• ८ माघ २०८१, मङ्गलबार

असावधानीले चिसोमा जान्छ ज्यान

blog

काठमाडौँ, पुस ५ गते । वीरेन्द्रनगर–४, भैरवस्थानको समावेशी टोलमा घरभित्र सुतिरहेका आमाछोराको निसास्सिएर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायव उपरीक्षक वीरेन्द्रनरवीर विश्वकर्माका अनुसार बुधबार राति घरभित्र कोइला बालेर सुत्नुभएका देवीसरा थापा र उहाँका छोरा छ वर्षीय रियान थापाको मृत्यु भएको हो । देवीसराका नौ वर्षीया छोरी रिया थापाको कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको विश्वकर्माले जानकारी दिनुभयो । प्रहरीले तिनै जनालाई अस्पताल पु¥याएकोमा चिकित्सकले आमा र छोरालाई मृत घोषणा गरेका थिए ।

चिसो बढेसँगै कोठा तताउन झ्याल ढोका थुनेर आगो, कोइला वा हिटर बालेर सुत्दा यस्ता घटना बर्सेनि दोहोरिने गरेका छन् । गत वर्ष पुस ९ गते काभ्रेपलाञ्चोकको नमोबुद्ध–१ का पूर्ववडाध्यक्ष कर्मग्याल्बो लामाको पनि यसै गरी निसास्सिएर मृत्यु भएको थियो । चिसोबाट बच्न कोठाभित्र हिटर र आगो बालेर सुत्नुभएका लामा र उहाँकी पत्नी असनीमाया लामा बेहोस फेला परेपछि उद्धार गरी धुलिखेल अस्पताल पु¥याइए पनि कर्मग्याल्बोको ज्यान बचेन । 

विसं २०७६ माघ ९ गते मकवानपुरको दामनस्थित पानोरोमा रिसोर्टमा सुतेका आठ जना भारतीय पर्यटकको ज्यान गयो । रिसोर्टमा हिटर बालेर सुतेका भारत केरलाका रन्जित कप, इन्द्र कप, प्रवीण, सरिया, अभी, अर्चना, बैसनव बन्द्राको बेहोस अवस्थामा हेलिकोप्टरबाट काठमाडौँको ह्याम्स् अस्पताल ल्याई उपचार गरे पनि ज्यान बचेन ।

त्यसको एक हप्तापछि ललितपुरको तिखेदेवलस्थित फिट एन्ड फाइन एरोबिक फिट्नेसको बाथरुममा नुहाउने क्रममा हस्त गर्बुजा मगर र उहाँकी पत्नी नेत्रकुमारीको निसास्सिएर मृत्यु भयो । पानी तताउन ग्यास गिजर बाल्दा दुवै जनाको मृत्यु भएको खुल्यो । यी केही घटना मात्र हुन् । चिसोबाट बच्न घर वा कोठाभित्र आगो बाल्ने र हिटर बालेर सुत्दा निसास्सिएर बर्सेनि कैयौँ व्यक्तिको ज्यान जाने गरेको छ । बालबालिकालगायत वृद्धवृद्धालाई चिसोबाट जोगाउन कोठाभित्र आगो वा हिटर बाल्ने र झ्यालढोका थुनेर सुत्दा ‘कार्बन प्वाइजनिङ’ सँगै अक्सिजनको कमी हुने गरेका कारण अनायासै मृत्युका घटना दोहोरिँदै गएका छन् । प्रहरी प्रधान कार्यालयको तथ्याङ्क अनुसार हरेक वर्ष यस्ता घटना वृद्धि हुँदै गएका छन् । पछिल्ला पाँच वर्षमा मात्र यस्ता घटनाबाट ३९ जनाको मृत्यु भएको छ । 

प्रहरीको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७६/७७ मा १३ जनाको मृत्यु भएको छ । आर्थिक वर्ष २०७७/७८ मा चार जना र आर्थिक वर्ष २०७८/७९ मा १८ जनाको मृत्यु भएको छ । त्यस्तै आर्थिक वर्ष २०७९/८० मा चार जना र आर्थिक वर्ष २०८०/८१ मा पाँच जनाको मृत्यु भएको छ । त्यसै गरी यस अवधिमा निसास्सिएर पाँच जना गम्भीर घाइते भएका छन् ।  नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता विश्व अधिकारीले चिसोबाट बच्न कोठाभित्र दाउरा, कोइला वा हिटर बाल्ने तर सावधानी नअपनाउने कारण बर्सेनि कैयौँ मानिसको अकालमा ज्यान जाने गरेको बताउनुभयो । अधिकारीका अनुसार नेपाल प्रहरीले समुदाय स्तरमा यसबारे जनचेतना पु¥याउने गरेको छ तर प्रहरीका विभिन्न माध्यमबाट भइरहेका जनचेतनाका प्रयास मात्र पर्याप्त देखिन्न । 

अधिकारी भन्नुहुन्छ, “जाडोबाट बच्न घर वा कोठाभित्र दाउरा, कोइला वा हिटर बाल्दा त्यसबाट निस्कने ‘कार्बन मोनोअक्साइड’ का कारण अक्सिजनको कमी भई निसास्सिएर मानिसको मृत्यु हुने गरेको छ ।” बालबालिका र वृद्धवृद्धामा श्वास प्रश्वास क्षमता कमजोर हुने भएकाले सकभर कोठाभित्र दाउरा, कोइला वा हिटर नबाल्न र बाल्नै परे धुवाँ बाहिर निस्कने गरी संरचना बनाउनुपर्ने गरी व्यापक जनचेतना आवश्यक रहेको अधिकारी बताउनुहुन्छ । जाडो बढेसँगै ग्यास तथा हिटरको प्रयोगमा वृद्धि भइरहेको छ । चिसोबाट बच्न घरभित्र आगो बालेर छाड्ने गरेका कारण प्रत्येक वर्ष आगलागीका घटना वृद्धि हुने गरेका छन् । 

यस्ता घटना दोहोरिन नदिन सरकारका विभिन्न सञ्चार माध्यमबाट जनचेतनामूलक सामग्री प्रसारण गरी रोकथामको प्रयास गरिरहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकी बताउनुहुन्छ । स्थानीय स्तरमा स्वास्थ्य स्वयंसेविकामार्फत र राष्ट्रिय आपत्कालीन कार्यक्रम अन्तर्गत विभिन्न चेतनामूलक कार्यक्रम सञ्चालन गरिएको बताउँदै बुढाथोकी भन्नुहुन्छ, “चिसोबाट बच्न आगो बाल्दा के के सावधानी अपनाउने भन्नेबारे विभिन्न सञ्जालमार्फत सन्देश जारी गर्ने गरेका छौँ, यसलाई गम्भीर रूपमा लिएर सावधानी अपनाउन नसक्दा घटना दोहोरिने गरेका छन् ।” कोठा तातो पार्न आगो बाल्ने विपन्न परिवार मात्र नभई बाथरुममा तातोपानीका लागि ग्यास गिजर बाली झ्यालढोका थुनेर नुहाउँदा निसास्सिएका घटना जनचेतनाको कमीले मात्र नभई असावधानीका कारण पनि हुने गरेको बुढाथोकी बताउनुहुन्छ ।