• २७ वैशाख २०८३, आइतबार

सूचनासँगै विश्वास महत्वपूर्ण

blog

नेपालको पत्रकारिता आज तीव्र परिवर्तन र गहिरिँदो सङ्कटको दोहोरो घेरामा उभिएको छ । सूचना प्रविधिको तीव्र विकास, सामाजिक सञ्जालको व्यापक विस्तार र मोबाइल प्रविधिको सर्वसुलभताले सूचना सङ्कलन तथा प्रसारणलाई अभूतपूर्व रूपमा सहज, तीव्र र व्यापक बनाएको छ । अब सूचना केवल संस्थागत मिडियाको नियन्त्रणमा सीमित छैन; यो नागरिकको हातहातमा पुगेको छ । सूचना प्रवाहको लोकतान्त्रीकरण सकारात्मक उपलब्धि भए पनि यसले पत्रकारिताको परम्परागत संरचना, विश्वसनीयता र उत्तरदायित्वमाथि गम्भीर प्रश्न खडा गरेको छ । नेपाल पत्रकार महासङ्घका अनुसार देशमा नौ हजार ३४० जना क्रियाशील पत्रकार छन्, जसमध्ये एक हजार ७४२ महिला छन् । सङ्ख्यात्मक विस्तार हुँदाहुँदै पनि पत्रकारिताको विश्वसनीयता घट्दै जानु यसको गुणात्मक सङ्कटको स्पष्ट सङ्केत हो । आजको पाठक वा दर्शकका लागि सबैभन्दा ठुलो प्रश्न ‘सूचना होइन, विश्वास’ बनेको छ ।

विसं १९५८ वैशाख २४ गते गोरखापत्रको प्रकाशनसँगै नेपाली पत्रकारिताको संस्थागत इतिहास सुरु भएको हो । सत्य, तथ्य र निष्पक्षतामा आधारित पत्रकारिताले राज्य र नागरिकबिच विश्वासको सेतु निर्माण गरेको थियो । डिजिटल युगमा सूचना प्रवाहको संरचना नै परिवर्तन भएको छ । परम्परागत ‘गेटकिपिङ’ प्रणाली कमजोर बन्दै गएको छ, जहाँ सम्पादकीय छनोट नै अन्तिम सत्य जस्तो मानिन्थ्यो । अहिले एल्गोरिदम र प्रयोगकर्ताको व्यवहारले सूचना प्रवाह निर्धारण गर्छ ।

प्रविधिभन्दा गहिरो समस्या

पत्रकारिताको वर्तमान सङ्कट केवल प्रविधिको परिणाम होइन; यो संरचनागत समस्या पनि हो । नेपालको अधिकांश मिडिया आर्थिक रूपमा कमजोर छन् । विज्ञापनमा अत्यधिक निर्भरता, सीमित बजार र राजनीतिक–व्यापारिक स्वामित्व संरचनाले सम्पादकीय स्वतन्त्रता प्रभावित बनाएको छ । यस्तो अवस्थामा निष्पक्ष पत्रकारिता कायम राख्नु चुनौतीपूर्ण हुन्छ । ‘पेड न्युज’, ‘एजेन्डा–ड्रिभन रिपोर्टिङ’ र ‘पोलिटिकल अलाइनमेन्ट’ जस्ता प्रवृत्तिले पत्रकारिताको विश्वसनीयतामा गम्भीर क्षति पु¥याएका छन् । पत्रकारिता पेसाभन्दा ‘उपकरण’ बन्न थालेको आरोप बढ्नु पनि यही संरचनागत कमजोरीको परिणाम हो । ग्रामीण पत्रकारिताको अवस्था झन् चुनौतीपूर्ण छ । न्यून स्रोत, अपर्याप्त तालिम र जोखिमपूर्ण कार्यपरिस्थितिका कारण त्यहाँको पत्रकारिता कमजोर बनेको छ । यसले सूचना असमानता बढाएको छ, जहाँ सहरी र ग्रामीण सूचना पहुँचबिच ठुलो अन्तर देखिन्छ ।

