• १३ वैशाख २०८१, बिहिबार

व्यावसायिक बाख्रापालन, किसानलाई घाँसको समस्या

blog

लीलाधर वली 

घोराही, माघ ११ गते । घोराही उपमहानगरपालिका–२, निवासी गोविन्दहरि भण्डारी विगत दुई वर्षदेखि व्यावसायिक बाख्रापालन गर्दै आउनुभएको छ। २० लाख रुपियाँ लागनीमा राप्ती बोयर ब्राखा फार्म दर्ता गरेर ५० भन्दा बढी बोयर जातका बाख्रापालन गर्दै आउनुभएका भण्डारी जिल्लामा बाख्रापालनका लागि घाँसको समस्या भएको बताउहुन्छ। 

“सिजनमा घाँसको समस्या हुँदैन तर अफ–सिजनमा घाँस नै पाइँदैन,” व्यवसायी भण्डारीले भन्नुभयो, “जसले गर्दा व्यवसायीलाई महँगो दाना किन्नुपर्ने हुन्छ र दानाले मात्रै बाख्रापालन गरेर नाफा कमाउन सक्ने अवस्था हुँदैन ।” व्यावसायिक बाख्रापालनका लागि किसानलाई साइलेज मेसिन आवश्यक रहेको उहाँ बताउनुहुन्छ। सिजनमा धेरै उत्पादन हुने घाँसलाई साइलेज मेसिनका माध्यमबाट जम्मा गरेर पछिसम्म राख्न सकिने वातावरण बन्यो भने बाख्रापालन गर्ने किसानलाई घाँसको समस्या नहुने उहाँ बताउनुहुन्छ।

व्यवसायी भण्डारीका अनुसार उक्त मेसिन २८/२९ लाखमा किन्न सकिने भएकाले स्थानीय सरकारको सहयोग आवश्यक छ । दाना मात्रै खुवाउने, जङ्गलमा चराएर मात्रै बाख्रापालन गर्न सक्ने अवस्था नरहेकाले व्यावसायिक रूपमा अघि बढ्ने किसानले घाँसलाई स्टोर गरेर राख्न अत्यन्त आवश्यक रहेको उहाँको भनाइ छ। “नजिकमा वन हुने र वन समूहले चराउन दिँदा चराउने हो तर कतिपय वनजङ्गलमा बाख्रा चराउन पनि पाइँदैन,” उहाँले भन्नुभयो, “त्यस्तो अवस्थामा व्यवसायीलाई साइलेज मेसिन आवश्यक छ । परम्परागत रूपमा आफूहरूले घाँसलाई पछिसम्म खुवाउनका लागि बनाएर राख्ने गरे पनि व्यावसायिक बाख्रापालनका लागि त्यो भरपर्दाे छैन।” 

घोराही उपमहानगरपालिका–८, दुन्द्राका प्रशान्त बुढाथोकी उत्पादन भएका बाख्राहरू बिक्री गर्नुभन्दा पनि पालनका लागि घाँस तथा दाना जुटाउन समस्या हुने गरेको बताउहुन्छ। “जिल्लामा बाख्रापालक किसानलाई घाँसको ठूलो समस्या छ । उत्पादन भएका खसी बिक्रीमा छैनन्,” उहाँले भन्नुभयो, “सिजनमा खेतबारीमा उत्पादन भएको घाँसले धान्ने गरे पनि सधैँभरिलाई पुग्दैन।” दाङ सिर्जनशील पशुपन्छी सहकारी संस्थाका उपाध्यक्षसमेत रहनुभएका बुढाथोकीले व्यावसायिक घाँस खेतीका लागि करिब १२ बिघा जमिनसमेत खोजिसकेको बताउनुहुन्छ तर मेसिन किन्न स्थानीय सरकारले सहयोग गर्नुपर्ने औँल्याउनुभयो। किसानले जग्गा भाडामा लिएर घाँस खेती गरे पनि सिँचाइको सुविधा नहुँदा १२ महिना घाँस उत्पादनमा समस्या हुने गरेको छ। जिल्लामा सहकारीमा आबद्ध ९६ जना व्यावसायिक किसान रहेको पाइएको छ।