• ६ वैशाख २०८१, बिहिबार

रोजगारीका लागि विदेशिने दोब्बर

blog

काठमाडौँ, असोज २५ गते  । श्रम गन्तव्य मुलुकमा कोरोना महामारीको चाप खुकुलो हुँदै गर्दा नेपालबाट श्रमका लागि विदेशिने नेपालीको सङ्ख्या पनि उल्लेख्य बढ्न थालेको छ । चालू आर्थिक वर्ष २०७९/८० को पहिलो दुई महिनामा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या अघिल्लो वर्षको सो अवधिको तुलनामा दोब्बरभन्दा बढीले वृद्धि भएको छ । 

वैदेशिक रोजगार विभागका अनुसार गत साउन र भदौमा एक लाख ३९ हजार जनाले श्रम स्वीकृति लिएर विदेशिएका छन । २०७८ साउन र भदौमा ६१ हजार ४६८ जनाले मात्र श्रम स्वीकृति लिएका थिए । यसअनुसार यो साउन र भदौमा ७७ हजार ५३२ जनाले बढी हुन्छ ।                                         

विभागका अनुसार गत भदौमा मात्रै ७६ हजार ४०३ जनाले श्रम स्वीकृति लिएका छन् भने २०७८ भदौमा जम्मा ३६ हजार ४० जनाले श्रम स्वीकृति लिएका थिए । गत साउनमा ६३ हजार ५९७ जनाले श्रम स्वीकृति लिएकामा अघिल्लो साउनमा २५ हजार ४२८ जनाले श्रम स्वीकृति लिएका थिए ।  

यो वर्षको साउन महिनामा भन्दा भदौमा वैदेशिक रोजगारीमा जानका लागि १३ हजार ३६४ जना बढीले श्रम स्वीकृति लिएका छन् । विभागका महानिर्देशक उमाकान्त आचार्यले श्रम गन्तव्य देश र श्रमिक पठाउने देशमा कोरोनाको प्रभाव कम भएकाले वैदेशिक रोजगारी कोरोना सामान्य हुनेबित्तिकै गन्तव्य देशमा माग बढेकाले श्रम स्वीकृति लिनेको सङ्ख्या पनि बढेको बताउनुुभयो ।

दोब्बरले बढे दक्ष श्रमिक

भदौमा श्रम स्वीकृति लिनेमा सबैभन्दा धेरै दक्ष श्रमिक छन् । अघिल्ला वर्षहरूमा श्रम स्वीकृति लिनेमा अदक्ष श्रमिकको बाहुल्य रहँदै आएकामा यो आर्थिक वर्षदेखि भने यो तथ्याङ्क फेरिन थालेको छ । भदौ महिनामा ४६ हजार ६९ जना दक्ष श्रमिकले श्रम स्वीकृति लिएका छन् भने अदक्ष श्रमिकको सङ्ख्या २५ हजार ८३ जना छ । अर्धदक्ष श्रमिकको सङ्ख्या छ हजार ९२ छ भने १४६ जना व्यावसायिक र १३ जना उच्च सीप भएका रहेको विभागले जनाएको छ । गत साउनमा पनि श्रम स्वीकृति लिनेमा दक्ष श्रमिककै सङ्ख्या सबैभन्दा बढी थियो । साउनमा ३८ हजार ७७ जना दक्ष श्रमिकले श्रम स्वीकृति लिँदा अदक्ष श्रमिकको सङ्ख्या २० हजार ६७२ थियो । 

प्रमुख श्रम गन्तव्य मलेसिया 

समीक्षा अवधिमा नेपाली श्रमिकको प्रमुुख श्रम गन्तव्य देश मलेसिया बनेको छ । विभागका अनुसार साउन र भदौमा एक लाख ३९ हजार ४४२ जनाले श्रम स्वीकृति लिएकामा ५८ हजार जनाले मलेसियाका लागि मात्रै लिएका छन् । जुन सङ्ख्या करिब ४२ प्रतिशत हो । साउनमा ६३ हजारभन्दा बढीले श्रम स्वीकृति लिएकामा २५ हजार जनाले भदौ महिना ७६ हजार ४०३ जना र भदौ महिनामा ३३ हजार दुई जनाले मलेसियाका लागि श्रम स्वीकृति लिएको विभागले जनाएको छ । विभागअन्तर्गतको काठमाडौँ वैदेशिक रोजगार कार्यालयका प्रमुख रमेश अर्यालले मलेसिया सरकारले आप्रवासी श्रमिकको न्यूनतम पारिश्रमिक बढाएपछि नेपाली श्रमिकको आकर्षण मलेसियातर्फ बढेको बताउनुभयो ।