सरकारले चाडपर्वलाई लक्षित गरी बजार अनुगमन थालेको छ । चाडपर्वको समयमा कृत्रिम अभाव सिर्जना गरेर मूल्य बढाउने, गुुणस्तरहीन वा म्याद नाघेका सामान बिक्री गर्ने, नापतौलमा ठगी गर्ने जस्ता समस्या नहुन् भन्ने उद्देश्यसाथ वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमन सुरु गरेको जनाएको छ । विभागले विशेषगरी नियमित बजार अनुगमन गर्दै आए पनि चाडपर्वमा खाद्यान्न, लत्ताकपडा र सवारीसाधनमा अनुगमन बढी केन्द्रित गरेको जनाएको छ । विभागका निर्देशक होमनाथ भट्टराईले विभागले तीजदेखि नै चाडपर्व लक्षित गरेर दैनिक चारवटा टोलीले अनुगमन गर्दै आएको जानकारी दिनुभयो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर आइतबार बिहान ११ बजे मन्त्रालयकै कल सेन्टरमा छिर्दै गर्दा सप्तरीबाट विष्णुदेव साहको फोन आयो । मन्त्री कुँवरले फोन उठाउनेबित्तिकै साहले रुन्चे स्वरमा भन्नुभयो, “मन्त्रीज्यू ! गएको वैशाख २ गते सडक दुर्घटनामा परी मृत्यु भएको मेरो भाइ सुरेन्द्रप्रसाद साहको शव साउदीमै अलपत्र छ, छिटो नेपाल झिकाउन पहल गरिदिनुप-यो ।”
सरकारी अनुदानको चिनी खरिद प्रक्रिया अहिलेसम्म अगाडि बढ्न सकेको छैन । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गएको जेठ २४ गते चिनी खरिदका लागि अर्थ मन्त्रालयसँग स्वीकृति माग गरेको भए पनि स्वीकृति नदिएपछि चिनी खरिद प्रक्रिया अगाडि बढ्न नसकेको हो । अर्थ मन्त्रालयले चिनी खरिद स्वीकृति मागको फाइल मन्त्रालयमा आए पनि खरिदको विषयमा अहिलेसम्म कुनै छलफल नभएको दाबी गरेको छ । मन्त्रालयका सूचना अधिकारी कमलकुमार भट्टराईले चिनी खरिदको फाइल आएको छ तर यसको प्रक्रिया अहिलेसम्म अगाडि बढेको जानकारी छैन भन्नुभयो ।
तीजको मुखमा दैनिक उपभोग्य तरकारीको भाउ महँगिएको छ । तीजमा ताजा हरियो तरकारीको माग बढेको तर उत्पादन घटेकाले तरकारीको मूल्य वृद्धि भएको हो । गत सातासम्म प्रतिकेजी ७०–७५ रुपियाँ थोक र ९० रुपियाँ खुुद्रा मूल्य रहेको स्थानीय काउली तीजसम्म आइपुुग्दा थोकमा १३० रुपियाँ र खुद्रामा दोब्बरभन्दा बढीले महँगिएको छ । देशकै ठूलो तरकारी बजार कालीमाटीमा थोकमा प्रतिकेजी स्थानीय काउली १२० रुपियाँसम्म कारोबार भएको छ भने त्यही बजारमा खुद्रामा १८० रुपियाँ प्रतिकेजीमा किनबेच भइरहेको छ । सो बजारमा एक साताअघि स्थानीय काँक्रो प्रतिकेजी ७०–७५ रुपियाँमा बिक्री भएकामा अहिले बढेर थोकमै १४० रुपियाँ पुगेको छ । खुद्रामा त प्रतिकेजी दुई सय रुपियाँ पुगेको छ । चाडपर्वमा बढी माग हुने काउली, च्याउ, तामा, गाँजर, घिउ सिमी, काँक्रोलगायतका तरकारीको मूल्य वृद्धि भएको छ । उत्पादन स्थलमै महँगो भएकाले काठमाडौँसम्म आइपुग्दा यसको मूल्य अझै बढेको व्यापारी बताउँछन् ।
