• १४ वैशाख २०८१, शुक्रबार

चितवनका नदी किनारमा ठूला होटल

blog

चितवन, माघ १२ गते । चितवनका नदी किनार होटल र रिसोर्टले भरिएका छन् । कुनै समय बाढीले जग्गा कटानको समस्या भोगेका किसान अहिले ठूला लगानीकर्ताले जग्गा खरिद गरेपछि त्यहाँबाट विस्थापित हुने अवस्थामा पुगेका छन् । पश्चिम चितवनको जगतपुरदेखि मेघौलीसम्मको क्षेत्रमा पर्यटन व्यवसायीले जग्गा खरिद गरेर राखेका छन् । ती क्षेत्रमा अहिले ठूला होटल खुलेका छन् भने कतिपयले पछि खोल्नका लागि जग्गा ओगटेर राखेका छन् । 

जगतपुरदेखि मेघौलीसम्मको राप्ती नदी किनारमा स्थानीयको १० प्रतिशत मात्र जग्गा बाँकी रहेको भरतपुर महानगरपालिका–२२ का वडाध्यक्ष तथा पर्यटनविज्ञ विष्णुराज महतोले जानकारी दिनुभयो । “यो क्षेत्रमा पहिला जङ्गली जनावरको भय हुन्थ्यो । नदीको कटान र डुबान हुने भन्दै स्थानीयवासीले बिक्री गरेका थिए । अहिले ठूला लगानीकर्ताले सबै जग्गा खरिद गरेका छन्,” वडाअध्यक्ष महतोले भन्नुभयो । 

नदी किनारको जग्गा ठूला होटल व्यवसायी र सञ्चालक, गैरआवासीय नेपालीलगायतले खरिद गरेका छन् । त्यसरी खरिद गरेको जग्गामा तारबार लगाएर राखेको हुनाले राप्ती नदी हेर्नका लागि पनि बोटे गाउँ र अम्रेला स्ट्रिट भएर जानुपर्ने भएको वडाध्यक्ष महतोले भन्नुभयो । पश्चिम चितवनको मेघौलीदेखि नारायणगढसम्म नारायणी नदी किनारमा दुई अर्ब १९ करोड रुपियाँको लागतमा तटबन्धनको कार्य सुरु भएपछि ठूला होटल सञ्चालकले जग्गा खरिद गर्न थालेको पर्यटनविज्ञ डा. विश्व सुवेदीले जानकारी दिनुभयो । नदी किनार सुरक्षित हुँदै छ भन्ने सूचना पाएपछि सेराटन होटलले मेघौलीमा धेरै जग्गा खरिद गरेर राखेको उहाँले बताउनुभयो । 

काठमाडौँकै साङ्ग्रिला होटलले मेघौलीमा पाँचतारे होटल निर्माणको काम अगाडि बढाएको छ । सुवेदीले भन्नुभयो, “मेघौलीदेखि नारायणगढसम्मको नारायणी नदी किनारको जग्गा ३० प्रतिशत होटल, जग्गा व्यवसायी, पर्यटन व्यवसायीले खरिद गरेका छन् ।” नदी किनारमा रहेको जग्गा प्रतिकट्ठा पाँच लाख रुपियाँबाट पर्ने गरेकामा अहिले १० लाख रुपियाँमा खरिद–बिक्री हुन थालेको छ । 

क्षेत्रीय होटल सङ्घ सौराहाका पूर्वअध्यक्ष सुमन घिमिरेले पूर्वी चितवनको तुलनामा पश्चिम चितवनको नदी किनारको जग्गा धेरै पर्यटन व्यवसायीले लिएको बताउनुभयो । पूर्वी चितवनको सौराहादेखि पूर्व लोथरसम्मको स्थानमा अहिले पर्यटन व्यवसायीले जग्गा खरिद गरेर राख्न थालेका छन् तर पश्चिम चितवनका भने जग्गा नपाइने अवस्था आइसकेको छैन । ठूला होटल सञ्चालनमा आएमा त्यसको सकारात्मक प्रभाव अन्य साना होटलमा हुने भएकाले चितवन पछिल्लो समय ठूला लगानीकर्ताको आँखामा पर्नु खुसीको कुरा भएको उहाँले बताउनुभयो । पटिहानी रिसोर्ट तथा सोल्टी होटलका निर्देशक ऋषि न्यौपानले पर्यटक शान्त वातावरण मन पराउने भएकाले नदी किनारलाई केन्द्र बनाएर होटल सञ्चालन गरेको बताउनुभयो । 

“एक वर्षअघिदेखि सञ्चालनमा आएको सोल्टी होटल खोल्नका लागि साथीहरूले प्रेरित गरेकाले राप्ती नदी किनार रोजेर एक अर्ब रुपियाँ लगानीमा निर्माण गरेका थियौँ, अहिले राम्रोसँग सञ्चालन भएको छ । नदी किनार र निकुञ्ज हेर्दै बस्न आउने धेरै छन् । यहाँको नदी किनारको ठाउँ राम्रो लागेरै मुग्लिन–नारायणगढ सडकखण्डको भतेरी जङ्गलनजिक त्रिशूली किनारमा अर्को रिसोर्ट निर्माण गरेका छौँ,” निर्देशक न्यौपानेले बताउनुभयो । अहिले भतेरी रिसोर्ट निर्माणको अन्तिम अवस्थामा पुगेको छ । यो त्रिशूली नदी किनारमा रहेको छ । यहाँबाट नदी र प्राकृतिक वातावरण राम्रो देखिन्छ । 

चितवनको चुम्लिङटारमा रहेको सिद्धार्थ होटलदेखि दासढुङ्गाको प्रेसिडेन्सी रिसोर्ट हुँदै मेघौलीको सिजी ताज रिसोर्ट, वाराही जङ्गल लजलगायत ठूला लगानीमा स्टारसरह सुविधा भएका दर्जनौँ होटल सञ्चालनमा रहेका छन् ।