दस महिनापछि आइतबारदेखि मेलम्चीको पानी पुनः घर–घरमा वितरण सुरु हुँदै छ । गत २०७८ साल असार १ र १७ गतेको बाढीले मेलम्ची खानेपानी आयोजनालाई क्षतिग्रस्त तुल्याएपछि उपत्यकाका बासिन्दाले मेलम्चीको पानी उपभोग गर्न पाएका थिएनन् । गत वर्ष आयोजना सञ्चालन भएको केही समयमै बाढीले क्षति पु-याएको थियो ।
मेलम्ची खानेपानी आयोजनाको पानी सोमबार सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा आइपुगेको छ । मेलम्चीको मुहानबाट सुरुङमा प्रतिसेकेन्ड औसत २७५ लिटर छाडेको पानी ६ दिनपछि सुन्दरीजल आइपुगेको हो । अब उक्त पानी सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा केही दिन सञ्चय गरिने छ र प्रशोधनपछि धारामा पठाइने छ ।