गत आर्थिक वर्ष काठमाडौँको कीर्तिपुर नगरपालिका–२ की उर्मिला महर्जनले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत ६० दिनको रोजगारी पाउनुभयो । यो कार्यक्रमबाट उहाँले दैनिक ६२५ रुपियाँका दरले ३७ हजार ५४० रुपियाँ आय गर्नुभयो । दुई छोराछोरीसहित चार जनाको उहाँको परिवारमा श्रीमान् श्रीमती दुवैको अर्को नियमित आयस्रोत छैन । छोराछोरी पढाउने र अरू खर्चका लागि यस्तै ज्यालादारी काम नै खोज्नुपर्छ । महर्जनको चार जनाको परिवारको मासिक खर्च २९ हजार रुपियाँजति छ । प्रधानमन्त्री रोजगार कार्यक्रमले उहाँलाई एक सय दिनको रोजगारी त दिएन, ६० दिनकै रोजगारीले पनि राहत भएको उहाँको बुझाइ छ । “नहुनुभन्दा दुई महिना भए पनि ढुक्कसँग खान पाइने भयो । बाँकी दस महिनाका लागि त अरू काम खोज्नुपर्छ,” उहाँले भन्नुभयो ।
योगदानमा आधारित सामाजिक सुरक्षा कोषको विराटनगर र सिमरामा शाखा कार्यालय शुभारम्भ गरिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले बुधबार एकैसाथ भर्चुअल माध्यमबाट ती दुई कार्यालयको शुभारम्भ गर्नुभएको हो । सेवाग्राहीको माग र आवश्यकताका आधारमा शाखा विस्तार गरिएको कोषले जनाएको छ । श्रम सचिव एवं कोष सञ्चालक समितिका अध्यक्ष एकनारायण अर्यालले केन्द्रीय कार्यालयबाट हुँदै आएका सम्पूर्ण काम नयाँ शाखा कार्यालयबाट पनि हुने जानकारी दिनुभयो । उहाँले कोषका कार्यालय विस्तार भएसँगै ती कार्यालयमार्फत कोषमा सेवाग्राहीको पहुँचमा वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो ।
चाडपर्व नजिकिँदै गए पनि सरकारी अनुदानको चिनी खरिद प्रक्रिया अहिलेसम्म अगाडि बढ्न सकेको छैन । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले चिनी खरिदका लागि दुई महिनाअघि अर्थ मन्त्रालयसँग स्वीकृति माग गरेको भए पनि स्वीकृति नदिएपछि चिनी खरिद अगाडि बढ्न नसकेको हो । वाणिज्य मन्त्रालयका सहायक प्रवक्ता उर्मिला केसीले अर्थ मन्त्रालयले चिनी आयातका लागि स्वीकृत नदिँदा प्रक्रिया अगाडि बढाउन नसकेको जानकारी दिनुभयो । भन्सार छुटमा चिनी आयात गर्नका लागि सहमति दिनका लागि अर्थ मन्त्रालयमा दुई महिनाअघि प्रस्ताव पेस गरेको भन्दै उहाँले भन्नुभयो, “यो वर्ष चिनी उत्पादन कम भएको र समयमा आयात नहुँदा चाडपर्वमा अभाव भई महँगो हुन सक्ने देखिएको छ ।”
गत आर्थिक वर्ष वैदेशिक रोजगारीको सिलसिलामा झन्डै एक हजार पाँच सयले ज्यान गुमाएका छन् । आव २०७८/७९ मा वैदेशिक रोजगारीबाट १० खर्ब सात अर्ब ३१ करोड रुपियाँ विप्रेषण भित्रिँदा एक हजार ४७९ जनाले रोजगारीकै क्रममा विदेशी भूमिमा ज्यान गुमाएका छन् । विदेशी मुद्रा आर्जनमा महत्त्वपूर्ण स्रोत रहेको वैदेशिक रोजगारीबाट प्राप्त हुने विप्रेषण आव २०७८/७९ मा आठ अर्ब ३३ करोड अमेरिकी डलर हो । अघिल्लो आर्थिक वर्षको तुलनामा यो विप्रेषण आर्जन नेपाली मुद्रामा ९.८ प्रतिशत र अमेरिकी डलरमा २.२ प्रतिशतले वृद्धि हो ।
