सन्तोष दहित
दाङ, असोज ३१ गते । दाङमा प्रहरीले एक लाख ८८ हजारभन्दा बढी रकमसहित १२ जुवाडे पक्राउ गरेको छ । घोराहीको सहिद गेटस्थित राप्ती सुपर लजमा छापा हानेर बुधबार मध्यरातिमा उनीहरूलाई पक्राउ गरिएको दाङ प्रहरी प्रवक्ता डिएसपी चक्रबहादुर शाहले जानकारी दिनुभयो ।
उहाँको अनुसार घोराही उपमहानगरपालिका –१५ का खिमबहादुर डाँगी, पंकज न्यौपाने, सूर्य बोहरा, आकाश लम्साल, गोविन्द डाँगी, रजनीश चौधरी, घोराही –१४ का विष्णु गुप्तालगायत पक्राउ परेका छन् ।
त्यस्तै, तुलसीपुर उपमहानगरपालिका –९ का गमबहादुर चलाउने, वीरबहादुर बस्याल, तुलसीपुर –६ का सुरेन्द्र हमाल पनि छन् । प्रहरीले राप्ती सुपर लज होटेलका म्यानेजर सुरज पुनलाई पनि पक्राउ गरी आवश्यक अनुसन्धान थालेको छ । जुवाडे छुटाउन केही लागिपरे पनि प्रहरीले दबाबलाई अस्वीकार गरेको छ ।
जुवामा छापा हान्न नसकेको भनेर प्रहरीको तीव्र आलोचना भएपछि प्रहरी एक्सनमा नै उत्रिएको छ । राप्ती सुपर लजमा जुवा भइरहेको गोप्य सूचनाको आधारमा मध्यरातिमा पुगेको प्रहरीले छापा हानेर जुवाडे पक्राउ गरेको थियो । पक्राउ परेका जुवाडेहरूलाई सात दिन म्याद थपेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।