काठमाडौँ, कात्तिक १७ गते । प्रशोधित पिउने पानीको गुणस्तरको समस्या बारम्बार सुनिँदै आएको हो । तर, अहिले पानीको तौलमै समस्या भएको खुलासा भएको छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले खानेपानीको अनुगमनका क्रममा २० लिटर भनेर बिक्री भइरहेको पानीको जारमा १९ लिटर मात्रै हुने गरेको फेला पारेको हो । पानी उत्पादन उद्योगीहरू नै १९ लिटर क्षमता भएको पानीको जारमा २० लिटर भनेर बिक्री गर्दै आएको स्वीकार गर्छन् ।
विभागका निर्देशक होमनाथ भट्टराईले १९ लिटर क्षमता भएको जारलाई २० लिटर भनेर बजारमा पठाउने गरेको अनुगमनका क्रममा पाइएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “१९ लिटर मात्रै पानी भएको तर २० लिटर भनेर लेबल टाँसिएको जार बजारमा बाक्लै भेटिएका छन् ।”
उपभोक्ता अधिकारकर्मीहरू भने वर्षौंदेखि पानीका नाममा उपभोक्ता ठगी गर्ने नापतौलमा ठगी गरिरहेका उद्योगीलाई कडा कारबाही हुनु्पर्ने बताउँछन् । उपभोक्ता अधिकारकर्मी प्रेमलाल महर्जनले नापतौलमै ठगी गर्नु गम्भीर अपराध भएकाले कानुनका भएको हैदसम्मको कारबाही गर्नुपर्नेमा जोड दिनुभयो ।
स्ट्यान्डर्ड नाप र तौल ऐन, २०२५ को पाँचौँ संशोधनअनुसार वस्तुमा घटी वा बढी तौल भएमा पाँच हजारदेखि २५ हजार रुपियाँसम्म जरिवाना गर्न सकिने व्यवस्था छ । पानीको जारको हकमा प्रत्येक जारको पाँच हजारका दरले कति वटा जारमा ठगी गरेको छ त्यस आधारमा पनि जरिवाना गर्न सकिने व्यवस्था सो ऐनमा गरिएको छ ।
नेपाल नापतौल तथा गुणस्तर विभागका क्षेत्र कार्यालय प्रमुख निराजन पुडासैनीले पानीको तौलमा ठगी गर्ने उद्योगीलाई स्ट्यान्डर्ड नाप र तौल ऐनअनुसार प्रत्येकमा पाँच हजारका दरले जरिवाना गर्न सकिने जानकारी दिनुभयो ।
उद्योगीको स्वीकारोक्ति
नेपाल बोटल वाटर सङ्घका अध्यक्ष धु्रव गौतमले जार उत्पादन गर्दै आएका केही पुराना उद्योगले १९ लिटर क्षमताका जार उत्पादन गरेकाले १९ लिटर जार बजारमा रहेको स्वीकार गर्नुभयो ।
नेपाल नापतौल तथा गुणस्तर विभागले १९ लिटर जारलाई मान्यता नदिने भएकाले केही उद्योगीले १९ लिटर क्षमता भएको जारमा २० लिटर पानी भनेर उल्लेख गर्न बाध्य भएको स्वीकार गर्नुभयो ।
उहाँले भन्नुभयो, “यस विषयमा वाणिज्य विभाग, नाप तौल विभाग र उद्योगीबीच भएको छलफलपछि १९ लिटर क्षमता भएको जारमा १९ लिटर र २० लिटर क्षमता भएकोमा २० लिटर उल्लेख गरेर बजारमा पठाउने गरी सहमति भएको छ ।”
अध्यक्ष गौतमका अनुसार पानीको नापतौलमा समस्या आएको भनेपछि सङ्घले अभियानकै रूपमा नयाँ प्रिन्ट भएको पानी आउँदा स्पष्ट रूपमा जारको क्षमताअनुसार नै पानीको परिणाम उल्लेख गर्नुपर्छ । यदि कसैले अटेर गरेमा कानुनअनुसार कारबाही हुने र कानुनमा सबैलाई समान हुने उहाँको भनाइ छ ।
बजारमा दुई खालका जार
उद्योगीहरू बजारमा पुरानो जार र २० लिटरको नाममा १९ लिटरको जारमा बिक्री भइरहेका छन् । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पछिल्लो गरेको अनुगमनमा यस्तो देखिएको हो ।
१५/२० दिनयता वाणिज्य विभागले प्रशोधित पानीको मूल्य तोकेसँगै पानी उद्योगमा अभियानकै रूपमा अनुगमन सञ्चालन गरिरहेको छ । उपत्यकामा प्रतिलिटर बोटल पानीको अधिकतम खुद्रा मूल्य १६ र २० लिटर जारको पानीको ४७ रुपियाँभन्दा बढी मूल्य लिन नपाउने गरी मूल्य तोकेको छ ।
विभागले तोकेको मूल्य कार्यान्वयन भए/नभएको अनुगमन गर्दा धेरै खालको बेथिति देखिएको भन्दै विभागका निर्देशक भट्टराईले पानीको जारमा एमआरपी नै उल्लेख नगरी पैसा आफूखुसी रूपमा बिक्री भएको जानकारी दिनुभयो । अनुगमनका क्रममा ढुवानीकर्ताले एउटा कम्पनीको जार लिएर जाने र अर्को उद्योगको स्टिकर टाँसेर बेचेको पनि देखिएको विभागले जनाएको छ ।