• ३१ असोज २०८२, शुक्रबार

अष्ट्रेलियाको हुलाक कार्यालयमा रासायनिक चुहावट : पाँचजना अस्पताल भर्ना

blog

एआई निर्मित साङ्केतिक चित्र ।

सिड्नी, असोज ३१ गते । अष्ट्रेलियाको उत्तरपूर्वी राज्य क्विन्सल्यान्डको दुई हुलाक कार्यालयमा शुक्रबार भएको रसायनको चुहावटबाट प्रभावित भएपछि पाँच जनालाई अस्पताल भर्ना गरिएको छ ।

आपतकालीन सेवाहरूलाई शुक्रबार बिहान ६ः३० बजेपछि ब्रिस्बेनको एक हजार किलोमिटर उत्तरपश्चिममा रहेको ग्रामीण शहर चार्टर्स टावर्समा धुवाँ र गन्ध आएको सूचना गरिएको थियो ।

केही समयपछि, चार्टर्स टावर्सबाट १०५ किलोमिटर उत्तरमा टाउन्सभिल सहरमा प्याकेजबाट अज्ञात तरल पदार्थ चुहिएको जनाइएको छ ।  

क्वीन्सल्यान्ड फायर डिपार्टमेन्ट (क्युएफडी) का प्रवक्ताले न्यूज कर्प अष्ट्रेलियाका अखबारहरूलाई घटना दुई स्थानहरू बिच ढुवानी गरिएको सामानसँग सम्बन्धित रहेको जनाउनुभएको छ ।

यसमा संलग्न रसायनको पहिचान गर्न तत्काल परीक्षण गर्न दुवै स्थानमा क्युएफडी वैज्ञानिक टोली तैनाथ गरिएको छ ।

अस्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसनले प्रहरीले अनुसन्धान सुरु गर्नु अघि परीक्षणको परिणामको प्रतीक्षा गरिरहेको बताएको छ । रासस/सिन्ह्वा