सामाजिक सुरक्षा कोषमा योगदान गरेका योगदानकर्ताले अवकाश योजनामा जम्मा भएको रकमको ८० प्रतिशतसम्म विशेष सापटी रकम प्राप्त थालेका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले बुधबार मन्त्रालयमा एक कार्यक्रमको आयोजना गरी कोषमा योगदान गर्नुभएका विनयकुमार महतो र पवनबाबु प्रधानलाई विशेष सापटी योजनाअन्तर्गतको रकम प्रदान गर्नुभएको हो ।
काउली र गोलभेँडासहित विभिन्न पाँच किसिमका तरकारीमा घातक विषादीको अवशेष पाइएको छ । कालीमाटी तरकारी बजारमा रहेको केन्द्रीय कृषि प्रयोगशालाअन्तर्गतको द्रुत विषादी अवशेष विश्लेषण प्रयोगशालामा परीक्षण गरेका तरकारीका नमुनामध्ये काउली, तुनेबोडी, गोलभेँडा, हरियो खुर्सानी र भेँडेखुर्सानीमा बढी विषादीको अवशेष फेला परेको पाइएको हो ।
वैदेशिक रोजगार विभागले पछिल्लो दुई महिनादेखि वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीविरुद्ध वैदेशिक रोजगार न्यायाधिकरणमा मुद्दा दायर गरेको छ । विभागले वैदेशिक रोजगार ऐन २०६४ को दफा ४४ को अधिकार प्रयोग गर्दै ठगी आरोपमा असारमा तीनवटा र साउनमा दुईवटा गरी पाँचवटा म्यानपावरविरुद्धका मुद्दा वैदेशिक रोजगार न्यायाधिकरणमा दायर गरेको हो । विभागका अनुसार ऐनमा यस प्रकारको अधिकार विभागलाई दिए पनि यसको अभ्यास भने विभागले अहिले मात्रै गर्न थालेको छ ।
नेपाली युवालाई जापानमा रोजगारी दिने सम्बन्धमा नेपाल र जापनका अधिकारीबीच सहमति भएको छ । नेपाल र जापान सरकारका प्रतिनिधि सम्मिलत संयुक्त समितिको बिहीबार काठमाडौँमा बसेको बैठकले उच्च सीपयुक्त श्रमिक (स्पेसिफिक स्किल्ड वर्कर, एसएसडब्लू) प्रणालीअन्तर्गत नेपाली युवालाई जापान पठाउने सहमति भएको हो । यसअघि दुवै देशबीच भएको समझदारीमा जापानी रोजगारदाताले नेपाली श्रमिक लैजान आलटाल गर्दै आएका थिए ।
खाद्य, प्रविधि तथा गुणनियन्त्रण विभागले नेपालमा बिक्री हुने आयोडिनयुक्त नुनमा आवश्यकताभन्दा बढी आयोडिन नभएको दाबी गरेको छ । विभागले नुनमा आयोडिनको मात्रा ठीक भए वा नभएको विषयमा विभिन्न ठाउँबाट नुनको नमुना लिएर परीक्षण गर्दा अहिलेसम्म त्यस्तो पुष्टि नभएको जनाएको छ ।
वैदेशिक रोजगारीमा जाने अधिकांश युवा दाजुभाइ, दिदीबहिनी, आफन्त र वैदेशिक रोजगार कम्पनी, ट्राभल एजेन्सी, एजुकेसन कन्सल्टेन्सीबाट ठगिने गरेका छन्, यो क्रममा बढ्दो छ । वैदेशिक रोजागर विभागका अनुसार आव २०७८/७९ मा वैदेशिक रोजगारीका क्रममा ठगी भएका एक हजार ७४२ वटा उजुरी परेका छन् । अघिल्लो आर्थिक यस्तै प्रकृतिका ७८० वटा उजुरी परेका थिए । पछिल्लो दुई वर्षको तथ्याङ्क हेर्दा उजुरीको सङ्ख्या दोब्बरभन्दा बढी भएको हो ।
घटना गत जेठ अन्तिम साताको हो, देशकै ठूलो तरकारी बजार कालीमाटीमा मकवानपुरबाट ल्याइएको काउली परीक्षण गर्दा स्वास्थ्यका लागि घातक विषादी भेटियो । केन्द्रीय कृषि प्रयोगशालाअन्तर्गतको द्रुत विषादी अवशेष विश्लेषण प्रयोगशाला कालीमाटीमा काउली परीक्षण गर्दा विषादी रोकावट दर ९१ प्रतिशत भेटियो । विषादीको रोकावट दर ३५ प्रतिशतभन्दा बढी हुनुलाई खान अयोग्य मानिन्छ ।