पछिल्लो समयमा विश्वभर देखा परेको आर्थिक सङ्कटका कारण नेपालमा प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता झन्डै आधाले घटेको छ । चालू आर्थिक वर्षको सात महिनामा प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता ४० प्रतिशतले घटेको हो ।
चालू आर्थिक वर्षको पहिलो छ महिनाको अवधिमा डिजेल खपत २७ प्रतिशतले घटेको छ । चालू आर्थिक वर्षको साउनदेखि माघ १५ गतेसम्म डिजेल खपत २७ प्रतिशतले कमी आएको हो । इन्धनको मूल्य वृद्धि, विकास निर्माणको काम ठप्प हुनु, भारतमा भन्दा नेपालमा डिजेल मूल्य महँगो पर्नुजस्ता कारणले डिजेल खपत घटेकाले आयातसमेत कम भएको छ ।
जेट अभावले अन्तरदेशीय पाइपलाइन विस्तारको काम अगाडि बढ्न सकेको छैन । इन्धनको आपूर्ति व्यवस्था सहज पार्न चालू आर्थिक वर्षको बजेटमा भारतको सिलिगुडीदेखि झापाको चारआलीसम्म र बाराको अमलेखञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तार गर्ने भनिए पनि बजेट अभावले काम सुरु हुन नसकेको हो ।
सन् २०२६ भित्र १० अर्ब रुपियाँ बराबरको पस्मिनाजन्य वस्तु निर्यात गर्ने उद्देश्यसहित सरकारले राष्ट्रिय रणनीति तयार गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले युरोपियन युनियनको आर्थिक सहयोग र अन्तर्राष्ट्रिय व्यापार केन्द्रको प्राविधिक सहयोगमा ‘पस्मिना क्षेत्र निर्यात राष्ट्रिय रणनीति २०७९’ तयार गरेको हो ।
आर्थिक वर्षको आधा समय बित्दा अर्थतन्त्रका मुख्य सूचक सुधारोन्मुख देखिन थालेका छन् । नेपाल राष्ट्र बैङ्कले सोमबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको छ महिनाको आर्थिक स्थितिसम्बन्धी प्रतिवेदनले विप्रेषण आप्रवाह, शोधनान्तर स्थिति र कुल विदेशी विनिमय सञ्चितिमा सुधार आएको देखाएको हो ।
बजारमा चामलको मूल्य प्रतिबोरामा दुई सयदेखि पाँच सय रुपियाँसम्म बढेपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा चामल किन्ने ग्राहकको भीड लाग्न थालेको छ । पछिल्लो समय बजारमा निजी व्यवसायीले चामलको मूल्य बढाएपछि सस्तो मूल्यमा खरिद गर्ने ग्राहक बढ्दै गएका हुन् । अन्य समयमा फाट्टफुट्ट ग्राहक जाने गरेकामा अहिले कम्पनीको प्रादेशिक कार्यालय थापाथलीबाट सस्तोमा चामल खरिद गर्न बिहानदेखि बेलुकासम्म ग्राहकको भीड लाग्ने गरेको कम्पनीले जनाएको छ । बजार मूल्यभन्दा कम्पनीले वितरण गर्ने चामल प्रतिकेजीमा सातदेखि १४ रुपियाँ सस्तो रहेको छ ।
कृषि सामग्री कम्पनी लिमिटेडले आगामी धान बालीका लागि आवश्यक पर्ने रासायनिक मल खरिद गर्न थप सात अर्ब ७५ करोड रुपियाँ माग गरेको छ । धान बालीमा मलको आपूर्ति सहज बनाउन ९० हजार मेट्रिक टन रासायनिक मल खरिद गर्न सात अर्ब ७५ करोड रुपियाँ बजेट माग गरेको हो । कम्पनीले कृषि तथा पशुपन्छी विकास मन्त्रालयमार्फत अर्थ मन्त्रालयमा रकमको स्रोत सुनिश्चत गर्न पत्राचार गरेको हो । कम्पनीका निमित्त प्रबन्धक राजेन्द्र कार्कीले हिउँदे बालीका लागि मल पर्याप्त भए पनि धान बालीका लागि अभाव हुने भएकाले मल आयात गर्न उक्त रकम माग गरिएको जानकारी दिनुभयो ।