डिजिटल प्लेटफर्म र नयाँ शक्ति संरचना

डिजिटल माध्यमले सूचना प्रवाहको शक्ति सन्तुलन नै बदलिदिएको छ । फेसबुक, युट्युब र टिकटक जस्ता प्लेटफर्म अब केवल सामाजिक सञ्जाल होइनन्; ती ‘मिडिया इकोसिस्टम’ का प्रमुख खेलाडी बनेका छन् । यिनको सञ्चालन व्यावसायिक एल्गोरिदमले हुन्छ, जसको प्राथमिकता ‘इन्गेजमेन्ट’ हो, ‘सत्य’ होइन । यसले ‘अटेन्सन इकोनोमी’ को विकास गरेको छ, जहाँ सनसनी, विवाद र भावनात्मक सामग्रीले प्राथमिकता पाउँछ । परिणामतः अनुसन्धानात्मक, सन्तुलित र गम्भीर पत्रकारिता ओझेलमा पर्न थालेको छ । डिजिटल प्लेटफर्मले विज्ञापन बजार कब्जा गर्दा परम्परागत मिडियाको आर्थिक आधार पनि कमजोर बन्दै गएको छ ।

अवसर र असन्तुलन

डिजिटल युगमा हुर्किएको ‘जेनजी’ पुस्ता सूचना उपभोक्ता मात्र होइन, उत्पादक पनि हो । नेपालमा करिब एक करोड ७३ लाख फेसबुक प्रयोगकर्तामध्ये ६७ प्रतिशत १८–३४ वर्षका हुनु यसको स्पष्ट प्रमाण हो । उनीहरूले डिजिटल प्लेटफर्ममार्फत जनमत निर्माण, दबाब सिर्जना र वैकल्पिक सूचना प्रवाहमा उल्लेखनीय भूमिका खेलिरहेका छन् । २०८२ को जेनजी आन्दोलनले छोटो समयमै व्यापक परिचालन र प्रभाव देखाउँदै डिजिटल नागरिक शक्तिको नयाँ स्वरूप प्रस्तुत ग¥यो । यससँगै जोखिम पनि बढेको छ । ‘भिडको सत्य’ र ‘तथ्यको सत्य’ बिचको द्वन्द्व तीव्र बन्दै गएको छ । सामाजिक सञ्जालमा ट्रेन्ड हुने कुरा सधैँ सत्य नहुन सक्छ । यही सन्दर्भमा नयाँ पुस्ता र फेक न्युजबिचको सम्बन्ध झन् जटिल बन्छ । उनीहरू ‘माइक्रो मिडिया’ का रूपमा सामग्री निर्माण र प्रसारणमा सक्रिय हुँदा अप्रमाणित सूचनाको प्रसार पनि तीव्र हुन्छ । टिकटक, फेसबुक र युट्युबमार्फत उनीहरूले सार्वजनिक बहसलाई प्रभावित पार्ने क्षमता राख्छन् तर यही गतिशीलताले गलत सूचना फैलाउने जोखिम पनि बढाउँछ ।

नयाँ पुस्ताको सूचना उपभोग शैली छिटो, छोटो र दृश्यकेन्द्रित छ । ‘हेडलाइन र रिल’ आधारित बुझाइले गहिरो विश्लेषणभन्दा तत्काल प्रतिक्रिया प्राथमिकता दिन्छ । यसले ‘पहिले सेयर, पछि सोच’ भन्ने प्रवृत्तिलाई बढावा दिएको छ । परिणामतः आंशिक वा अप्रमाणित सामग्री व्यापक रूपमा फैलिन पुग्छन् । सामाजिक सञ्जालका एल्गोरिदमले यसलाई अझ तीव्र बनाउँछन् । विवादास्पद र भावनात्मक सामग्रीले बढी दृश्यता पाउँदा ‘भाइरल संस्कृति’ ले सत्यको मापनलाई ‘लोकप्रियता’ सँग जोडिदिन्छ । नयाँ पुस्तालाई केवल समस्याका रूपमा चित्रण गर्नु एकपक्षीय हुन्छ । उचित डिजिटल साक्षरता, तथ्य–पुष्टि सिप र जिम्मेवार व्यवहार विकास गराउन सकियो भने उनीहरू नै ‘फेक न्युज’ विरुद्धको सबल शक्ति बन्न सक्छन् ।

