भ्रमण प्रवेशाज्ञा (भिजिट भिसा)को आवरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै खाडी मुलुकबाट कम्बोडिया पु-याइएका चार
बडादशैँ, तिहार, नेपाल संवत्को नयाँ वर्ष, छठपर्वलगायतका चाडपर्व नजिकिएसँगै प्रहरीले देशभर सुरक्षा सतर्कता बढाएको छ। प्रहरी प्रधान कार्यालयले चाडपर्वमा हुनसक्ने चोरी, तस्करी, ठगी तथा लुटपाटलगायतका घटना बढ्न सक्ने आकलन गरी देशभरका प्रहरी एकाइलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ। साथै प्रहरी मुख्यालयले ७७ वटै जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी एकाइलाई परिपत्र गरी चाडपर्व सुरक्षा योजना तयारी गरी प्रभावकारी रूपमा कार्यान्वयन गर्नसमेत परिपत्र गरेको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले चाडपर्व सुरक्षा योजनाअन्तर्गत सबल सुरक्षा व्यवस्थाका लागि देशभरका ७७ वटै जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी एकाइहरूलाई सुरक्षा योजना तथा तयारीका लागि १९ बुँदे परिपत्र जारी गरिएको जानकारी दिनुभयो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भदौ ९ गते मध्यरात जजिरा विमानबाट भिजिट भिसामा दुबई जान लागेकी झापाकी ३१ वर्षीया सम्झना लिम्बू (नाम परिवर्तन) लाई प्रहरीले विमानस्थलबाट फर्कायो । हातमा पासपोर्ट, टिकट, बैङ्किङ कागजसहित २५० अमेरिकी डलर बोकेर विदेश उड्न लागेकी सम्झनासहित ३९ जना महिला भिजिट भिसाको आवरणमा इराक पु-याइँदै थिए । रोजगारको प्रलोभन देखाएर नेपाली युवतीलाई खाडी मुलुक पु¥याउने र यौनजन्य क्रियाकलापमा लगाउनका लागि बेचबिखन हुने गरेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल भ्रमणमा रहनुभएका चीनको राष्ट्रिय जनकङ्ग्रेसको स्थायी समितिका अध्यक्ष ली झान्सुले शिष्टाचार भेटवार्ता गर्नुभयो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मङ्गलबार भएको भेटवार्तामा नेपाल–चीन सम्बन्धका विविध आयामबारे छलफल भयो । परराष्ट्र मन्त्रालयका अनुसार द्विपक्षीय प्रतिनिधिमण्डलबीच दुई देशीय व्यापार, लगानी, सम्पर्क सञ्जाल, नेपाली विद्यार्थीलाई चीन फिर्ता पठाउने, हवाई उडान पुनः सुरु गर्ने र बन्द रहेका नाका खुलाउनेलगायतका विषयमा छलफल भएको थियो ।
काठमाडौँको जडीबुटीस्थित छ लेनको सडक खुलाउन सडकबीचमा रहेको एउटा कच्ची घर हटाइको छ । सडक विस्तारका क्रममा सडकबीचमा परेको उक्त घर काठमाडौँ महानगरपालिका र सडक विभागको समन्वयमा आइतबार साँझ हटाइएको हो । यससँगै माइतीघर–सूर्यविनायक छ लेनको सडक पूर्ण रूपमा खुल्ने भएको छ । उक्त घरका कारण छ लेनको अति व्यस्त सडक पूर्ण रूपमा सञ्चालनमा आउन सकेको थिएन । मूल सडकका दायाँ र बायाँ बनाइएका सर्भिस लेन निर्माणमा अवरोध हुँदा उक्त सडकमा सवारी जामको समस्या ठूलो रहेको छ । यो समस्यालाई उजागर गर्ने गरी गोरखापत्र दैनिकले गत वैशाख १८ गते ‘छ लेनको सडक ठप्प’ र यही भदौ २२ गते ‘व्यस्त सडक खुलाउन हुँदैन’ पहल शीर्षकमा समाचार प्रकाशित गरेको थियो ।
