• १४ असोज २०८१, सोमबार

बाढीपहिरोको कहर

१७० जनाको मृत्यु ४२ जना बेपत्ता चार हजारको उद्धार

blog

काठमाडौँ, असोज १४ गते । बिहीबार रातिदेखि परेको अविरल घनघोर वर्षापछिको बाढीपहिरो र डुबानमा परी देशभर १७० जनाको मृत्यु भएको छ । ४२ जना अझै बेपत्ता छन् । १११ जना घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

गृह मन्त्रालयका अनुसार  नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा स्थानीयको संयुक्त प्रयासमा झन्डै चार हजारको सकुशल उद्धार गरिएको छ । मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार काभ्रेपलाञ्चोक, सिन्धुली र ललितपुरबाट १६२ जनाको नेपाली सेनाले हेलिकोप्टरमार्फत उद्धार गरेको छ ।

सबैभन्दा बढी काठमाडौँ उपत्यकामा 

७४ जनाको मृत्यु भएको छ भने २० जना बेपत्ता रहेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता दानबहादुर कार्कीले जानकारी दिनुभयो । काठमाडौँमा मात्र ४७ जनाको मृत्यु तथा छ जना बेपत्ता छन् । यसै गरी भक्तपुरमा पाँच र ललितपुरमा २२ जनाको मृत्यु भएको छ । त्रिभुवन राजमार्ग अन्तर्गत चन्द्रागिरि नगरपालिका–२ र धादिङको धुनीबेँसी–९, झ्याप्लेखोलामा पहिरोले तीन वटा यात्रुवाहक बस पुरिँदा हालसम्म ३५ जनाको शव फेला परेको छ । सोही स्थानमा अझै  बेपत्ता १९ जना छन् । यसै गरी काभ्रेपलाञ्चोकमा हालसम्म २९ जनाको शव फेला परेको छ, १९ जना बेपत्ता छन् । मकवानपुरमा सात जनाको मृत्यु भएको छ ।

कोशी प्रदेशमा हालसम्म १७ जनाको मृत्यु भएको छ भने थप आठ जना बेपत्ता छन् । पाँचथरमा पाँच जनाको मृत्यु र पाँच जना बेपत्ता, सोलुखुम्बुमा पाँच, धनकुटामा तीन जनाको मृत्यु भएको छ । सुनसरी र उदयपुरमा एक/एक जनाको मृत्यु भएको छ । झापामा दुई जनाको मृत्यु भएको र तीन जना बेपत्ता छन् ।  

सिन्धुपाल्चोकमा नौ जनाको मृत्यु र तीन जना बेपत्ता छन् । महोत्तरीमा दुई जनाको मृत्यु  र सर्लाहीमा एक जना बेपत्ता छन् । दोलखामा तीन, नुवाकोट र रामेछापमा एक/एक जनाको मृत्यु भएको छ । रुपन्देहीमा दुई जना बेपत्ता छन् ।

खोज तथा उद्धार जारी 

प्राकृतिक विपत्बाट प्रभावितको खोज तथा उद्धारलाई तदारुकता दिँदै सरकारले नेपाली सेनाको हेलिकोप्टरसहित ठुलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ । सेनाले  देशभरका  विभिन्न १६० स्थानबाट चार हजार पाँच सय जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ । 

नेपाल प्रहरीले सम्पूर्ण जनशक्तिलाई नै देशभर खोज तथा उद्धारमा खटाएको छ । बिदामा रहेका प्रहरीलाई समेत फिर्ता बोलाएर खोज तथा उद्धारमा परिचालन गरिएको प्रवक्ता कार्कीले जानकारी दिनुभयो । सशस्त्रले प्रभावित क्षेत्रमा सात हजार ४३३ जना सुरक्षा फौज परिचालन गरेको छ ।