एआई र सूचना सङ्कट 

डिजिटल युगमा सूचना प्रवाह तीव्र भएको छ तर यही तीव्रतासँगै सत्य र असत्य छुट्याउने क्षमता कमजोर हुँदै गएको छ । ‘फेक न्युज’, ‘मिसइन्फर्मेसन’ (अप्रमाणित वा गलत सूचना) र ‘डिसइन्फर्मेसन’ (जानाजानी फैलाइएको गलत सूचना) अब केवल सञ्चारको समस्या नभई सामाजिक, राजनीतिक र मनोवैज्ञानिक सङ्कटका रूपमा देखिन थालेका छन् । पहिले समाचार माध्यम सीमित र संस्थागत भएकाले सूचना केही हदसम्म सम्पादन, तथ्य जाँच र जिम्मेवारीभित्र रहन्थ्यो । सामाजिक सञ्जालको विस्तारसँगै प्रत्येक व्यक्ति सूचनाको उत्पादक र वितरक बनेको छ । यसले लोकतान्त्रीकरण त ल्यायो तर नियन्त्रणविहीन सूचना प्रवाहको समस्या पनि बढायो । अब कुनै पनि अप्रमाणित पोस्ट, भिडियो वा दाबी केही मिनेटमै हजारौँ प्रयोगकर्तासम्म पुग्न सक्छ, चाहे त्यो सत्य होस् वा नहोस् ।

कृत्रिम बुद्धिमत्ता (एआई) र विशेष गरी ‘डिपफेक’ प्रविधिले यो समस्या अझ गहिरो बनाएको छ । पहिले गलत सूचना पाठ वा तस्बिरमा सीमित हुन्थ्यो तर अब आवाज, भिडियो र वास्तविक व्यक्ति जस्तै देखिने सामग्री सजिलै बनाउन सकिन्छ । यसले ‘देखिएको कुरा नै सत्य हो’ भन्ने विश्वासलाई कमजोर बनाएको छ । अब मानिसले आफ्नै आँखा र कानमाथि समेत शङ्का गर्नुपर्ने अवस्था आएको छ, जुन सूचना सङ्कटको खतरनाक चरण हो । यसैबिच ‘इको चेम्बर’ प्रभावले समाजमा गहिरो असर पारेको छ । सामाजिक सञ्जालका एल्गोरिदमले प्रयोगकर्तालाई उसकै रुचि र विश्वाससँग मिल्ने सामग्री बढी देखाउँछन् । यसले फरक विचारसँगको सम्पर्क घटाउँछ र आफ्नै विचारलाई ‘सत्य’ मान्ने प्रवृत्ति बलियो बनाउँछ । परिणामस्वरूप समाज विचारगत रूपमा ध्रुवीकृत बन्दै जान्छ र सार्वजनिक बहस संवादभन्दा टकराबमा परिणत हुन्छ ।

यसको दीर्घकालीन प्रभाव लोकतान्त्रिक प्रणालीमा पनि देखिन्छ । सूचनामा आधारित निर्णय प्रक्रिया कमजोर हुँदा जनमत भावनात्मक र अपुष्ट सूचनाबाट प्रभावित हुन थाल्छ । राजनीति मात्र होइन, स्वास्थ्य, शिक्षा र अर्थतन्त्र जस्ता क्षेत्र पनि प्रभावित भइरहेका छन् । गलत स्वास्थ्य जानकारीले जनस्वास्थ्यमा गम्भीर असर पार्न सक्छ भने आर्थिक हल्लाले बजार अस्थिर बनाउन सक्छ । सूचना सङ्कटको अर्को गम्भीर पक्ष विश्वासको क्षय हो । जब सही सूचना पहिचान गर्न गाह्रो हुन्छ, तब मानिसहरू मिडिया, सरकार र विज्ञमाथिको विश्वास गुमाउन थाल्छन् । अन्ततः ‘सबै झुटो हो’ भन्ने दृष्टिकोण विकास हुन्छ, जुन सामाजिक स्थिरताका लागि जोखिमपूर्ण हो ।

