• १९ असार २०८१, बुधबार

सुनको कारोबार साठी प्रतिशतले घट्यो

blog

काठमाडौँ, असोज ७ गते । बजारमा सुनचाँदीको कारोबार ६० प्रतिशतले घटेर ४० प्रतिशतमा सीमित भएको छ । बजारमा सुनचाँदीको माग न्यून हुँदा कारोबारमा उल्लेख्य गिरावट आएको हो । अन्य समयमा न्यून कारोबार भए पनि सिजनका बेला बढ्ने गर्थ्याे तर यसपालि कारोबार घटेको छ । 

लगातार सुनको मूल्यमा भएको वृद्धि र आर्थिक मन्दीका कारण सुनचाँदीको कारोबार न्यून हुँदा पछिल्लो समय ४० प्रतिशतमा सीमित भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यले सुनको कारोबारमा आधाभन्दा बढीले गिरावट आएको जानकारी दिनुभयो । उपभोक्तासँग क्रयशक्ति पर्याप्त नहुँदा सिजनको समय सुरु भए पनि सुनको कारोबार बढ्न नसकेको उहाँको भनाइ छ । लामो समयदेखि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्नु र कारोबार नहुँदा सटर भाडा तिर्न नसकेपछि साना साना सुनचाँदी पसल बन्द पनि भएको बताउँदै उहाँले मूल्य बढ्दा तथा सुनको कारोबार नहुँदा व्यवसायी सटर भाडा तिर्न नकेपछि व्यवसाय परिवर्तन गर्ने र विदेशको जाने सङ्ख्या बढ्दै गएको बताउनुभयो । 

तिजमा दैनिक ३० देखि ४० किलो सुन बिक्री हुने गरेको थियो, यसपालि दैनिक १० किलोभन्दा बढी बिक्री हुन नसकेको बताउँदै उहाँले बजारमा माग नै कम हुँदा सुनचाँदीको कारोबार हुन नसकेको बताउनुभयो । तिजको असर दसैँमा पनि देखाउन सक्ने उहाँले बताउनुभयो ।

बैङ्कको चर्काे ब्याजदरका कारण सुनसँगै अन्य व्यवसायीलाई व्यवसाय सञ्चालन गर्न कठिन रहेको छ । चाडपर्वका बेला सधैँ भिडभाड हुने नयाँ सडकका सुनचाँदी पसल यसपालि सुनसान देखिन्छन् । हाल सुन प्रतितोला एक लाख ११ हजार ५५० रुपियाँमा कारोबार भइरहेको छ । 

गत वर्ष असोज पहिलो साता सुन प्रतितोला ९१ हजार आठ सय रुपियाँमा कारोबार भएको थियो । एक वर्षको अवधिमा सुनको मूल्य प्रतितोलामा झन्डै २० हजार रुपियाँले वृद्धि भएको छ । सुनको मूल्य बढ्दा स्थानीय बजारमा कारोबारमा समेत उल्लेख्य गिरावट आएको हो । 

घरव्यवहार चलाउनका लागि पुराना गहना बिक्री गर्ने धेरै ग्राहक आउने गरेको व्यवसायीको भनाइ छ । सुनचाँदीको कारोबार न्यून हुँदा सुनचाँदीको कारोबारबाट व्यवसायी अन्य व्यवसायमा पलायन हुने गरेको शाक्यको भनाइ छ । 

अमेरिकी डलर मजबुत बन्दै गइरहेका कारण लगानीकर्ता त्यसतर्फ आकर्षित भएकाले यो साता पनि विश्व बजारमा सुनको मूल्यमा सामान्य कमी आएको महासङ्घको भनाइ छ । महासङ्घका महासचिव धर्मसुन्दर वज्राचार्यले अमेरिकी रिजर्भ बैङ्क फेडले लिएको ब्याजदर दुई प्रतिशतमा स्थिर राख्ने नीतिका कारण अमेरिकी अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्न गई त्यसको प्रभावले डलर मजबुत बनेकाले लगानीकर्ता त्यसतर्फ आकर्षित हुँदा सुनको मूल्यमा कमी आएको जानकारी दिनुभयो । अमेरिकी डलर मजबुत बन्दै जाँदा त्यसको प्रभावस्वरूप त्यहाँको सेयर बजारमा भने गिरावट आएको बताइएको छ ।  

सुनको कोटा बढ्यो

नेपाल राष्ट्र बैङ्कले दैनिक आयात गरिने सुनको कोटा दोब्बर बनाएको छ । अब वाणिज्य बैङ्कहरूले प्रतिदिन २० केजी सुन आयात गर्न पाउँछन् । यसअघि दैनिक १० केजी सुन आयात हुँदै आएको थियो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सुनको आयात कोटा बढाउने निर्णय गर्दै कार्यान्वयका लागि राष्ट्र बैङ्कलाई पत्राचार गरेको थियो । सोही अनुसार राष्ट्र बैङ्कले सुनको कोटा वृद्धि गरेको हो । राष्ट्र बैङ्कबाट आइतबार परिपत्र आएसँगै कोटा वृद्धिको निर्णय लागु हुने सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

२०७८ फागुन २२ मा नेपाल राष्ट्र बैङ्कले एक परिपत्र जारी गर्दै सुन आयातको दैनिक कोटा १० किलोमा झारेको थियो । कोभिड–१९ महामारी पछि बढेको आयात र रसिया–युक्रेन युद्धपछि बढेको उपभोग्य वस्तुको मूल्यले आयातमा परेको थप दबाबपछि बाह्य क्षेत्रमा समस्या देखिने अवस्था आउँदा सरकारले सुन आयातको दैनिक कोटा घटाएको थियो ।