निर्यातयोग्य वस्तुका रूपमा रहेको स्वदेशी चियाको उत्पादन र बजारीकरण गर्न राष्ट्रिय चिया रणनीति तयार गर्न लागिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र राष्ट्रिय चिया तथा कफी विकास बोर्डले संयुक्त रूपमा चियाको राष्ट्रिय रणनीति बनाउन लागेका हुन् । चियाको उत्पादन वृद्धि गरी अन्तर्राष्ट्रिय बजारमा निर्यात प्रवद्र्धन गर्ने गरी रणनीति बनाउन लागिएको हो ।
दूध उत्पादनको सिजनमै बजारमा अभाव देखिन थालेको छ । बजारमा माग बढ्दै गए पनि सोअनुसार उत्पादन नहुँदा सहर बजार क्षेत्रमा दूधको अभाव भएको हो । कोभिड–१९ का बेला बिक्री नभएर खेर गएपछि उत्पादन घटेकाले अहिले दूधको अभाव हुन थालेको हो । उत्पादनमा कमी आउनुका साथै ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध उच्च माग भएको सहरसम्म ल्याउन नसक्दा अभाव देखिएको हो ।
कच्चा पदार्थ अभावले मुलुकभरका ६० प्रतिशत मैदा मिल बन्द भएका छन् । भारतले गहुँको निर्यातमा रोक लगाएपछि अभाव भई मैदा मिल बन्द भएका हुन् । मुलुकभर ३८ वटा मैदा मिल रहेकामा हाल ४० प्रतिशत सञ्चालनमा रहेका र बाँकी पूर्ण रूपमा बन्द भएको मैदा उद्योग सङ्घले जनाएको छ । विगत आठ महिनादेखि गहुँको आयात रोकिँदा कच्चा पदार्थ अभाव भई मैदा मिल बन्द भएका हुन् ।
चालू आर्थिक वर्षको मध्यसम्ममा चामल आयात आधाले घटेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको पहिलो छ महिना (साउन–पुस)सम्ममा आठ अर्ब ८९ करोड ९२ लाख ६९ हजार रुपियाँको चामल आयात भएको छ । गत वर्ष सो अवधिमा १७ अर्ब ६० करोड ६८ लाख एक हजार रुपियाँको चामल आयात भएको थियो ।
नेपालले वैदेशिक व्यापार गरिरहेका १४८ मुलुकमध्ये २९ सँग व्यापार नाफामा रहेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको छ महिनासम्म नाफामा रहेका २९ देशमा नेपालबाट १० अर्ब ११ करोड १७ लाख २४ हजार रुपियाँ बराबरको वस्तु निर्यात भएको छ । सो अवधिमा ती मुलुकबाट नौ अर्ब २८ करोड २५ लाख ७७ हजार रुपियाँको सामान आयात भएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले विभिन्न प्रकारका खाद्यान्नमा मापदण्ड तयार गरेको छ । चामल, कुखुराका दाना र रोल्ड ओट्सको मापदण्ड तयार गरी स्वीकृतका लागि मन्त्रिपरिषद्मा पेस गर्न लागेको हो । विभाग वरिष्ठ खाद्य अनुसन्धान अधिकृत एवं प्रवक्ता मोहनकृष्ण श्रेष्ठले स्तरोन्नति गरिएको चामल, कुखुराको दाना र रोल्ड ओट्सको गुणस्तर तयार गरेर स्वीकृतका लागि मन्त्रिपरिषद्मा पेस गर्न लागेको उहाँले जानकारी दिनुभयो ।
नेपाल र भारत सरकारबीच भएको सम्झौता (जीटुजी)अनुसारको सात हजार पाँच सय टन रासायनिक मल भित्रिएको छ । पहिलो चरणमा ३० हजार टनमध्येको मङ्गलबारसम्म सात हजार पाँच टन युरिया भित्रिएको कृषि सामग्री कम्पनी लिमिटेडले जनाएको छ । जीटुजीमार्फत पहिलो वर्षमा एक लाख ५० हजार टन मल ल्याउने समझदारी भएकोमा पहिलो चरणमा ३० हजार टन ल्याउन लागिएको हो ।
काठमाडौँको चोभारमा रहेको ‘चोभार सुक्खा बन्दरगाह’मा पार्किङ र गोदाम स्थल बनाउन लागिएको छ । व्यापार सहजीकरण