पछिल्ला वर्षमा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या जुन अनुपातमा बढेको छ त्यो अनुपातमा विप्रेषण नबढेको अध्ययन प्रतिवेदन सार्वजनिक भएको छ । नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) ले सार्वजनिक गरेको प्रतिवेदन अनुसार वैदेशिक रोजगारीमा जाने श्रमिकको अनुपातमा विप्रेषण आएको छैन ।
वैदेशिक रोजगारको क्षेत्रमा काम गर्ने सरकारी र गैरसरकारी संस्थाले अन्तर्राष्ट्रिय आप्रवासन श्रमिक दिवसको अवसर पारेर देशभर सप्ताहव्यापी कार्यक्रम गरिरहेका छन् । सरकार र वैदेशिक रोजगारको क्षेत्रमा काम गर्ने सरोकारवाला निकायले आइतबारदेखि आउँदो शक्रबारसम्म साताव्यापी रूपमा श्रमिकका हक अधिकारका विषयमा कार्यक्रम गरिरहेका छन् ।
दक्षिणी छिमेकी भारतले गएको शनिबारबाट लागु हुने गरी प्याज निर्यातमा प्रतिबन्ध लगाएको छ । तरकारी, खाद्यवस्तुमा छिमेकी मुलुक भारतसँग निर्भर रहेको नेपालमा भारतको प्रतिबन्धको फाइदा यहाँका सीमित र बिचौलियाले लिएका छन् । भारतले नेपालसहित अन्य देशमा प्याज निर्यात नगर्ने भन्दै सूचना जारी गरेपछि त्यसको प्रत्यक्ष मारमा सर्वसाधारण नेपालीको भान्सामा देखिएको छ । भारत सरकारको निर्णयलगत्तै नेपाली बजारमा प्याजको भाउ महँगिएको छ । गएको शनिबारदेखि नै बजारमा प्याजको मूल्य मनलाग्दी छ । खुद्रा पसलमा प्याजको भाउ प्रतिकेजी १७० रुपियाँमा मुस्किलले किन्न पाइन्छ । त्यो पनि फाट्टफुट्ट केही पसलमा मात्रै पाइन्छ । अधिकांश पसलले राख्न छोडिसकेका छन् ।
वैदेशिक रोजगारीमा श्रम स्वीकृति लिएर जानेलाई सामाजिक सुरक्षा आबद्धता अनिवार्य गरिएकाले पहिलो पटक आबद्धता जनाउनेको सङ्ख्या आठ महिनामै पाँच लाख नाघेको छ तर निरन्तरता दिनेको सङ्ख्या खासै देखिँदैन । सामाजिक सुरक्षा कोषका अनुसार कोषमा गएको चैत ८ देखि मङ्सिर २३ सम्म पाँच लाख दुई हजार ४६६ जना कोषको योजनामा आबद्ध भएका छन् तर निरन्तरता दिनेको सङ्ख्या असाध्यै कम भएको स्वयम् कोषले नै स्वीकार गरेको छ ।
बेलायतका विभिन्न स्वास्थ्य क्षेत्रमा रोजगारीमा जान ४५ नर्स अन्तिम छनोटमा परेका छन् । अन्तर्वार्तामा सहभागी भएका ६० जनामध्ये ४५ नर्स अन्तर्वार्ताबाट छनोट भएको वैदेशिक रोजगार विभागले जनाएको हो । विभागका अनुसार अन्तर्वार्ताका लागि ७१ जना नर्सको प्रारम्भिक सूची सार्वजनिक गरिए पनि अन्तर्वार्तामा ६० नर्स मात्रै सहभागी भएका थिए । अन्तर्वार्तामा छनोट भएका नर्सलाई बेलायतको कामबारे जानकारी दिइने र एक/डेढ महिनाभित्र बेलायत पठाइने विभागले जनाएको छ । छनोट भएका आवेदकलाई मङ्सिर १८ देखि २१ गते (डिसेम्बर ४ देखि ७) सम्म अन्तर्वार्ताका लागि लैनचौरस्थित बेलायती दूतावासमा बोलाइएको थियो ।
