• २० असार २०८१, बिहिबार

दोब्बरले बढ्यो अलैँची निर्यात

blog

काठमाडौँ, साउन १८ गते  । पछिल्लो पाँच वर्षमा मुलुकबाट २५ अर्ब रुपियाँ बराबरको अलैँची निर्यात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७५/७६ देखि आव २०७९/८० सम्म २५ अर्ब २८ करोड ८४ लाख ५० हजार रुपियाँको अलैँची निर्यात भएको हो । तुलनात्मक लाभ भएको वस्तुका रूपमा रहेको अलैँचीको माग अन्तर्राष्ट्रिय बजारमा बढ्दै गएपछि निर्यातमा उलेख्य वृद्धि भएको हो । 

मुलुकबाट गत आवमा सवा आठ अर्ब रुपियाँ बराबरको अलैँची निर्यात भएको छ । अघिल्लो आवको तुलनामा अलैँचीको निर्यात दोब्बरले वृद्धि भएको हो । अन्तर्राष्ट्रिय बजारमा माग बढ्दै गएपछि अघिल्लो वर्षको तुलनामा गत आवमा दोब्बरले अलैँची निर्यात भएको छ । स्वदेशी अलैँची विदेशी मुद्रा आर्जन गर्ने तुलनात्मक लाभ भएको कृषिजन्य वस्तुका रूपमा रहेको छ । 

भन्सार विभागको तथ्याङ्क अनुसार आव २०७९/८० मा आठ अर्ब २५ करोड ५९ लाख ९२ हजार रुपियाँ बराबरको ९९ लाख ४६ हजार २६२ केजी अलैँची निर्यात भएको हो । आव २०७८/७९ मा चार अर्ब ७७ करोड ८९ लाख ८९ हजार रुपियाँ बराबरको ५२ लाख ९७ हजार ४४३ किलो अलैँची निर्यात भएको थियो । आव २०७७/७८ मा सात अर्ब १० करोड ८२ लाख नौ हजार रुपियाँ बराबरको ८८ लाख ४२ हजार ७६२ केजी अलैँची निर्यात भएको तथ्याङ्क छ । यस्तै आव २०७६/७७ मा दुई अर्ब ५२ करोड ७७ लाख ५० हजार रुपियाँ बराबरको ३५ लाख ६१ हजार २६१ किलो अलैँची निर्यात भएको छ । आव २०७५/७६ मा दुई अर्ब ७१ करोड ४९ लाख ४१ हजार रुपियाँ बराबरको ३२ लाख ९८ हजार ३५९ किलो अलैँची निर्यात भएको छ । 

नेपालको पूर्वी जिल्लामा उत्पादन हुने अलैँची जर्मनी, भारत, इटाली, पाकिस्तान, अमेरिकालगायतका देशमा निर्यात हुने गर्छ । नेपाली अलैँची निकासी हुने ठुलो बजार भनेको भारत नै हो । नेपालले नै अन्तर्राष्ट्रिय रूपमा अलैँचीको बजारीकरण गर्दै आफ्नो उत्पादनको उच्च मूल्य पाउने अवस्था सिर्जना गर्नेतर्फ पहल हुनुपर्ने विज्ञहरूले औँल्याएका छन् । अलैँची औषधी र मसलाका रूपमा प्रयोग गर्ने गरिन्छ । अलैँची मसलाका रूपमा प्रयोग गरिन्छ । अन्तर्राष्ट्रिय बजारमा अलैँचीको माग बढ्दै गए पनि खेती गर्ने क्षेत्रफल भने घट्दै गएको छ ।

नेपालमा उत्पादित वस्तुमध्ये सर्वाधिक निर्यात हुने वस्तुमध्येको एक हो अलैँची । जसलाई कालो सुनको उपनामले समेत चिनिन्छ । वैदेशिक व्यापार घाटा कम गर्न योगदान पु-याउने अलैँची नेपालका ४३ भन्दा बढी जिल्लामा व्यावसायिक रूपमा उत्पादन हुँदै आएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्याङ्क अनुसार आव २०७७/७८ मा १५ हजार ६६८ हेक्टर क्षेत्रफलमा आठ हजार २८९ मेट्रिक टन अलैँची उत्पादन भएको छ । यस्तै आव २०७६/७७ मा १६ हजार ५६५ हेक्टर क्षेत्रफलमा नौ हजार ५४५ मेट्रिक टन अलैँची उत्पादन भएको थियो । 

आव २०७५/७६ मा १५ हजार ५५ हेक्टर क्षेत्रफलमा सात हजार ९५४ मेट्रिक टन अलैँची उत्पादन भएको थियो । पाँचथर, तेह्रथुम, भोजपुर, खोटाङ, उदयपुर, मोरङलगायतका जिल्लामा अलैँची उत्पादन हुन्छ । ताप्लेजुङ, सङ्खुवासभा, पाँचथर, इलाम, धनकुटा, तेह्रथुम, खोटाङलगायतका जिल्लामा अलैँची खेती धेरै हुने गरेको छ ।