• २१ असार २०८२, शनिबार

मन छुने योगीका गीत

blog

सङ्गीत भाव हो । यो अभिव्यक्ति पनि हो, सङ्गीत कला हो । सङ्गीत अन्तरमनमा कुण्ठित भएर बसेका भावनाहरू अभिव्यक्त गर्ने माध्यम पनि हो । सङ्गीत प्रकृति हो, वास्तविकता हो । सङ्गीत कल्पना पनि हो । सङ्गीत दुःख बिसाउने र सुखमा रमाउने माध्यम पनि हो । अर्थात् हाम्रो अन्तर्मनले जस्तो भाव प्रकट गर्छ, हामी त्यस्तै गीतसङ्गीत सुन्न मन पराउँछौँ । सङ्गीतको कुनै निश्चित भाषा हुँदैन, न त सङ्गीतको कुनै दिशा हुन्छ । त्यसैले त भनिन्छ– जहाँ शब्द असफल हुन्छ, त्यहाँ सङ्गीत बोल्छ । त्यसैले त हरेक क्षेत्रमा गीतसङ्गीतलाई सशक्त माध्यम बनाइएको पाइन्छ । विभिन्न सामाजिक कार्यमा होस् अथवा धर्म दर्शनको मर्मलाई उद्घाटित गर्ने कुरा नै किन नहोस् । जुन कुरा हामी बोलेर सम्झाउन सक्दैनौँ, ती कुरा हामी गीत र सङ्गीतको माध्यमबाट मानव मस्तिष्कसम्म पुर्‍याउन सक्छौँ । सङ्गीत कल्पना पनि हो ।

प्रस्तुत ‘योगीका गीतहरू’ लाई विषयवस्तुका आधारमा मोटामोटी तीन भागमा बाँड्न सकिन्छ । कृतिमा दर्शन र अध्यात्मप्रधान, सौन्दर्यप्रधान र योग साहित्यसम्बद्ध गीत रहेका छन् । यी तीन पक्षका गीत भने पृथक नभएर एकअर्काका परिपूरक भई हरेक गीतमा उपस्थित देखिन्छन् । यसो त यिनले मौनको साङ्गिक भाषामा सौन्दर्यको सुषुप्त वेगलाई समाएका छन् । यहाँ सबै सबैमा मिसिएर एक दिव्य व्योम, व्यञ्जनाको व्योम सिर्जना भएको छ; जसमा गीतकार यो व्योममा अविरल, अथक र अनन्त उड्नुभएको छ । उडानको वेग, उचाइ र दिशालाई कुनै समयमा एयर ट्राफिक कन्ट्रोलरको अनुभवसमेत प्राप्त गरेका लेखकले लय र छन्दका भरमा भाव र सिर्जनाको स्पन्दनका घरमा गीतभित्र सजाएर प्रवाहित गराउनुभएको छ । पुस्तकको दोस्रो खण्डका गीतहरू योग साहित्यका विषयवस्तु वा सैद्धान्तिक अवयवसँग प्रत्यक्ष सम्बद्ध छन् भनेर लेखकले यसको भूमिकामा भन्नुभएको छ । म भने आकारगत अनुकृतिकै आधारमा यकिन निर्णयमा पुग्न चाहन्नँ । यहाँ कतिपय गीत जस्तो दोस्रो खण्ड ‘क’ भागमा योगको उत्पत्ति र विकासका सन्दर्भमा लेखिएका गीतमा ‘कथा यो पुरानो’ बोलको गीतदेखि ‘छरिएका मोती टिपी’ सम्म नै लेखकको मौलिक आग्रहगत धारणा, तर्क र मान्यता पाइन्छ । त्यसै गरी गीत सङ्ख्या १०२ को ‘बुझ्नैपर्ने कुरा एउटा’ बोलको गीतमा परम्पराभन्दा भिन्न र केही प्रगतिशील धारणा प्रस्तुत भएको देखिन्छ । 