काठमाडौँ महानगरपालिका (कामपा)ले सार्वजनिक जग्गा र सडक मिचेर बनेका घर धमाधम भत्काउँदै छ। काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) अवैधानिक संरचना हटाउन आफैँ ठाउँठाउँमा पुग्नुभएको छ। काठमाडौँकै छिमेकी मध्यपुर थिमि नगरपालिकाले त्यस्ता संरचना हटाउन सूचना जारी गरेको छ। यी दुई स्थानीय तहको सीमा तर कामपाको क्षेत्राधिकारमा बनेको एउटा संरचनाका कारण छ लेनको सडक नै पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन। त्यो खुलाउन जिम्मेवार निकायको ध्यान पनि खासै पुगेको छैन।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्ष दुरुपयोग हुने गरेको छ । भनसुन, चिनजानका आधारमा पहुँचवालाबाट विशिष्ट व्यक्तिलाई आमन्त्रण गर्ने र त्यसैको आडमा विशिष्ट कक्ष दुरुपयोग बढेको छ । गत जेठको अन्तिमदेखि भदौ १७ सम्म दुई महिनामा यस्तै दुईवटा घटना सार्वजनिक भएका छन् । यी सार्वजनिक भएका ठूला घटनामात्र हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अधिकारी आफूहरूले सम्हाल्नै गाह्रो हुनेगरी विशिष्ट कक्ष प्रयोगका लागि अनुमति माग भई आउने गरेको बताउँछन् । यस्ता घटनाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा व्यवस्थामाथि नै प्रश्न उठ्ने गरेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले मानव बेचबिखनमा संलग्नमाथि कडा कारबाही गरिने बताउनुभएको छ । मानव बेचबिखनविरुद्धको १६औँ राष्ट्रिय दिवसको सन्दर्भमा आयोजित ‘मानव बेचबिखनविरुद्ध मेरो दलको प्रतिबद्धता’ विषयक अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले मानव बेचबिखन कलङ्क भएको भन्दै यसमा संलग्न जोसुकै भए पनि कानुनी दायरामा ल्याइने बताउनुभयो । प्रधानमन्त्री देउवाले मानव बेचबिखनजस्तो जघन्य अपराधमा संलग्नलाई कानुनी कठघरामा ल्याउन आवश्यक परे सरकार कानुन परिमार्जन गर्नसमेत तयार रहेको बताउनुभयो । उहाँले यस्ता घटना नियन्त्रण गरी अपराधमा संलग्नलाई कानुनी दायरामा ल्याउन कानुन कार्यान्वयन गर्ने निकायलाई निर्देशनसमेत दिनुभयो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसाको आवरणमा हजारौँको सङ्ख्यामा खाडी मुलुक पठाएको घटनामा सङ्गठित गिरोह नै सक्रिय रहेको हुन सक्ने आशङ्का विज्ञहरूले राख्नुभएको छ। भिजिट भिसाको माध्यमबाट अधिकांश किशोरीका कागजपत्र नक्कली भेटिनु र सजिलै खाडी मुलुक पुगिरहेको घटनामा कतिपय म्यानपावर कम्पनी र तिनका दलालमार्फत विमानस्थलका कतिपय कर्मचारीको समेत मिलेमतो रहेको हुन सक्ने भएकाले निष्पक्ष छानबिनको माग गरिएको छ।
पछिल्लो छ महिनामा खाडी मुलुकमा मात्र ५३ हजार ५४ नेपाली भिजिट भिसामा गएका छन्। संयुक्त अरब इमिरेट्स (यूएई)लगायत खाडी मुलुकमा भिजिट भिसामा गएका तीमध्ये अधिकांश फर्किएका छैनन्। अध्यागमन विभागको तथ्याङ्क अनुसार गत फागुन २७ देखि भदौ १० गतेसम्म सबैभन्दा बढी खाडी मुलुक दुबईमा ३९ हजार ६३० जना भिजिट भिसामा गएका छन्। यसैगरी कतार एक हजार ३८६ जना, साउदी अरब एक हजार ८१, ओमन ७९६, कुवेत ५२८ र बहराइन ३०४ जना भिजिट भिसा गएकामध्ये अधिकांश फिर्ता भएका छैनन्।
