• ७ मंसिर २०८१, शुक्रबार

आलुमा बढ्यो परनिर्भरता

blog

काठमाडौँ, असोज २८ गते  । नेपालीको भान्छामा बढी प्रयोग हुने आलु उत्पादनप्रतिको परनिर्भरता बढ्दो छ । स्वदेशमै आलु उत्पादनका लागि पर्याप्त सम्भावना हुँदाहुँदै पनि उत्पादनशील जनशक्ति विदेश पलायन हुँदा आलुमा परनिर्भरता झन् बढेको हो ।

देशकै ठूलो तरकारी बजार कालीमाटी फलफूल तथा तरकारी बजारमा असोज १ देखि २६ गतेसम्म करिब पाँच हजार मेट्रिक टन आलु भित्रिएको छ । सो अवधिमा बजारमा भित्रिएको आलुमध्ये लगभग ८० प्रतिशत भारतबाट आएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । समितिका प्रवक्ता विनय श्रेष्ठले कालीमाटी बजारमा मागको ८० प्रतिशत आलु भारतबाट आयात भएको बताउनुभयो । साउनदेखि कात्तिकसम्म नेपाली आलुको उत्पादन असाध्यै कम हुने भएकाले यो बेलामा विदेशको आयातमै भर पर्नुपर्ने उहाँको भनाइ छ ।

समितिका अनुसार गत वर्ष असोज महिनामा कालीमाटी बजारमा छ हजार टन आलु भित्रिएकामा लगभग ६० प्रतिशत भारतबाट आएको थियो तर यो वर्ष सोही बजारमा असोजको २६ गतेसम्म पाँच हजार मेट्रिक टन आलु भित्रिएकामा ८० प्रतिशत आलु भारतबाट भित्रिएको छ । बाँकी मात्रै स्वदेशको दोलखाको मुडे, मकवानपुरको पालुङ, नुवाकोट, काभ्रे, ओखलढुङ्गालगायतका ठाउँबाट आएको छ । 

कालीमाटी बजारमा भित्रिएको तरकारीले उपत्यकावासीको मागको लगभग ७५ प्रतिशत माग धान्ने गरेको छ भने बाँकी माग बालाजु, बल्खु, कोटेश्वर, भक्तपुरका तरकारी बजारबाट पूर्ति हुने गरेको छ ।

नेपाली आलु महँगो 

भारतीय आलुको तुलनामा नेपाली आलुको भाउ दोब्बर महँगो छ । स्वादका हिसाबले नेपाली आलु मीठो हुने र माग पनि बढी भएकाले भारतीय आलुको तुलनामा दोब्बरभन्दा महँगोमा बिक्री भएको हो । समितिका अनुसार नेपाली रातो आलु (पालुङ)को प्रतिकेजी मूल्य १०० रुपियाँ थोकमै छ भने मुडेको आलु प्रतिकेजी ८५ रुपियाँदेखि ९० रुपियाँसम्म रहेको छ । यस्तै भारतीय आलु भने प्रतिकेजी ४५ देखि ४८ रुपियाँमा कारोबार भएको छ । 

भन्सार विभागका तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको साउन र भदौ महिनामा मात्रै मात्रै तीन अर्ब बराबरको करिब १२ लाख क्विन्टल आलु नेपाल भित्रिएको छ । नेपालमा भारतबाट मात्रै नभएर बङ्गलादेश, युरोपेली मुलुकबाट समेत आलु भित्रिएको देखिन्छ । नेपालमा वार्षिक करिब १० अर्ब बढीको आलु आयात हुने गरेको भन्सार विभागको तथ्याङ्कले देखाउँछ । यसरी आउनेमध्ये बीउ, ताजा वा चिसो, फ्रेन्च फ्राईलगायत छन् । नेपालमा आउने आलुको सबैभन्दा बढी हिस्सा भारतले ओगटेको भन्सार विभागको तथ्याङ्कले देखाउँछ भने अन्य देशबाट आउने हिस्सा थोरै रहेको छ । 

तरकारीमा बढी आयात हुने आलु र प्याजमा मुलुकलाई आत्मनिर्भर बनाउन सरकारले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आर्थिक वर्ष २०७६/७७ देखि चार वर्षका लागि सङ्घीय सरकारको मातहतमा रहने गरी आलु र प्याजतर्फ मिसन कार्यक्रम गरिरहेको छ तर उत्पादनले माग धान्ने अवस्था भने छैन । मन्त्रालयका अनुसार झापा, सुनसरी, लमजुङ, कास्की, स्याङ्जा, बर्दिया, कैलाली र कञ्चनपुरमा ‘बीउ आलु आत्मर्निभर कार्यक्रम’ सञ्चालनमा छ । उक्त कार्यक्रम आर्थिक वर्ष २०८०/८१ सम्म सञ्चालन हुनेछ । 

राष्ट्रिय आलु, तरकारी तथा मसला बाली विकास केन्द्रका अनुसार चालू आर्थिक वर्षमा देशभरका १७ जिल्लामा आलु बीउ उत्पादन कार्यक्रम सञ्चालन भइरहेको छ । तरकारीका लागि भने सात जिल्लामा मात्रै खायन जातको आलु उत्पादन कार्यक्रम सञ्चालन भएको छ । चालू आर्थिक वर्षमा पर्वत, दार्चुला, अर्घाखाँची, सुर्खेत, दोलखा, सिन्धुपाल्चोक, बर्दिया, म्याग्दी, झापा, मकवानपुर, कास्की, स्याङ्जा, सिन्धुली, बाँके, बागलुङ र दाङमा आलु खेती कार्यक्रम सञ्चालन गरिएको छ ।