• १ कात्तिक २०८२, शनिबार

प्रहरीद्वारा एक लाख बराबरको पटका बरामद

blog

जिल्ला प्रहरी कार्यालय बाँकेको भवन । तस्बिर : सिराज खान

सिराज खान 
नेपालगन्ज, असोज ३१ गते ।
जिल्ला प्रहरी कार्यालय बाँकेले जानकी गाउँपालिका–१ साईगाउँबाट एक लाख रूपियाँभन्दा बढिको पटकासहित तीन जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा भारत बहाराईच रूपैडिया जिवासी २५ वर्षीय तशवर अली, ३२ वर्षीय मोहम्मद हसिन र ३० वर्षीय युनुस राई छन् । उनिहरुले साइकलमा राखेर ती पटका भारतबाट अवैध रुपमा नेपाल भित्र्याइरहेका थिए ।

जिल्ला प्रहरी कार्यालय बाँकेबाट नाका नजिकै खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ दुई वटा साइकलमा आउँदै गरेको देखेपछि उनीहरूलाई उक्त पटकासहित फेला पारी पक्राउ गरेको हो ।

सो बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ भने साइड नाकाहरुमा पनि गस्ती बढाएर अवैध आयात रोक्ने कार्य भइरहेको जानकारी गराएको छ ।

दीपावलीमा नेपालगन्जमा पटकाको माग उच्च हुने गरेको तथा प्रहरीले भारतबाट ल्याउन नदिने हुँदा अन्य बाटोहरुबाट अवैध रुपमा भित्रिने गरेको स्थानीयले बताएका छन् ।

उनिहरुले प्रहरीले हरेक वर्ष पटका आयातमा प्रतिबन्ध लगाए पनि दीपावलीका तीन दिनसम्म नेपालगन्ज र सो वरिपरिका स्थानहरुमा ठुलो सङ्ख्यामा पटकाहरु पड्किएको आवाज सुनिने गरेको छ ।  

यसैबिच, भारतबाट अवैध रुपमा ल्याइएका कुखुरा पनि प्रहरीले दुई ठाउँबाट बरामद गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दीपक पातलीले खजुरा २ बाट करिब ६ हजार र जानकी १ साइगाँउबाट १४ हजार रुपियाँभन्दा बढीका कुखुरा नियन्त्रणमा लिएको बताउनुभयो । उहाँले तिहार र दीपावली नजिकिएकोले अवैध आयात बढेको पाइएको जनाउँदै प्रहरीले कडाइ पनि बढाएको बताउनुभयो ।