काठमाडौँ, जेठ २३ गते । वैदेशिक रोजगारीका नाममा हुने ठगी बढेको छ । वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०८१/८२ को साउनदेखि वैशाखसम्म ठगीका नौ हजार ८६६ उजुरी दर्ता भएका छन् । आव २०८०/८१ मा सात हजार ७६३ वटा त्यस्ता उजुरी दर्ता भएका थिए । जुन सङ्ख्या चालु आवका १० महिनामै १०३ वटा (२७ प्रतिशत) ले बढी हो ।
विभागका अनुसार आव २०८०/८१ मा सात हजार ७६३, आव २०७९/८० मा तीन हजार ३५६ र आव २०८१/८२ को १० महिनामै नौ हजार ८६६ उजुरी दर्ता भएका छन् ।
विभागका अनुसार आव २०८१/८२ को वैशाखसम्म १६६ मुद्दा अदालतमा दायर भएका छन् । अदालतमा दायर भएका मुद्दाको बिगो रकम माग अर्बको हाराहारी भएको विभागले जनाएको छ ।
वैदेशिक रोजगारीमा जाने अधिकांश युवा गाउँघरकै दाजुभाइ, दिदीबाहिनी, आफन्त र सहरका वैदेशिक रोजगार व्यवसायी कम्पनी, ट्राभल एजेन्सी, एजुकेसन कन्सल्टेन्सीलगायतबाट ठगिने गरेका छन् । यस्तो तथ्याङ्क उजुरीका आधारमा मात्र आएको हुँदा उजुरी नपरेका ठगी अरू बढी हुने सम्भावना छ ।
विभागका अनुसार यस अवधिमा सबैभन्दा बढी उजुरी मुद्दा र अनुसन्धान शाखामा चार हजार २९३ वटा दर्ता भएका छन् । दर्ता भएका उजुरीमध्ये ४६० वटाको मिलापत्र र १६६ वटा अदालतमा मुद्दा दायर भएको विभागले जनाएको छ ।
मिलापत्र गराउँदा पीडकबाट पीडितलाई क्षतिपूर्तिबापत ३० करोड तीन लाख ८९ हजार ६७५ रुपियाँ भराइएको विभागका उपमहानिर्देशक चन्द्रबहादुर शिवाकोटीले जानकारी दिनुभयो । परेका उजुरीमध्ये तीन हजार ६६७ वटा उजुरी छानबिन भइरहेको छ ।
विभागका अनुसार सो अवधिमा विभागका रहेको प्रहरी शाखामा चार हजार १९७ उजुरी दर्ता भएका छन्, जसमध्ये तीन हजार ८४७ वटा उजुरी फस्र्योट भए भने १२ वटा उजुरीमा मिलापत्र गराइएको छ । जसबाट १२ लाख चार हजार पाँच सय रुपियाँ बराबरको रकम क्षतिपूर्तिबापत भराएको विभागले जनाएको छ । प्रहरीमा दर्ता भएका उजुरीमध्ये ३४० वटा फस्र्योट हुन बाँकी छ ।
त्यसै गरी विभागकै उद्धार, राहत तथा समन्वय शाखामा एक हजार ४७६ वटा उजुरी दर्ता भएकामा ७५६ वटाको फस्र्योट गरिएको छ । जसमध्ये ५३३ वटा उजुरीबाट छ करोड छ लाख १० हजार ८५० रुपियाँ बराबरको रकम क्षतिपूर्ति भराइएको छ । सो शाखाले सो अवधिमा आएका उजुरीमध्ये ६१ जनालाई आपसी सहमति गराएको छ भने ३३ वटा उजुरी तामेलीमा राखेको छ । सो शाखाले वैदेशिक रोजगारीका क्रममा समस्यामा परेका एक सय जनालाई विभिन्न देशबाट उद्धार गरी स्वदेश ल्याएको जनाएको छ ।
विभागका प्रवक्ता एवं उपमहानिर्देशक शिवाकोटीले वैदेशिक रोजगारीका क्रममा परेका उजुरीमध्ये ठुलो सङ्ख्याका व्यक्तिगत भएकाले ती उजुरी टुङ्गो लगाउन समय लाग्ने बताउनुुभयो । संस्थागत उजुरीका हकमा कारबाही गर्न पनि सहज हुने तर व्यक्तिगत उजुरीका दोषी पत्ता लगाउनै नै समय लाग्ने गरेको उहाँको भनाइ छ ।
विभागका महानिर्देशक कमलप्रसाद भट्टराईले विदेश जाने बेला सरकारले तोकेभन्दा बढी रकम तिर्ने र विदेशमा पुगेर समस्यामा परेपछि मैले यति रकम तिरेको भन्दै विभागमा उजुरी गर्न आउने युवाको सङ्ख्या धेरै भएको जानकारी गराउनुभयो । महानिर्देशक भट्टराईले व्यक्तिगत रूपमा हुने ठगी धेरै रहेको भन्दै युरोप, अमेरिका, अस्ट्रेलियालगायतका देशमा जान पढेलेखेकै व्यक्ति पीडित हुने गरेको र रकम पनि ठुलो परिणामको हुने गरेको बताउनुभयो ।