भिजिट भिसामा दुबई जाने क्रममा शुक्रबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थबाट फर्काइएकी मुगुकी २४ वर्षीय रमिता बस्नेत (नाम परिवर्तन)लाई आफ्नै बैङ्किङ विवरण र खातामा कति रकम छ भन्नेसमेत जानकारी छैन । धादिङकी सुनिता तामाङ र मोरङकी कमला दर्जी (दुवैको नाम परिवर्तन)लाई दुबई पुगेर कहाँ जाने र के गर्ने भन्नेसम्म थाहा छैन । यो केही प्रतिनिधि पात्रको अवस्था मात्र हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसाको आवरणमा खाडी मुलुक जानेक्रममा फर्काइएको घटनाबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र मानव बेचविखन अनुसन्धान ब्युरोले छुट्टाछुट्टै अनुसन्धान सुरु गरेका छन्। बुधबार र बिहीबार मध्यरातमा विभिन्न उडानमार्फत भिजिट भिसामा कुवेत हुँदै दुबई जान लागेका ९२ महिला र ८४ जना पुरुषलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले फिर्ता गराएको थियो। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले भिजिट भिसाको आवरणमा हुन सक्ने मानव तस्करी रोक्न प्रहरीले विमानस्थलबाट फर्काइएको घटनाबारे अनुसन्धान सुरु गरेको बताउनुभयो। उहाँले सो घटनाबारे विस्तृत अनुसन्धानका लागि प्रहरी प्रधान कार्यालयले सीआईबी, मानव बेचविखन अनुसन्धान ब्युरोलाई निर्देशन दिएको जानकारी दिनुभयो।
काठमाडौँ, भदौ ११ गते । भ्रमण प्रवेशाज्ञा (भिजिट भिसा) मा जजिरा विमानबाट कुवेत हुँदै दुबई उड्न लागेकी झापाकी ३१ वर्षीया सम्झना लिम्बू (नाम परिवर्तन) लाई प्रहरीले विमानस्थलबाट फर्कायो । दलालले राहदानी, टिकट बैङ्किङ कागज र दुई सय अमेरिकी डलर हातमा थमाएर बुधबार बिहान साढे तीन बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुर्याएका सम्झनासहित ३९ जना महिला यतिबेला माइती नेपालको संरक्षणमा छन् ।
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरीले थप हतियार सेनामार्फत लिने तयारी गरेको छ। नेपाल प्रहरीसँग रहेका हतियार पर्याप्त नहुने भएकाले सेनासँग सापटी लिने तयारी भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले आवश्यक हतियार नेपाली सेनासँग बालगिरी (काम सकिएपछि फिर्ता गर्ने) सर्तमा साना हतियार लिने तयारी भइरहेको जानकारी दिनुभयो। प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयमार्फत सेनासँग निर्वाचन अवधिभर ४० दिनका लागि हतियार लिन पत्राचार गरेको जनाएको छ। प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार सेनासँग झन्डै दुई हजार पाँच सय साना हतियार मागिएको छ।
आगामी मङ्सिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरीले १५ अर्ब ९६ करोड रुपियाँ माग गरेको छ। देशभरका २२ हजार ५३४ मतदान केन्द्रको सुरक्षाका लागि प्रहरीले ७१ हजार ६९३ सुरक्षाकर्मी परिचालन गर्ने जनाएको छ। यसबाहेक थप सुरक्षाका लागि प्रहरीले एक लाख २० हजार म्यादी प्रहरी भर्ना गर्ने जनाएको छ।