• १५ वैशाख २०८१, शनिबार

जुम्लामा हिमपात, किसान खुसी (फोटो फिचर)

blog

मङ्गलवार बिहानैदेखि भएको हिमपात । तस्बिर : नेत्र शाही

नेत्र शाही

जुम्ला, माघ १० गते । यो वर्षको हिउँदमा जुम्लामा पहिलो पटक हिउँ परेको छ । हिउँदे सिजनमा जहिले पनि हिउँ पर्नेमा यस पटक ढिलाइ भइरहेको समयमा मङ्गलवार बिहानदेखि हिउँ पर्न सुरु गरेको छ । 

जुम्ला सदरमुकामसहित जिल्लाभरि हिउँ परिरहेको छ । अहिलेसम्म यस क्षेत्रमा करिब आधा फिट हिउँ परिसकेको छ । हिउँ परेपछि विशेष गरी किसानहरू खुसी भएका छन् । हिउँदे सिजनमा तापक्रम माइनसमा जाने भएकाले हिउँदेबालीका लागि हिउँ उत्तम सिँचाइको माध्यम हो । 

हिउँदे सिजनमा विशेष गरी जौ, गहुँ लगायतका बाली लगाइन्छ, पानी नआउँदा बाली सुक्न थालेको थियो अब सहज हुने भएको छ । हिउँ परेपछि किसानहरू खुसी भएका छन् । चन्दननाथ नगरपालिका ८ का किसान धनराशि भण्डारीले हिउँले हिउँदेबालीमा सहज हुने भएको बताउनुभयो । उहाँले हिउँको प्रतीक्षामा हामी किसानहरू थियौँ अब सहज हुने भएको छ भन्नुभयाे । 


जुम्लाको तापक्रम पनि निकै चिसो हुँदै गएको छ ।  जल तथा मौसमविज्ञान विभाग फिल्ड कार्यालय जुम्लाका अनुसार माइनस १.४ डिग्री सेल्सियस छ ।  हिउँ नपर्दा भने तापक्रम झन् चिसो थियो । तीन दिन अघि जुम्लाको तापक्रम माइनस ७ डिग्रीसम्म पुगेको थियो ।