वैशाख ३० गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचनका लागि आइतबारबाट मनोनयन दर्ता सुरु भएको छ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले तनहुँको सदरमुकाम दमौली अस्पतालबाट विशेषज्ञ शल्यचिकित्सा प्रदान गर्न जनशक्ति खटाउने भएको छ । जनशक्तिको लागि प्रतिष्ठान र दमौली अस्पतालबीच शुक्रबार सम्झौता भएको छ ।
रेखीराम रानापाल्पा, बैशाख ११ गते । जिल्लाको मालपोत कार्यालय र नापी कार्यालयको सेवा आजदेखि एक साताका लागि बन्द भएको छ । विशालबजार र असनटोलमा भाडामा रहेका यी दुई कार्यालयले नयाँ भवनमा कार्यालय व्यवस्थापन गर्न भन्दै सेवा बन्द गरेको हुन् । मालपोत र नापीको एकीकृत कार्यालय घरेलु कार्यालयसँगै निर्माण सम्पन्न भएकोले कार्यालय स्थानान्तरणका लागि सेवा बन्द गर्नुपरेको मालपोत कार्यालय पाल्पाका प्रमुख विष्णु खनालले जानकारी दिनुभयो । मालपोतले सूचना जारी गरेर ११ देखि १६ गतेसम्म कार्यालयको श्रेस्ता, लिखतलगायतका कागजात नयाँ भवनमा सार्ने र त्यसपछि नयाँ भवनबाटै सेवा सुचारु गरिने जनाएको छ । नापी कार्यालयले पनि सोहीअनुसारको सूचना जारी गरेको छ । पाल्पामा मालपोत र नापी कार्यालय टाढा हुँदा सेवाग्राहीलाई समस्या परेको थियो ।
पछिल्लो २४ घण्टामा ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ३१ सय ४४ जनाको पीसीआर परीक्षण गर्दा ११ जनामा सङ्क्रमण देखिएको हो ।
नरेन्द्र ढकालगोरखा, बैशाख ११ गते । नेपाली काँग्रेस गोरखाले जिल्लाका सबै स्थानीय तह र वडाहरुमा एकल उम्मेदवारी दर्ता गर्ने निर्णय गरेको छ । आइतबार पत्रकार सम्मेलन गर्दै जिल्ला सभापति नन्दप्रसाद न्यौपानेले केही दल र व्यक्तिका कारण गठबन्धन सम्भव नभएको बताउनुभयो । ‘हामी केन्द्रको निर्णयअनुसार अधिक लचक भएर गठबन्धन जोगाउन अन्तिम समय लागिरह्यौं । तर केही दलका साथीहरुको महत्वाकांक्षा र राजनीतिक अपरिपक्वताका कारणले सबैसँगै मिलेर जान सकेनौ, तालमेल ट¥यो’ काँग्रेस सभापति न्यौपानेले भन्नुभयो । जिल्ला कार्यसमितिको बैठक बसेर एक्लै निर्वाचनमा जाने निर्णय गरेको उहाँले बताउनुभयो । सोहीअनुरुप जिल्लाका दुई नगरपालिका, ९ वटा गाउँपालिकाका ९४ वटै वडाका सबै पदमा उम्मेदवारी दिने निर्णय काँग्रेस गोरखाले गरेको छ । ‘काँग्रेस गोरखा कसैको दबाब र प्रभावमा नपरी एक्लै प्रतिस्पर्धा गर्न सक्षम छ,’ उहाँले भन्नुभयो, ‘अहिलेको परिस्थितिमा सबैलाई साथै लैजाऔं भन्ने मात्र हाम्रो धारणा थियो । अब तालमेल सम्भव नभएपछि दलहरुवीच मित्रवत सम्बन्ध कायम राख्ने हाम्रो समझदारी छ ।’