• ११ असोज २०८१, शुक्रबार

दोब्बर बढ्यो चीनतर्फको निर्यात

blog

काठमाडौँ, साउन ३१ गते  । गत आर्थिक वर्षमा चीनमा निर्यात व्यापार दोब्बरले बढेको छ ।  कोभिडपछि सुस्त रहेको व्यापार गत आवमा आएर पौने दुई अर्ब रुपियाँको निर्यात भएको हो । चीन सरकारले नेपालतर्फबाट जाने सामान निर्यातका लागि बनाएको प्रोटोकल सजिलो बनाएकाले पनि निर्यातमा उल्लेख्य वृद्धि भएको हो । 

भन्सार विभागको तथ्याङ्क अनुसार आव २०७९/८० चीनमा एक अर्ब ७६ करोड ५७ लाख ८६ हजार रुपियाँको सामान निर्यात भएको छ । 

अघिल्लो आव २०७८/८० मा ८० करोड ८७ लाख ५४ हजार रुपियाँको सामान निर्यात भएको थियो । कोभिडको प्रभाव कम हुँदै गएको र चीनले नेपालको व्यापार सहज गरेकाले पनि निर्यातमा वृद्धि भएको हो । व्यापारविज्ञ रविशङ्कर सैँजूले चीनमा व्यापार बढ्नु सकारात्मक भएको बताउनुभयो । 

कोभिडका कारण अघिल्लो वर्ष निर्यात न्यून थियो, गत वर्ष चीन सरकारले स्वदेशी सामान निर्यातमा लगाउँदै आएको प्रोटोकल लुज गरेकाले निर्यात बढ्न गएको हो । भारतपछिको ठुलो बजार चीन भएकाले स्वदेशी वस्तुको निर्यात बढाउने पर्याप्त सम्भावना भएकाले निर्यात बढाउनेतर्फ  सरकारले विशेष ध्यान दिनुपर्ने उहाँको भनाइ छ । 

“चीनकै अरू प्रान्तबाट सामान ल्याउनभन्दा नेपालबाट सामान लैजान नजिक पर्ने हुँदा लागत कम हुन्छ,” उहाँले भन्नुभयो, “क्वारेन्टाइनका मापदण्ड पूरा गर्न नसक्दा, अर्गानिक उत्पादनसँगै अन्य पूर्वाधार निर्माण गर्न नसक्दा निर्यातमा समस्या छ ।”  

विभागका अनुसार आव २०७७/७८ मा एक अर्ब एक करोड रुपियाँ बराबरको सामान निर्यात भएको थियो । यस्तै आव २०७५/७६ मा नेपालबाट दुई अर्ब सात करोड रुपियाँको सामान निर्यात भएको तथ्याङ्क छ । 

चीन नेपालको वैदेशिक व्यापारको दोस्रो साझेदार मुलुक हो । चीनतर्फ निर्यात न्यून रहे पनि आयात भने उच्च परिणाममा हुने गरेको छ । आयात बढ्दै गए पनि सो अनुपातमा निर्यात नहुँदा व्यापार घाटा बढ्दै गएको छ । 

आव २०७९/८० चीनबाट दुई खर्ब २२ अर्ब ७१ करोड ५९ लाख रुपियाँको सामान आयात भएको छ । आव २०७८/७९ मा दुई खर्ब ६४ अर्ब ७८ करोड ३७ लाख रुपियाँको सामान आयात भएको थियो । आव २०७७/७८ मा दुई खर्ब ३३ अर्ब रुपियाँको सामान आयात भएको तथ्याङ्क छ ।

विभागका अनुसार गत आवमा नेपालबाट चाउचाउ, ऊनी गलैँचा, ऊनी फेल्टका सामग्री, तामाका सामान, हस्तकला सामग्री तथा जडीबुटी निर्यात भएका छन् । चीनसँगका उत्तरी सीमानाकाबाट द्विपक्षीय व्यापार सुचारु भएसँगै नेपालबाट निर्यात बढ्न थालेको व्यवसायीको भनाइ छ । 

राष्ट्रिय व्यवसायी महासङ्घका पूर्वअध्यक्ष नरेश कटुवालले पछिल्लो समय चीनमा नियमित रूपमा सामान आयात निर्यात भइरहेको जानकारी दिनुभयो । 

चीनबाट नेपालले लत्ताकपडा, फलफूल जस्ता अत्यावश्यकीय वस्तु मात्र आयात गर्ने उहाँको भनाइ छ । चीनले दिएको भन्सार सुविधा उपयोग गर्ने हो भने नेपालले धेरै ठुलो परिमाणमा निकासी गर्न सक्ने, निर्यात बढाउन सक्ने धेरै सम्भावना रहेको उहाँको भनाइ छ । 

गत चैत १८ बाट रसुवागढी नाका पूर्ण रूपमा सञ्चालनमा आएको थियो भने २०८० साल वैशाख १८ बाट तातोपानी र हिल्सा नाकासमेत सञ्चालनमा आएसँगै चीनतर्फको निर्यात व्यापार लयमा फर्कन थालेको थियो । 

चिनियाँ सामान नेपालले यसअघि भारतको कोलकाता बन्दरगाहको बाटो हुँदै आयात गर्ने गरेकामा उत्तरी नाका खुलेसँगै ढुवानी सहज भएको व्यवसायीको भनाइ छ ।