• १६ चैत २०८०, शुक्रबार

ईपीएस उत्तीर्ण कोरिया जान सुरु

blog

काठमाडौँ, कात्तिक २३ गते । रोजगार अनुमति प्रणाली ईपीएसअन्तर्गत कृषि तथा पशुपालनतर्फको पहिलो चरणमा भाषा र सीप परीक्षामा उत्तीर्ण भएका दक्षिण कोरिया जान थालेका छन् । वैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस कोरिया शाखाले कृषितर्फको पहिलो चरणमा लिइएको भाषा र सीप परीक्षामा उत्तीर्ण भएकामध्ये ४०० जना दक्षिण कोरिया प्रवेश गरिसकेका हुन् । तीन सय जना मङ्सिरको पहिलो सातासम्म दक्षिण कोरिया प्रवेश गरिसक्ने शाखाले जनाएको छ । 

शाखाका अनुसार सन् २०२२ का लागि दक्षिण कोरिया जान परीक्षा उत्तीर्ण गरेका दुई हजार ७४१ जनामा एक हजार २०० जना कोरिया जानेको सूचीमा नाम आइसकेको छ । आउन बाँकी रहेकाको आगामी माघसम्म सूचीमा नाम आइसक्ने शाखाले जानकारी दिएको छ । यस पटक कृषितर्फबाट दक्षिण कोरिया जानका लागि १० हजार २९१ जनाले आवेदन दिएका थिए ।

शाखाका निर्देशक पुष्पराज कटुवालले दक्षिण कोरियामा नेपाली श्रमिकले राम्रो छवि बनाएकाले सूचीमा परेका अधिकांश दक्षिण कोरिया जान सक्ने जानकारी दिनुभयो । कृषि तथा पशुपालनतर्फको पहिलो र दोस्रो चरणमा गरेर दुई हजार ९१२ जना उत्र्तीण भएका भएकोमा उक्त क्षेत्रका लागि दुई हजार ७४१ जनाको माग रहेको छ । 

दोस्रो चरणको परीक्षा सम्पन्न

ईपीएसअन्तर्गत दक्षिण कोरिया जान लिइने उत्पादनतर्फको दोस्रो चरणको परीक्षा सोमबार सम्पन्न भएको छ । सन् २०२२ मा उत्पादनतर्फ ईपीएसमार्फत रोजगारीमा दक्षिण कोरिया जानेका लागि दोस्रो चरणको परीक्षण असोज २१ गते सुरु भएर कात्तिक २० गते सम्पन्न भएको हो । सो परीक्षाका लागि १८ हजार ५९५ जनाले आवेदन दिएकोमा १४ हजार ४३ जना सहभागी भएका थिए । उत्पादनतर्फको पहिलो चरणको परीक्षा साउन २ गतेदेखि भदौ ९ गतेसम्म सञ्चालन गरिएको थियो । पहिलो चरणमा सात हजार १४२ जना उत्तीर्ण भइसकेका छन् । दोस्रो चरणमा करिब आठ हजार छनोट हुने शाखाले जनाएको छ । 

ईपीएस शाखाका अनुसार सन् २०२२ मा ईपीएसमार्फत कोरिया जानका लागि ४२ हजार ८४२ जनाले आवेदन दिएकोमा कृषितर्फ १० हजार २९१ र उत्पादनमूलक क्षेत्रमा ३२ हजार ५२० जना रहेका छन । जुन अन्य देशभन्दा धेरै हो । 

कोरियाले उत्पादनमूलक, कृषि तथा पशुपालन, सेवा, निर्माण क्षेत्रमा विभिन्न १६ देशबाट श्रमिक माग गर्दै आए पनि नेपालबाट भने कृषि र उत्पादनमूलक क्षेत्रमा मात्र श्रमिक माग हुँदैआएको छ ।