काठमाडौँ, असार २१ गते । सरकारले सबै राष्ट्रसेवक कर्मचारी, मजदुर तथा अन्य व्यक्तिलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा लैजाने निर्णय गरेको छ ।
आगामी आर्थिक वर्ष २०८२/८३ देखि सरकारमातहतका सबै कार्यालयमा नियुक्त हुने कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा लैजाने निर्णय गरिएको हो ।
अर्थ मन्त्रालयले शुक्रबार निर्णय सार्वजनिक गर्दै सम्पूर्ण सरकारी कार्यालय, नेपाल राष्ट्र बैङ्क, बिमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड, सार्वजनिक संस्थान र बोर्ड/समिति/प्रतिष्ठानमा साउनदेखि नियुक्त हुने कर्मचारीलाई पेन्सन र उपदानको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमा लैजाने निर्णय गरेको हो ।
मन्त्रालयका प्रवक्ता श्याम भण्डारीले आगामी आवदेखि नियुक्त हुने कर्मचारीलाई पेन्सन तथा उपदानको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागु गर्ने व्यवस्था अनिवार्य भएको जानकारी गराउनुुभयो ।
आगामी आवदेखि नयाँ नियुक्त हुने सरकारी र मातहतका सबै निकायका कर्मचारी सामाजिक सुरक्षा कोषको योजनामा जोडिनुपर्ने बताउनुभयो । उहाँले भन्नुुभयो, “यो बाध्यकारी हुन्छ । योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागु नगरेका कारण सिर्जना हुने दायित्व सरकारले बेहोर्न सक्दैन ।” सरकारको आर्थिक दायित्वलाई कम गर्दै लैजाने प्रमुख उद्देश्य रहेको प्रवक्ता भण्डारीको भनाइ छ ।
सरकारले अवलम्बन गरेको नीति अनुसार सार्वजनिक प्रतिष्ठानबाट कर्मचारीको अवकाशपछिको दीर्घकालीन दायित्व भुक्तानीका लागि आवश्यक व्यवस्था नगर्दा घाटामा रहेका तथा आफ्नै स्रोत नभई सरकारकै स्रोतमा निर्भर रहनुपर्ने निकायले राज्यकोषमा दीर्घकालीन दायित्व सिर्जना गरेकाले यसलाई कम गर्न यो धेरै महìवपूर्ण हुने बताउनुुभयो ।
मन्त्रालयले सम्बन्धित सरोकारवाला निकायमा आगामी आवदेखि नियुक्त हुने कर्मचारीलाई पेन्सन तथा उपदानको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागु गर्न आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएको छ । योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ तथा सरकारी कर्मचारीका लागि निवृत्तभरण कोष ऐन, २०७५ कार्यान्वयनमा ल्याइएको छ । यसै अनुरूप सरकारले २०७५ सालदेखि सरकारी कर्मचारीका लागि योगदानमा आधारित निवृत्तिभरण प्रणाली लागु गरिएको भए पनि हालसम्म पनि कतिपय नियामक निकाय, संस्थान, बोर्ड, समिति तथा प्रतिष्ठानमा पेन्सन तथा उपदान सुविधा व्यवस्था कायम छ । सामाजिक सुरक्षा कोषको योजनामा हालसम्म २३ लाख ५१ हजार ५६१ व्यक्ति जोडिएका छन् ।