• २५ वैशाख २०८१, मङ्गलबार

प्रेमिकाको भिडियो ‘पोर्न’ साइटमा राख्दा...

blog

काठमाडौँ, साउन १७ गते ।  प्रेमीप्रेमिकाबिच मायापिरतीका संवाद र अन्तरङ्ग साटासाट गर्दाको संवादका कतिपय पल सुखद मात्र रहँदैनन्, सम्बन्ध बिग्रियो भने पीडादायी र भयावह हुन सक्छन् । त्यसको उदाहरण प्रकाश र रस्मिला (नाम परिवर्तन) को सम्बन्ध बनेको छ । घटना अनुसार म्याग्दी साबिक अर्मन गाविस–२ का २७ वर्षीय प्रकाश विक र म्याग्दीकै २३ वर्षीय रस्मिलाबिच नेपालमा हुँदा बसेको प्रेम दुई फरक देशमा पुगेपछि थप प्रगाढ बन्छ ।

उच्च शिक्षाका लागि जापानमा पुगेकी रस्मिला र वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका प्रकाशबिचको इन्टरनेट फोनमा हुने कुराकानी अक्सर नग्न अवस्थामै हुन थाल्छ । प्रकाशले रस्मिलाका नग्न तस्बिर र भिडियो झुक्याएर मोबाइलमा सुरक्षित राख्छन् । 

जापानमा रहेकी रस्मिला अध्ययन र विदेशको रहनसहनमा बिस्तारै घुलमिल हुँदै जान्छिन् र प्रकाशसँगको कुराकानी बिस्तारै कम हुँदै जान्छ । प्रकाशले यसलाई अनेक शङ्कामा रस्मिला र परिवारलाई पनि पठाई तिनै भिडियोलाई प्रतिशोधका रूपमा प्रयोग गर्न थाल्छन् । त्यतिले मात्र नपुगी अश्लील भिडियो पोर्न साइटमा राख्छन् । 

सामाजिक सञ्जालको म्यासेजमा आउने नग्न भिडियो पोर्न साइटमै आएपछि रस्मिला र परिवारै छाँगाबाटै खसेजस्तै बन्छन् । उच्च शिक्षाका लागि झन्डै एक वर्षअघि जापान पुगेकी रस्मिलाको अध्ययनको लक्ष्य आफ्नै नग्न तस्बिरले धुमिल बनाउँछ । परिवार, आफन्त र शुभचिन्तकलाई यो घटनाले सामाजिक प्रतिष्ठा र इज्जतमा पु-याएको आधातको लेखाजोखा नै छैन ।  

‘नेपाली युवतीको जापान काण्ड’ नाममा पोर्न साइटमा अपलोड गरिएका नग्न भिडियो नेपाल प्रहरीको साइबर ब्युरोको सक्रियताले थप छरपस्ट भने हुन पाएन । प्रेमिकालाई झुक्याएर विभिन्न बहानामा नग्न हुन बाध्य बनाई रेकर्ड गरेका नग्न भिडियो, फोटा सामाजिक सञ्जाल र पोर्न साइटमा अपलोड उनै प्रकाश विकलाई नेपाल प्रहरीले ‘रेड कर्नर नोटिस’ जारी गरी नेपाल ल्याई कानुनी कारबाही अघि बढाएको छ । पीडित रस्मिलाका परिवारले साइबर ब्युरोमा उजुरी दिएको छ महिनापछि विकलाई मलेसिया प्रहरीको सहयोगमा शुक्रबार नेपाल ल्याइएको हो । 

साइबर ब्युरोका प्रहरी उपरीक्षक पशुपतिकुमार रायले अभियुक्त प्रकाश विक वैदेशिक रोजगारीमा मलेसिया रहेको सूचनापछि प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले २०७८ माघ २४ रेड कर्नर नोटिस जारी भएको जानकारी दिनुभयो । प्रहरी उपरीक्षक रायले इन्टरपोल सचिवालयमा उजुरी दर्ता भएपछि मलेसिया प्रहरीको सहयोगमा अभियुक्तलाई कानुनी दायरामा ल्याएको बताउनुभयो । 

रायका अनुसार अभियुक्त विकले पीडितले रस्मिलाले आफ्नो फेसबुक एकाउन्ट डिएक्टिभ गरेपछि रस्मिलाकै नाममा अर्को नक्कली फेसबुक अकाउन्ट खोली नग्न तस्बिर र भिडियो पोस्ट गरेका थिए । साथै ती नग्न भिडियोलाई पोर्न साइटमा समेत अपलोड गरी गम्भीर चरित्र हत्या गरेको आरोपमा ब्युरोले विकलाई मलेसियाबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याएर नियन्त्रणमा लिएको हो ।