• २० असोज २०८१, आइतबार

विदेशकै भरमा तिहार

तिहारको किनमेल बढ्यो, मूल्य वृद्धिले उपभोक्ता मर्कामा

blog

काठमाडौँ, कात्तिक ५ गते । तिहारको महत्त्वपूर्ण दिन भाइटीका आउन छ दिन बाँकी रहँदा राजधानीको बजारमा चहलपहल ह्वात्तै बढेको छ । काठमाडौँको इन्द्रचोक, भोटाहिटी, असन, महाबौद्ध, नयाँ सडक, बानेश्वर, ललितपुरको लगनखेल, मङ्गलबजार, जावलाखेललगायतका व्यापारिक केन्द्रमा भाइटीकामा चाहिने सामान बेच्ने र किन्नेको चहलपहल ह्वात्तै बढेको हो । 

तिहारका सामान किन्नेको भीड बढेसँगै सामानको मूल्य पनि बढेको ग्राहकको गुनासो छ । तिहारमा विशेष गरी लक्ष्मी पूजा गर्दा चाहिने दियो तथा पाला, भाइमसला, ओखर, ढाकाटोपी, झिलिमिली बत्तीको कारोबार हुन्छ । 

भाइमसला

भाइमसलामा नरिवल, काजु, किसमिस, बदाम, ओखरजस्ता खानेकुरा मिसिएका हुन्छन् । भाइटीकाका दिन दिदीबहिनीले दाजुभाइका लागि भाइमसला दिने गर्छन् । दाजुभाइलाई दिने भाइमसला नरिवल, बदाम, ओखर नेपालमै फलाउन सकिने भए पनि भारत र चीनबाट आयात भइरहेको छ । 

बदाम, काजु, पेस्ता, छोकडा, किसमिस, सप्तरङ्गी टीका र सयपत्री फूल पनि भारतबाट आयात हुँदै आएको छ । नेपाल खुद्रा व्यापार सङ्घका अनुसार भाइमसलाको भाउ गत वर्षको तुलनामा प्रतिकेजी सात सय रुपियाँसम्म बढेको छ । सङ्घका अध्यक्ष पवित्र वज्राचार्यले अघिल्लो वर्षभन्दा यी सामानको माग र मूल्य बढेको बताउनुभयो । भाइमसला मात्रै होइन, अन्य खाद्यवस्तु चामल, दाल, तरकारी, फलफूललगायतका सबै सामानको मूल्य बढेको उहाँले जानकारी दिनुभयो । 

दियो तथा पाला 

लक्ष्मीपूजाका दिन लहरै बालिने दियो तथा पाला काठमाडौँ उपत्यकामै बन्थ्यो र यसको माग पनि त्यहीको धान्दै आएको थियो । विगत केही वर्षदेखि दियो पालाको बजार पनि चिनियाँ व्यापारीले लिन थालेका छन् । इन्द्रचोक गल्लीका पुराना दियो पाला व्यापारी विमल श्रेष्ठ चीनबाट माटाको दियो बजारमा ल्याएर नेपाली दियो र पाला ओझेलमा परेको अनुभव सुनाउनुभयो । 

उहाँका अनुसार पाँच/छ वर्षअघिसम्म तिहारमा चाहिने सामग्रीमध्ये माटोको दियो तथा पाला मात्रै भए पनि स्वदेशी उत्पादनले धानिरहेको थियो तर अहिले नेपाली उत्पादनभन्दा पनि चिनियाँ उत्पादनले बजार लिन थालेको छ । चिनियाँ दियो र पाला देख्दा आकर्षक भएकाले नेपालीभन्दा दोब्बर महँगो भए पनि उपभोक्ताको माग पनि त्यसैमा भएको श्रेष्ठले बताउनुभयो । नेपाली पाला प्रतिदर्जन खुद्रा मूल्य ३५ देखि ५० रुपियाँ र चिनियाँ दियो प्रतिदर्जन ८० देखि १२० रुपियाँसम्म छ । 

फूलको माला

दाजुभाइलाई लगाइदिने र घर, मन्दिर सजाउने भएकाले अरू समयको तुलनामा तिहारमा फूलको माला धेरै खपत हुन्छ । स्वदेशी उत्पादनले मात्र धान्न नसकेपछि तिहारमा भारतबाट सयपत्री फूलका तीन लाखभन्दा बढी माला आयात हुँदै आएको छ ।  

नेपाल फ्लोरिकल्चर एसोसिएसन (फ्यान)का अध्यक्ष मीनबहादुर तामाङले भारतबाट सयपत्री फूलका तीन लाख माला ल्याउने भनिएकोमा चार लाखभन्दा बढी भित्रिइसकेको जानकारी दिनुभयो । 

हरेक वर्ष फूलको माग १५ देखि २० प्रतिशत बढ्ने भए पनि यो वर्ष भने अनुमान गरेभन्दा बढी फूलको खपत हुने देखिएको फ्यानका अध्यक्ष तामाङले बताउनुभयो । यो पटक फूलको मूल्य विगतको भन्दा बढ्ने अनुगमन उहाँको छ । यो वर्ष करिब तीन अर्ब रुपियाँको फूलको कारोबार हुने अनुमान गरिएको छ भने झन्डै २२ करोड रुपियाँ बराबरको फूलको कारोबार तिहारमा मात्रै हुने अनुमान फ्यानले गरेको छ । 

ढाकाटोपी

तिहारमा ढाकाटोपीको बिक्री पनि फस्टाउँदो छ । बजारमा पाल्पाली र पूर्वेली ढाकाटोपी प्रख्यात छन् । टोपी व्यापारी कविन्द्र कार्कीका अनुसार यी ढाकाका टोपीका लागि पनि भारतको गोरखपुरबाट कच्चा पदार्थ आयात गर्नुपर्छ । 

“भारतको गोरखपुरबाट कच्चा पदार्थ (धागो) ल्याएर पाल्पामा बुनिन्छ, त्यहाँ बुनेको ढाका बालाजुमा रहेको कारखानामा सिलाएपछि बजारमा आउँछ,” कार्कीले थप्नुभयो । उहाँका अनुसार प्रतिटोपी ७५ रुपियाँदेखि दुई हजार दुई सय रुपियाँसम्मका टोपी बेच्न राखिए पनि तिहारमा २५० देखि पाँच सय रुपियाँ पर्ने टोपी धेरै बिक्री भइरहेको छ । टोपीको माग र कारोबार पहिलेको तुलनामा घटेको अर्का टोपी व्यापारी मीनप्रसाद खनालले बताउनुभयो । 

बिजुली बत्ती र दियो  

बजारमा बिजुली बत्ती र दियो पनि बेच्न राखिएका छन् । ती झिलिमिली बत्ती र दियो चीनबाट आयात हुन्छन् । बिजुलीमा जडान गर्नसाथ झिलिमिली बल्ने बत्ती र कागज तथा प्लास्टिकका फूल पनि उतैका हुन् । बिजुली बत्तीप्रति उपभोक्ताको आकर्षण बर्सेनि बढेको व्यवसायी हेमप्रसाद अधिकारीले बताउनुभयो । उहाँका अनुसार तिहारका लागि बिक्री गर्न २५० रुपियाँदेखि छ हजार रुपियाँसम्मका बत्ती ल्याइएका छन् तर धेरैजसो २५० देखि एक हजार रुपियाँसम्मका झिलिमिली बत्ती बढी माग हुने गरेका छन् ।