यहाँ एउटा अदेही विराटताको रहस्यात्मक मान्यतालाई अङ्गीकार गरेको बुझ्न सकिन्छ; जसमा उपस्थित भौतिक संसार अनुपस्थित अभौतिक शक्ति तरङ्गमा अस्तित्ववान् रहेकोतर्फ सङ्केत गरिएको छ । उहाँका विराट् ब्रह्मवादी दर्शन यी गीतका मसिना छिद्रहरूबाट छिरेर यत्रतत्र चियाउन पुगेका छन् । सरल, सहज र शिष्ट भाषाशैलीका खोल ओढेर दुष्कर र दुरुह भावले यस सङ्ग्रहका जुनसुकै गीतलाई छोएका छन् । उहाँको यो अनौठो शैली यदाकदा देख्न सकिन्छ; जसमा कुनै अज्ञेय अन्योलको अदृष्ट पूर्णताले ज्ञेय तर झट्ट हेर्दा अप्रासङ्गिक र अव्रmमिक देखिने अपूर्णतालाई जिस्क्याएर यसको अन्तर्वस्तुलाई परिभाषित मान्यतामा ल्याइएको छ । उदाहरणका लागि ‘अच्छा लेकिन कसलाई सोधौँ अनन्तको गीत सपनीमा पुगेछु म’ आदि र अन्य केही गीतलाई लिन सकिन्छ । 

‘शब्दपारि’, ‘रानीचरी’, ‘शुभ दियो’, ‘बाडुलीमा’, ‘वासनाका चरा’, ‘तिमीलाई पैले कहीँ’ इत्यादि गीतमा प्रणयको भाव ज्यादा मुखरित भएको हो कि भन्ने देखिन्छ तर यी गीतको अन्तरमा यिनको आलम्बनको विषय अध्यात्म रहेको छ । यो एक अव्यक्त ईश्वरीय प्रेमको लौकिक प्रणय उद्गार हो भन्नु शिष्ट हुने छ । यस सङ्ग्रहमा सबैभन्दा बढी अध्यात्म र दर्शनसँग सम्बद्ध गीत रहेका देखिन्छन् । कहिलेकाहीँ लेखकको यो दर्शनको गम्भीर आभाले नै अन्य सुललित सौन्दर्यको सुरागलाई खाइदिने पो हो कि भन्ने डर उत्पन्न हुन्छ । मूलतः दर्शनमा चासो राख्ने अनि जीवन र जगत्लाई बोधपूर्वक दर्शनका आँखाले हेर्न रुचाउने हुनाले पनि सहज रूपमै उहाँका गीतमा अध्यात्म र दर्शना औराले ढाक्नु स्वाभाविक नै हो । पुस्तकको भौतिक कलेवर सुन्दर छ । पुस्तकको गातामा केही व्यक्ति नाचिरहेका देख्नुहुने छ । यसको बारेमा भूमिकामा डा. दीपक आचार्यले चर्चा गर्नुभएको छ । यस पुस्तकमा योग तथा आध्यात्मिक जगत्का विशिष्ट तथा विद्वत् व्यक्तित्वहरू, मानसाग्नि डा. हरिप्रसाद पोखरेल, वरिष्ठ योग प्रशिक्षक डा. चेतनाथ अधिकारी, डा. नेत्र आचार्य, डा. दीपक आचार्य आदिका मन्तव्य, शुभकामना अति स्तरीय र सारगर्भित रहेको देख्न सकिन्छ ।

अन्त्यमा, प्रस्तुत पुस्तक योगीका गीतहरू विशाल योग, अध्यात्म र ध्यानको चेतनालाई उजागर गर्ने प्रकृतिको उत्कृष्ट विविध विधाका गीतहरूको सँगालो बनेको छ । यसमा प्रयुक्त शब्द छनोटले सुनमा सुगन्धको काम गरेको पाउन सकिन्छ । यस्तो सुन्दर गीतिपुस्तक प्रकाशन गर्ने कार्य निकै सराहनीय र स्वागतयोग्य रहेको छ । यसका लागि लेखक डा. विज्ञान भिक्षुलाई मुरी मुरी धन्यवाद दिँदै आगामी दिनमा पनि उहाँका कलमहरू यस्तै पुनीत कार्यमा चलिरहून् साथै यस महत् कार्यमा संलग्न हुने विशाल मिलन केन्द्र वैज्ञानिक योग समूहलाई पनि धेरै धेरै धन्यवाद !