यस समस्याको समाधान केवल प्रविधिमा होइन, सूचना साक्षरतामा पनि छ । नागरिकमा आलोचनात्मक सोच, तथ्य–जाँच गर्ने सिप र स्रोतको विश्वसनीयता मूल्याङ्कन गर्ने क्षमता विकास गर्नु पर्छ । मिडियाले उच्च मापदण्ड, पारदर्शिता र तथ्य–आधारित रिपोर्टिङलाई प्राथमिकता दिनु पर्छ । एआईको प्रयोग बढ्दै जाँदा यसको नियमन, जिम्मेवार उपयोग र नैतिक ढाँचा पनि आवश्यक हुन्छ । ‘फेक न्युज’ र एआई–जनित सूचना सङ्कट केवल प्रविधिको समस्या होइन, यो समाजको सोच, व्यवहार र विश्वाससँग जोडिएको बहुआयामिक चुनौती हो । समयमै सचेत नभए सूचना नै भ्रमको प्रमुख स्रोत बन्न सक्छ ।

पुनर्निर्माणको स्पष्ट खाका

पत्रकारिताको विश्वसनीयता पुनस्र्थापना गर्न बहुआयामिक प्रयास आवश्यक छ । पहिलो, पत्रकारिताले आफ्ना आधारभूत मूल्य सत्य, सन्तुलन र विश्वसनीयतालाई पुनः स्थापित गर्नु पर्छ । ‘पहिले सही, पछि छिटो’ भन्ने संस्कार विकास गर्नु पर्छ । दोस्रो, आर्थिक मोडेल पुनर्विचार गर्नु पर्छ । सदस्यता–आधारित, पाठक–समर्थित तथा गैरनाफामूलक मोडेल अपनाउन सकिन्छ । तेस्रो, डिजिटल सिप र तथ्य–पुष्टि प्रणाली सुदृढ बनाउनु पर्छ । डेटा पत्रकारिता र एआई–सहयोगी सत्यापन उपकरणको प्रयोग बढाउन आवश्यक छ । चौथो, नियामक निकायले सन्तुलित भूमिका निर्वाह गर्नु पर्छ । आचारसंहिता कडाइका साथ लागु गर्दै अभिव्यक्ति स्वतन्त्रता सुरक्षित राख्दै । पाँचौँ, मिडिया साक्षरता अत्यावश्यक छ । नागरिकले सूचना मूल्याङ्कन गर्न सक्ने क्षमता विकास नगरेसम्म गलत सूचना नियन्त्रण सम्भव हुँदैन ।

प्रतिस्पर्धा होइन, सहअस्तित्व

नेपालको पत्रकारिता सङ्क्रमणकालमा छ । परम्परागत मिडियाको विश्वसनीयता सङ्कट र डिजिटल माध्यमको उदीयमान ऊर्जा । यी दुईबिच प्रतिस्पर्धा होइन, सहकार्य आवश्यक छ । परम्परागत पत्रकारिताले आफ्नो विश्वसनीयता र अनुभवलाई कायम राख्दै डिजिटल प्रविधि अँगाल्नु पर्छ । डिजिटल माध्यमले दिएको स्वतन्त्रता जिम्मेवारीसँग जोडिनु पर्छ । पत्रकारिता केवल सूचना दिने पेसा होइन; यो समाजको बौद्धिक दिशा निर्धारण गर्ने संस्था हो । यसको विश्वसनीयता कमजोर भयो भने लोकतन्त्रको आधार नै कमजोर हुन्छ । आजको आवश्यकता स्पष्ट छ– प्रविधिसँग होइन, मूल्यसँग पुनर्संलग्नता । सत्य, सन्तुलन र विश्वसनीयताको पुनस्र्थापनामार्फत मात्र नेपाली पत्रकारिताले डिजिटल युगलाई अवसरमा रूपान्तरण गर्न सक्छ ।  

लेखक बाट थप