• १३ वैशाख २०८१, बिहिबार

प्रविधिले किसानलाई सहज

blog

प्युठान समाचारदाता

प्युठान, माघ ११ गते ।  ललिता खत्रीलाई एक मुरी मकै छोडाउन दिनभर समय लाग्थ्यो। घरपरिवारका सबै सदस्यले काम गर्नुपथ्यो तर अहिले गाउँमै मकै छोडाउने मेसिन भित्रिएपछि दिनभर लाग्ने काम एकै घण्टामा सकिन्छ। गौमुखी गाउँपालिका–६, लिबाङ निवासी खत्री अहिले गाउँमा आधुनिक प्रविधि भित्रिएपछि किसानलाई सहज भएको अनुभव गर्नुहुन्छ।

गाउँगाउँमा अहिले विभिन्न प्रकारका आधुनिक प्रविधि भित्रिएका छन्। सिजनअनुसार खेतीपाती गर्नका लागि प्रविधिले किसानलाई सघाएको छ। स्थानीय कृषक पदमबहादुर केसीले आधुनिक प्रविधिको प्रयोगबाट पैसा र श्रम दुवै बचेको बताउनुहुन्छ।

“परम्परागत रूपमा खेती गर्दा महँगो पर्छ,” केसीले भन्नुभयो, “जसले गर्दा अहिले गाउँमा गोरु पाल्न छोडिसके।” गाउँमा जोत्नका लागि मिनी ट्रेलर, पावर ट्रेलर, मकै छोडाउने मेसिन, धान, कोदो छाँट्ने थ्रेसरको प्रयोग भइरहेको छ। सुरुमा प्रयोग गर्न नजान्दा समस्या हुने भए पनि अहिले सबैजसो अभ्यस्त भइसकेको उहाँको अनुभव छ।

जिल्लामा एकीकृत कृषि तथा पशुपन्छी कार्यालय, स्थानीय सरकार, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले कृषकलाई विभिन्न कृषि औजार उपलब्ध गराउँदै आएको छ। स्मार्ट कृषि गाउँ कार्यक्रमअन्तर्गत किसानलाई आधुनिक कृषि औजार उपलब्ध गराउँदै आएको बिजुली स्मार्ट कृषि गाउँ कार्यक्रमका अध्यक्ष श्याम थापाले बताउनुभयो। “अहिले खेती गर्न औजारको प्रयोग अनिवार्यजस्तै भएको छ,” उहाँले भन्नुभयो, “किसानको माग पनि कृषि औजारमा बढी छ।”