बजारमा आलु र सुकेको प्याजको भाउ बढ्दो छ । किसानले उचित मूल्य पाउन सकेका छैनन् । सरकारले आन्तरिक कृषि उपजमा लगाएको भ्याट फिर्ता गरेको लिखित रूपमा पत्र प्राप्त नहुँदासम्म बजारमा आलु र प्याज आपूर्ति र कारोबार नगर्ने व्यवसायीको अडान छ । सरकारले भ्याट लगाएर दुःख दिएको भन्दै व्यवसायीले आलु र प्याजको व्यापारमा हडताल गरेका छन् । व्यवसायीको हडतालका कारण बजारमा तीन दिनदेखि आलु र प्याज पाइन छाडेको छ । बजेटमा घोषणा हुँदा आयातित आलु र प्याजमा मात्रै भ्याट लाग्ने भनिए पनि अहिले आएर स्थानीय किसानसँग खरिद गरेको वस्तुको कारोबारमा समेत भ्याट जोडेर दुःख दिइएको व्यवसायीको आरोप छ ।
मध्यपूर्वका देश र मलेसियामा सीमित नेपाली युवाको वैदेशिक रोजगारी युरोपतिर मोडिएको छ । गएको एक वर्षदेखि नेपाली युवाको रोजगारी युरोपतिर मोडिएको हो । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो चार महिनामा युरोपका क्रोएसिया, माल्टा, रोमानिया र पोल्यान्डमा जाने युुवाको सङ्ख्या १० हजार ६७८ रहेको छ । वैदेशिक रोजगार विभागका अनुसार चालु आवको पहिलो चार महिनामा दुई लाख छ हजार ३१६ जनाले श्रम स्वीकृति लिएर रोजगारीका लागि बिदेसिएकामा त्यत्तिकै सङ्ख्यामा युरोप गएका छन् ।
मूल्यमा कुरा नमिलेका कारण भारतबाट खरिद गर्न लागिएको सहुलियतको चिनी नआएपछि बजारमा पुनः चिनीको हाहाकार सुरु भएको छ । चिनी आयातको अनुमति पाएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सहुलियतको चिनी आउने कुनै टुङ्गो नभएको जनाएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहन चन्दले चिनी आयातमा कुनै प्रगति नभएको बताउनुभयो ।
वैदेशिक रोजगारीका लागि बेलायत जान ७१ नर्स अन्तर्वार्ताका लागि छनोट भएका छन् । वैदेशिक रोजगार विभागले ७१ जनाको नाम सार्वजनिक गर्दै अन्तर्वार्ताका लागि बोलाएको हो । बेलायतको स्वास्थ्य क्षेत्रमा नेपाली नर्सलाई पदस्थापन गर्ने गरी नेपाल र बेलायत सरकारका प्रतिनिधिबिच २०७९ भदौ ६ गते सम्झौता सम्पन्न भएको थियो । वैदेशिक रोजगार विभागले गएको साउन ५ देखि तीन महिनाको समयावधि तोकेर एक सय जना नर्सका लागि अनलाइन आवेदन आह्वान गरेको थियो । तीनमहिने अवधि राखेर आह्वान गरिएको आवेदनमा सात सय बढीको आवेदन परेकामा दुुई देशका प्रतिनिधिले तयार गरेको प्रोटोकल अनुसार ७५ जना मात्रै छनोट भएका हुन् । जसमा चार जना अनुपस्थित रहेकाले अन्तर्वार्तामा ७१ जना मात्रै सहभागी हुने वैदेशिक रोजगार विभागले जनाएको छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आर्थिक वर्ष २०८०/८१ मा गरेको दुईमहिने चाडपर्वलक्षित बजार अनुगमनमा अधिकांशमा कैफियत भेटिएको छ । विभागको नेतृत्वमा गएको असोज १ देखि कात्तिक ३० सम्म भएको चाडपर्वलक्षित संयुक्त बजार अनुगमनका क्रममा अधिकांशमा कैफियत भेटिएको हो । विभागका अनुसार गएको असोज १ देखि कात्तिक ३० सम्म एक हजार ५४ वटा व्यवसायी फर्मको अनुगमन भएकामा ११ वटा बाहेक अन्यमा केही न केही कैफियत भेटिएको छ ।
योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा योगदान गरिरहेकै अवस्थामा मृत्यु भएका व्यक्तिका आश्रित परिवारले मासिक एक लाख रुपियाँसम्म पेन्सन लिन थालेका छन् । सामाजिक सुरक्षा कोषले कोषको योजनामा आबद्ध भएर योगदान गरिरहेका बेला विभिन्न कारणले मृत्यु भएका ४१४ योगदानकर्ताका आश्रित परिवारलाई चार हजारदेखि ९९ हजार ६२५ रुपियाँसम्म निवृत्तिभरण वितरण गर्दै आएको छ । कोषका अनुसार बालाजु ग्रुप अफ कम्पनीमा कार्यरत सन्तोष मेट्रु र अक्सफाम जिबी नेपालमा कार्यरत सुवास न्यौपानेको मृत्युपछि उहाँहरू आश्रित परिवार श्रीमती र सन्ततिले गरेर मासिक त्यो बराबरको रकम निवृत्तिभरणका रूपमा प्राप्त गर्दै आउनुभएको छ ।
वैदेशिक रोजगारीमा गएका साढे चार लाखभन्दा बढी श्रमिक योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आबद्ध भएका छन् । आठ महिनाअघि सरकारले वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आबद्धता गराउने योजना कार्यान्वयनमा ल्याएपछि सो सङ्ख्यामा श्रमिक आबद्ध भएका हुन् । यो सङ्ख्या चैत ८ देखि मङ्सिर ५ सम्मको हो । कोषका अनुसार यसरी कोषको योजनामा आबद्ध भएर वैदेशिक रोजगारीमा जाने श्रमिकबाट हालसम्म करिब ९१ करोड ३२ लाख योगदान रकम कोषमा जम्मा भएको छ । कोषका प्रवक्ता विवेक पन्थीले वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका, विदेशमा रोजगार र स्वरोजगार रहेका श्रमिकको उक्त योजनामा उत्साहजनक सहभागिता भएको बताउनुभयो ।
पछिल्लो समयमा तरकारी आपूर्ति बढेसँगै तरकारीको भाउ थोकमा सस्तिएको छ । पछिल्लो डेढ साताको बिचमा रातो आलु, काउली, मुला, बन्दा, सागलगायतका मौसमी तरकारी भाउ दोब्बरसम्म सस्तिएको छ । खुद्रामा किन्ने उपभोक्ताले थोकमा सस्तिएको तरकारीको महसुस गर्न पाएका छैनन् । कालीमाटी फलफूल तथा तरकारी विकास समितिका अनुसार कात्तिकको तेस्रो सातासम्म प्रतिकेजी ९० रुपियाँ थोकमा कारोबार भएको स्थानीय काउली अहिले घटेर २० रुपियाँमा झरेको छ । सो अवधिमा रातो आलु प्रतिकेजी ९० रुपियाँबाट घटेर ६० रुपियाँमा झरेको छ । त्यस्तै मुला, बन्दा, सागलगायतका तरकारी सस्तिएको छ ।
भर्खर बिदा भएको तिहारमा नेपालमा उत्पादित सयपत्री फूलका मालाको माग र खपत निराशाजनक भएको छ ।
‘गाउँघरका आँगनका डिलमा मखमली र सयपत्री फूल ढकमक्क फुलेपछि तिहार आएछ भन्न चाल पाइन्थ्यो । त्यसको छुट्टै रमाइलो पनि हुन्थ्यो । खेतबारीमा झुलेका धानका बाला, लहलहाएका कोदोका बालासँगै बारीका कान्लामा पहेँलै फुलेका सयपत्री फूल देखेर मन कम्ती रमाउँदैनथ्यो’, स्थायी घर कास्की भई काठमाडौँको रविभवन बस्दै आएकी नब्बे वर्षीया तीलकुमारी सुवेदीले आफ्नो बालापन स्मरण गर्दै भन्नुभयो । “तिहारको बेला अहिले पो सहरमा बढी रमाइलो हुन थाल्यो, उहिलेको तिहार त गाउँमा जति रमाइलो काहीँ हुँदैन्थ्यो,” गाउँघरको र सहरको तिहार पनि तुलना गर्दै उहाँले थप भन्नुभयो ।