• ६ पुस २०८१, शनिबार

खानेतेल

ब्रान्डका नाममा शोषण

blog

काठमाडौँ, असोज १६ गते । बजारमा खाने तेलका रूपमा उपभोक्ताको छनोटका लागि सनफ्लावर, तोरी र भटमासको तेल छन् । यिनीहरूका आ–आफ्नै ब्रान्ड छन् र ब्राण्डअनुसार मूल्य पनि फरक फरक छ । 

सनफ्लावर, तोरी र भटमासको तेल सबै खाने तेल हुन् र प्रतिस्थापन वस्तु हुन् । रुचिअनुसार उपभोक्ताले सनफ्लावर, तोरी वा भटमास रोज्न सक्छन् तर यी खाने तेलका उद्योगपिच्छे फरक फरक ब्रान्ड छन् । फरक फरक ब्रान्ड र तिनको फरक फरक मूल्यले भने उपभोक्तालाई झुकाइरहेको छ ।

मूल्यमा ठूलो अन्तर

धारा ब्रान्डको तोरीको तेलको मूल्य प्रतिलिटर ३७० रुपियाँ छ । तृप्ति तोरीको तेल खाद्य व्यवस्था तथा व्यापार कम्पनीले प्रतिलिटर २७५ रुपियाँमा बेचिरहेको छ । पतञ्जलि तोरीको तेल र भुटेको तोरीको तेल प्रतिलिटर चार सय रुपियाँ छ । 

ब्रान्ड त खालि उद्योग चिनिने एउटा माध्यम मात्रै हो । बढी आकर्षक विज्ञापन नगरिएका तर खाद्य विभागबाट स्वीकृति लिएर सञ्चालन भएका सबै तेल गुणस्तरीय छन् ।

यसैगरी सनफ्लावर तेलको प्रतिलिटर मूल्य सीजीको २८५ रुपियाँ, सनफ्लो तेल २९० रुपियाँ र धारा हेल्थ ३३०÷३३५ रुपियाँमा खुद्रा बिक्री हुन्छ । सीजीको भटमास तेल प्रतिलिटर २४० रुपियाँमा कारोबार भएको छ । 

अप्रशोधित तेल उत्तम

खाने तेल उत्पादक/उद्योगले उपभोक्ता आकर्षित गर्न आफ्नो ब्रान्डको प्रचारप्रसार गरिरहेका हुन्छन् । ‘कोलेस्ट्रोल फ्री’, ‘मुटु बलियो बनाउँछ’ जस्ता सन्देशले उपभोक्तालाई आकर्षण गरिरहेको हुन्छ । बजारमा आकर्षक बोतल, पाउचमा बेच्न राखिएका धेरैजसो तेल प्रशोधित हुन् । शुद्ध तेलमा कुनै पनि रसायन नमिसाइने भएकाले चिकित्सक यसलाई स्वास्थ्य वद्र्धक मान्छन् । प्रशोधित तेलमा ओमेगा–६ नामक रसायन हुने भएकाले मानव स्वास्थ्यका लागि त्यति राम्रो नहुने विज्ञको भनाइ छ । 

त्यसैले खाने तेलको छनोट गर्दा प्रशोधितभन्दा अप्रशोधित शुद्ध तेल नै उत्तम हुने सल्लाह चिकित्सकले दिने गरेका छन् । 

ब्रान्ड र मूल्य होइन, गुणस्तर

खाद्य प्रविधि तथा गुणस्तर विभागले भने खाने तेल होस् वा अन्य सामानको ब्रान्डले गर्दा उच्च गुणस्तरको भएर महँगो हुने र ब्रान्ड नभइसकेको सामानको मूल्य कम हुँदैमा गुणस्तरहीन हुने दाबी गर्छ । विभागका निर्देशक मोहनकृष्ण महर्जनले खाने तेल उत्पादनका लागि पालना गर्नुपर्ने न्यूनतम मापदण्ड पालना गरेका सबै तेल गुणस्तरीय वा खानयोग्य हुने बताउनुभयो । “ब्रान्ड त खालि उद्योग चिनिने एउटा माध्यम मात्रै हो । बढी आकर्षक विज्ञापन नगरिएका तर खाद्य विभागबाट स्वीकृति लिएर सञ्चालन भएका सबै तेल गुणस्तरीय छन्,” उहाँले स्पष्ट पार्नुभयो ।

खाद्य सुरक्षा ऐन, २०२३ अनुसार उत्पादन गर्दा गर्नुपर्ने गुणस्तरको न्यूनतम मापदण्ड पालना गरेको प्रमाणपत्र लिएका सबै उद्योगले उत्पादन गर्ने तेल वा अन्य सामान गुणस्तरका हुन्छन् । ब्रान्ड भनिएका तेल र ब्रान्ड नबनाइसकेका तेलको गुणस्तर एउटै हो । खाली कुनै ब्रान्डको बढी र कुनैको कम कारोबार हुने अर्को कुरा हो । 

मूल्य अन्तरबारे अनभिज्ञता

मूल्यमा हुने अन्तरको भने सरकारले मूल्य निर्धारण गर्न नसक्नुको परिणाम भएको उपभोक्ता अधिकारकर्मी बताउँछन् । उपभोक्ता अधिकार तथा अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सेनाले ब्रान्डका नाममा होस् वा अन्य नाममा आम उपभोक्ताले खोज्ने भनेको गुणस्तरीय र उचित मूल्य भएको बताउनुभयो । गुणस्तर एउटै भएका वस्तुको मूल्यमा धेरै अन्तर हुनुले सरकारका नियमनकारी निकायको कमजोरी भएको उहाँको धारणा छ । 

सरकारका नियमनकारी निकायले एउटै गुणस्तरका वस्तुमा मूल्य फरक छ भने त त्यसको कारण खोज्नुपर्ने तिमल्सेनाको भनाइ छ । उहाँले भन्नुभयो, “उपभोक्ता ब्रान्डका नाममा ठगिनु ठगिएका छन्, सरकारको अनुदानमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेनिङ  कर्पोरेसनबाट सञ्चालित सुपथ मूल्य पसलेसमेत ब्रान्डका नाममा बढी पैसा लिने गरेका छन् ।”

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ब्रान्डअनुसार मूल्य फरक भएकोबारेमा अनुगमन अहिले नभएको स्वीकार गरेको छ । विभागका निर्देशक होमनाथ भट्टराईले हरेक सामानको मूल्य निर्धारण प्रणाली हुने र त्योअनुरूप सामानको मूल्य राख्ने गरिएको हुन्छ तर मूल्यमा एकरूपता नभएकाबारे हाललाई नहेरिएको स्वीकार गर्नुभयो । “बेलाबेलामा के आधारमा मूल्य निर्धारण गरिएको हो भनेर मूल्य विश्लेषण हुन्छ, पछिल्लो पटक नभएको जानकारी छैन, अब भने छिट्टै नै त्यसबारेमा छलफल गर्छौँ ।”