केन्द्रमा भएको सहमतीअनुसार जिल्लामा संयन्त्र बनेपछि गठबन्धनका दलहरुवीच ८ वटा औपचारिक र झण्डै एक दर्जन बढी अनौपचारिक छलफलहरु गरिएको काँग्रेस गोरखाको दाबी छ । जिल्लाका ११ स्थानीय तहमध्ये यसअघिको निर्वाचनमा २ नगरपालिकाको प्रमुख, ७ गाउँपालिकाको अध्यक्ष, एक नगरपालिकाको उपप्रमुख, ६ गाउँपालिका उपाध्यक्ष र ४५ वटा वडाध्यक्ष पद काँग्रेसले जितेको थियो । केन्द्रले बनाएको सहमतिअनुसार प्रमुख जितेको पालिकामा सम्बन्धित दलले नै पाउने बताइए पनि काँग्रेस २ वटा स्थानीय तह छोड्न तयार हुँदा पनि अन्य दल नमानेको सभापति न्यौपानेले बताउनुभयो । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले केन्द्रीय तहबाटै हस्तेक्षप गरी जनता समाजवादी पार्टीको अबस्थाभन्दा बढी माग दाबी गरेपछि काँग्रेस र माओवादी उक्त कुरामा सहमत हुन नसकेको ती दलका नेताहरुले बताउनुभयो । यसअघिको निर्वाचनमा केही वडामा मात्र जितेको जसपाले एउटा नगरपालिका, एउटा गाउँपालिकासहित २५ वडा र १०० भन्दा बढी सदस्य दाबी गरेको थियो । जसपाको माग पूरा गर्न नसक्ने भन्दै काँग्रेस र माओवादी मिलेर जाने सहमती नजिक पुगेका थिए । काँग्रेसले ७ र माओवादी ४ स्थानीय तह लिनेगरी तालमेलको तयारी गरिरहेकाबेला जसपाको दबाबमा केन्द्रले हस्तक्षेप गर्न खोजेपछि अन्ततः एकल प्रतिस्पर्धा गर्ने सहमती दलहरुले गरेका हुन् । काँग्रेसले एक्लै जाने घोषणा गरेपनि माओवादी, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीले भने अहिलेसम्म औपचारिक घोषणा गरेका छैनन् ।
भरतपुर महानगरपालिकामा स्वतन्त्रसहित साना दलबाट सातजनाले प्रमुख पदमा उम्मेदवार मनोनयन दर्ता गराएका छन् ।
नवीन शिशिर विकबागलुङ, वैशाख ११ गते । स्थानीय तह निर्वाचन मनोनयनको पहिलो दिन बागलुङका ठूला राजनीतिक दलहरुले दशवटै स्थानीय तहमा उम्मेदवारी दर्ता गराएनन् । उम्मेदवार टुंगो नलागेपछि नेकपा (एमाले) र सत्तागठबन्धनमा आबद्ध राजनीतिक दलले उम्मेदवारी दर्ता नगराएका हुन । आईतबार केही स्थानीय तहमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र केही स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दिएका छन् । पहिलो दिन स्थानीय तहमा रहेका निर्वाचन अधिकृतको कार्यालय सुनसानजस्तै भएको सो कार्यालयका अधिकारीहरुको भनाई छ । उम्मेदवारी दिने प्रयोजनका लागि कार्यालयबाट उम्मेदवारी फर्म लगे पनि दर्ता गर्न राजनीतिक दल कार्यालय नआएको मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानले जानकारी दिनुभयो ।सत्तागठबन्धनले भागबण्डा टुङ्ग्याउन सकेको छैन । नेकपा (एमाले) ले पनि बागलुङ नगरपालिका, काठेखोला गाउँपालिका, बडिगाड गाउँपालिकामा प्रमुख र उपप्रमुखको टुंगो लगाउन नसक्दा मनोनयन रोकिएको छ । सर्वसम्मत पालिका प्रमुख र उपप्रमुख चयन भएको स्थानीय तहमा पनि एमालेले उम्मेदवारी दर्ता गरेको छैन ।