• १४ वैशाख २०८१, शुक्रबार

सुपथ मूल्यका पसलमा आकर्षण

blog

पसल करिब एक साता बन्द रहने, खसीबोका नवमीसम्म बिक्री हुने

काठमाडौँ, असोज १७ गते । चाडपर्वमा उपभोक्तालाई सहुलियत मूल्यमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने गरी खुलाइएका सुपथ मूल्य पसल करिब एक साताका लागि बन्द हुने भएका छन् । 

साल्ट ट्रेडिङ कर्पोरेसनले पाँच दिन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आठ दिन सुपथ मूल्यका पसलबाट बिक्री वितरण बन्द गर्ने भएका हुन् । साल्ट ट्रेडिङले सञ्चालन गरेका सुपथ मूल्य पसल असोज १७ गते शुक्रबार (अष्टमी) देखि असोज २२ गते शनिबार (चतुर्दशी)सम्म बन्द हुनेछन् भने खाद्य कम्पनीका सुपथ मूल्य पसल असोज १६ गते (फूलपाती)देखि असोज २३ गते आइतबार (पूर्णिमा)सम्म बन्द हुने जनाइएको छ । 

खासीबोकाको बिक्री वितरण भने यो अवधिमा पनि निरन्तर चल्ने खाद्य कम्पनीले जानकारी दिएको छ । चाडपर्वमा उपाभेक्तालाई राहत दिने भन्दै यी दुई सरकारी स्वामित्वका संस्थाले असोज १ गतेदेखि अति आवश्यकीय खाद्यवस्तुमा विशेष छुट दिएर बिक्री वितरण गर्दै आएका छन् । यी पसलमा नुन, चामल, दाल चिउरा, पिठो, मैदा, तेललगायतमा प्रतिकेजी दुई रुपियाँदेखि १० रुपियाँसम्म छुटको व्यवस्था गरिएको छ । खाद्य कम्पनीका प्रवक्ता शर्मिला सुवेदीले हालसम्म सुपथ मूल्य पसलबाट सबैभन्दा बढी कारोबार चामल, चिउरा र खानेतेल बिक्री भएको जानकारी दिनुभयो । उहाँका अनुसार सबैभन्दा बढी बिक्री थापाथलीको बिक्री केन्द्रबाट भएको छ । 

खाद्य कम्पनीले असोज १ गतेदेखि १५ गतेसम्म एक हजार पाँच सय क्विन्टल चामल, खानेतेल एक हजार दुई सय लिटर, चिउरा ५० क्विन्टल, दलहन ५० क्विन्टल बिक्री भएको जनाएको छ । 

पन्ध्र सय खसीबोका र दुई सय च्याङ्ग्रा बिक्री

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यस पटकको दशैँमा झन्डै एक हजार पाँच सय खसीबोका र दुई सय च्याङ्ग्रा बिक्री गरेको जनाएको छ । कम्पनीका अनुसार गएको बिहीबारदेखि फूलपातीसम्म एक हजार ५५९ वटा खसीबोका बिक्री गरेको जनाएको छ । 

कम्पनीका अनुसार मकवानपुरबाट छ सय, दाङबाट ५९० र धादिङबाट २६९ गरी एक हजार ४५९ वटा खसीबोका ल्याएर बिक्री गरेको छ भने दार्चुलाबाट ल्याइएका दुई सय च्याङ्ग्रा बिक्री भएका छन् । 

खाद्य कम्पनीले यस पटक जिउँदो खसीबोका प्रतिकेजी ६८० रुपियाँ र च्याङ्ग्रा प्रतिकेजी एक हजार २६० रुपियाँ मूल्य निर्धारण गरेको छ । गत वर्ष कम्पनीले खसीबोकाको मूल्य प्रतिकेजी ६५० रुपियाँ निर्धारण गरेको थियो । यस वर्ष खरिद मूल्य नै बढेकाले बिक्री मूल्य बढेको खाद्य कम्पनीले जनाएको छ । कम्पनीका प्रवक्ता शर्मिला सुवेदीले च्याङ्ग्रा र खसीबोकामा प्रतिकेजी १० रुपियाँ छुट दिइएको जानकारी दिनुभयो । उहाँका अनुसार गत बुधबार बिहान १० बजेदेखि कम्पनीको थापाथलीस्थित प्रादेशिक कार्यालयबाट बिक्री गरिएको थियो । 

अपेक्षाभन्दा बढी बिक्री

साल्ट ट्रेडिङले सुपथ मूल्य पसलमा चिनी बिक्री नगरे पनि नुन, चिउरा, चामल, तेल अपेक्षाभन्दा बढी बिक्री भएको जनाएको छ । साल्ट ट्रेडिङका अनुसार यस अवधिमा उपत्यकामा तीन मोबाइल भ्यानसहित नौ बिक्री कक्ष र उपत्यकाबाहिर धुलिखेल, बनेपा र नारायणगढबाट यसबीचमा दुई करोड रुपियाँको सामान बिक्री गरेको जनाएको छ । 

साल्ट ट्रेडिङले आफ्ना बिक्री कक्षबाट सबैभन्दा धेरै चामल, दाल, खानेतेल, नुन बिक्री गरेको छ । साल्ट ट्रेडिङका बिक्री वितरण प्रमुख प्रज्वल प्रधानले चिनी नभए पनि सहुलियत पसलबाट अपेक्षाभन्दा बढी कारोबार भएको जानकारी दिनुभयो । उहाँका अनुसार यस अवधिमा स्थानीय उत्पादन बासमती चामल, कालो चामल, मकैको च्याँख्ला, गहुँको च्याँख्ला, राजमा, सिमीलगायतका सामान पनि राम्रै बिक्री भएको छ । 

आकस्मिक अनुगमन सुरु

वाणिज्य, वाणिज्य तथा उपभोक्ता संरक्षण विभागले दशैँको बिदामा बजार अनुगमन गर्न आकस्मिक अनुगमन गर्न गठित टोलीले शनिबारदेखि अनुगमन थालेको जनाएको छ । दशैँको बिदाको मौका छोपी बजारमा बेथिति नहोस् भनेर विभागका निर्देशक भेषराज कुँवरको संयोजकत्वमा गठित आकस्मिक अनुगमन टोली उजुरीको प्राथमिकताका आधारमा अनुगमन गरिरहेको जनाएको छ । 

विभागका अनुसार उक्त टोलीले दशैँको बेलामा मूल्य र गुणस्तरमा समस्या भएको भन्ने मौखिक उजुरी आउनेवित्तिकै अनुगमन गरेर कैफियतका आधारमा कारबाही वा जरिवाना गर्नेछ । उहाँसहितको नौ दस जनाको टोली बजार अनुगमनका लागि २४सै घण्टा तयारी अवस्थामा रहनेछ । 

आकस्मिक अनुगमन टोलीका संयोजक कुँवरले विभागमा आएका उजुरीलाई तुरुन्तै ‘रेस्पोन्स’ गरी फिल्डमै पुगेर अनुगमन गरी कारबाहीमा गर्न थालेको जानकारी दिनुभयो ।