चरीकोट समाचारदाता
चरीकोट, मङ्सिर २० गते । दोलखाको कालिन्चोक गाउँपालिकामा किवी प्रशोधन उद्योग सञ्चालनमा आएको छ । गाउँपलिकाको वडा नं. १ को क्याम्पोलमा उद्योग सञ्चालन गरिएको हो ।
गाउँपालिकाको दुर्गम बस्ती क्याम्पोलमा किवी प्रशोधन उद्योग सञ्चालन भएसँगै स्थानीय कृषकमा नयाँ आशा पलाएको छ । अधिकांश थामी समुदायको बसोबास रहेको सो क्षेत्रका १० जना कृषकलाई किवी प्रशोधनसम्बन्धी तालिम दिइएको छ । उद्यमीलाई जाम, क्यान्डी र चाना उत्पादनसम्बन्धी तालिम प्रदान गरिएको तामसालिङ विकास केन्द्र दोलखाका संयोजक राजन केसीले बताउनुभयो ।
करिब १२ लाख रुपियाँ लागतमा सञ्चालन गरिएको उद्योग कुल लोन इन्टरनेसनल नामसालिङ सामुदायिक विकास केन्द्रबाट १० लाख ७२ हजार, वडाबाट ५० हजार तथा स्थानीय जनश्रमदानबाट दुई लाख ५० हजारलगायतको सहयोगमा सञ्चालन गरिएको संयोजक केसीले बताउनुभयो ।
दुर्गम भौगोलिक अवस्था, कमजोर सडक र बजारीकरणको अभावका कारण किसानले उत्पादनको उचित मूल्य पाउन नसकिरहेको अवस्थामा प्रशोधन केन्द्रले महìवपूर्ण भूमिका खेल्ने सोही वडाका वडाध्यक्ष पदमबहादुर थामीले बताउनुभयो ।
कालिन्चोक–१ का क्याम्पोल र आसपासका बस्तीमा दुई सय रोपनीमा रोपिएका किवीका चार हजार चार सय बिरुवाबाट यस वर्ष सात हजार किलो फल उत्पादन भएको थियो । त्यसमध्ये पाँच हजार किलो प्रशोधन गरिएको छ ।
पहिले किवी कुहिने, बिग्रिने समस्या थियो, अहिले प्रशोधन हुँदा बेच्ने चिन्ता हटेको स्थानीय किसान कर्णबहादुर थामीले बताउनुभयो । अर्का किसान छन्दले थामीले किवी प्रशोधन उद्योगले गाउँमा व्यवसाय गर्ने वातावरण बनाइदिएको बताउनुभयो ।