सत्ता गठबन्धनमा कुरा नमिलेपछि गठबन्धन फुट्ने र गठबन्धनबाट अलग भएको पार्टी एमालेसँग चुनावी एकता गर्न सक्ने अपेक्षाले सर्वसम्मत उम्मेदवार टुंगो लागेको मात्र स्थानीय तहमा एमालले उम्मेदवारी दर्ता गरेको छ । पहिलो दिन जैमिनी नगरपालिकाको उपप्रमुखमा स्वतन्त्र उम्मेदवार रुद्रकुमारी रोकाय, जैमिनी वडा–२ मा राप्रपाबाट वडाध्यक्षमा यज्ञप्रसाद सापकोटा र वडा–३ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार कृष्ण पाण्डेले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत सूर्यप्रसाद भण्डारीले जानकारी दिनुभयो ।
प्रदेश १ का दुई जना प्रदेशसभा सदस्यहरुले आइतबार पदबाट राजीनामा दिनुभएको छ । नेकपा (एमाले) बाट निर्वाचित प्रदेशसभा सदस्यहरुले स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न सांसद पदबाट राजीनामा दिनुभएको छ ।
नेपालको वनक्षेत्र वृद्धि भएको छ । पछिल्ला दिनमा संरक्षणका कामहरु प्रभावकारी रूपमा सञ्चालन भएपछि नेपालमा वनजङ्गलले ढाकेको क्षेत्रफल बढेको छ । झण्डै दुई दशकको अवधिमा नेपालले दुई लाख ५१ हजार हेक्टर वन क्षेत्र बढाउन सफल भएको छ । वन तथा वातावरण मन्त्रालयले गरेको एक अध्ययनबाट यो तथ्याङ्क सार्वजनिक भएको हो ।
जनकपुरधाम उपमहानगरपालिका प्रमुखमा जनता समाजवादी पार्टी (जसपा) नेपालले लालकिशोर साहलाई उम्मेदवार बनाएको छ ।
पार्टी कार्यालय सानेपामा आइतबार आयोजित कार्यक्रममा पार्टीका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले निर्वाचन घोषणापत्र सार्वजनिक गर्नुभएको हो ।
नेकपा एमालेबाट पोखराको उपप्रमुखमा प्रस्तावित मन्जुदेवी गुरुङले उम्मेदवार बन्न अस्वीकार गर्नुभएको छ । पार्टीले नसोधी उपप्रमुखको उम्मेदवार बनाएको भन्दै उहाँले उम्मेदवारी बन्न अस्वीकार गर्नुभएको हो ।
नेपाली काँग्रेस ओखलढुङ्गाले जिल्लाको आठ वटै स्थानीय तहमा उम्मेदवारको टुङ्गो लगाएको छ । काँग्रेसले एक नगरपालिका र सात गाउँपालिकाको प्रमुख–उपप्रमुख पदको उम्मेदारहरुको नाम टुङ्ग्याएको हो ।
राजस्व अनुसन्धान विभागले राजस्व चुवाहट गरेको आरोपमा पाँच जना विरुद्ध ३६ करोड रुपियाँ माग दावी सहित मुद्धा दर्ता गरेको छ । शुभलक्ष्मी इन्टरनेशनल समेतका फर्महरुले राजस्व चुहावट गर्ने मनसायले नक्कली तथा झुट्टा मुल्य अभिबृद्धि कर विजक खरिद गरी राजस्व चुवाहट गरेको भन्दै विभागले मुद्धा दर्ता गरेको जनाएको छ ।
ललितपुर महानगरपालिका–१० का नरसिंह व्यञ्जनकारले ११ औँ पटक उम्मेदवारी दर्ता गर्नुभएको छ । दशौँ पटकसम्म चुनाव जित्नुभएको व्यञ्जनकारले आइतबार वडाध्यक्षमा उम्मेदवारी दर्ता गराउनुभएको हो ।