको पालिकाले जनाएको छ। च्यवनप्राश उत्पादन तथा निर्माणका लागि पालिकाले आवश्यक बजेट खर्च गरेको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताउनुभयो। पालिकाभित्रका ७० वर्षभन्दा माथिका एक हजार २८२ ज्येष्ठ नागरिकलाई च्यवनप्राश वितरण गर्ने योजना रहेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तुजङ्ग रानाले बताउनुभयो।