विराटनगरमा प्रमुख राजनीतिक दलले सोमबार दिउँसो उम्मेदवारी दर्ता गर्ने भएको छ । स्थानीय तह निर्वाचनका लागि नेपाली काँग्रेसलाई दिउँसो १ बजे र नेकपा एमाले र नेकपा समाजवादीलाई दिउँसो ३ बजे उम्मेदवारी दर्ता गर्ने भएको हो ।
बैंकिङ कसूर तथा ठगी मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका १० बानेश्वर बस्ने रौतहट देवाही गोनाही नगरपालिका ३ घर भएका ४३ वर्षीय मुत्यन्य जयसवाललाई प्रहरीले पक्राउ गरेको छ ।
नेकपा एमालेले लमजुङका ८ वटै स्थानीय तहका उम्मेदवारको टुङ्गो लगाएको छ । चार नगरपालिका र चार गाउँपालिकाको प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्षको टुङ्गो लागेको नेकपा एमाले गण्डकी केन्द्रीय सदस्य मायानाथ अधिकारीले बताउनुभयो ।
सोमबार ५ बजेसम्म मनोनयन दर्ता गरिसक्नु पर्ने भएकोले सत्ता गठबन्धन दलहरुबीच सहमति नजुटेपछि आ–आफ्नो ढंगले उमेदवारी दिने तयारीमा जुटेको हो । पूर्वी नवलपरासीमा सत्ता गठबन्धनमा अझै कुरा मिल्न सकेको छैन तथापि माओवादी केन्द्रले गठबन्धनसँग तालमेल मिल्ने गरी उमेदवारी दिने तयारी गरेको छ ।
काठमाडौं, बैशाख १२ गते । नेपाल पत्रकार महासंघकी केन्द्रीय सदस्य शान्ता आङबुहाङले पदबाट राजिनामा दिनुभएको छ । स्थानीय तहको निर्वाचनमा आठराई त्रिवेणी गाउँपालिकाको उपप्रमुख पदमा मनोनयन गर्ने तयारी गर्नुभएसँगै लिम्बुले पदबाट राजिनामा दिनुभएको नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले जानकारी दिनुभयो । प्रेस स्वतन्त्रताको मर्मलाई मध्यनजर गरी आङबुहाङले राजिनामा दिनुभएको पत्रमा उल्लेख छ । यस अघि महासंघकी केन्द्रीय उपाध्यक्ष वाला अधिकारीले नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा मनोनयन दिनुभएसँगै राजिनामा दिनुभएको थियो ।
तिलाचन पाण्डेतम्घास, वैशाख १२ गते । गुल्मीका १५ वटा मतदान स्थल अति संवेदनशील रहेको जिल्ला सुरक्षा समिति गुल्मीले जनाएको छ ।जिल्लाको कालीगण्डकी ,मालिका ,मदाने ,सत्यवती र चन्द्रकोट गाउँपालिकाका गरी १५ वटा मतदान स्थल अति संवेदनशील रहेको जिल्ला सुरक्षा समिति गुल्मीका प्रमुख तथा प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिनुभयो । यस्तै ४१ वटा मतदान स्थल संवेदनशील र ८६ वटा मतदान स्थल सामान्य रहेको उहाँले जानकारी दिनुभयो । संवेदनशील स्थलहरुमा सुरक्षा लगायत अन्य हिसावले पनि सबै प्रबन्ध मिलाइएको उहाँले जानकारी दिनुभयो । शान्ती सुरक्षाका हिसावले आफूहरुले सबै प्रबन्ध मिलाएको र निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्नका लागि आफूहरु सक्षम रहेको पौडेलले दाबी गर्नुभयो । मतदान स्थलहरुलाई वर्गीकरण गर्दा भगोल, यातायात, जिल्लागत सीमा लगायतका विषयहरुलाई आधार मानेर वर्गीकरण गरिएको हो ।जिल्लामा कुल १४२ मतदान स्थल छन् भने मतदान केन्द्र भने २७९ रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्लामा सबैभन्दा कम इस्मा गाउँपालिकामा आठ वटा मतदान स्थल छन् भने सबैभन्दा बढी सत्यवती गाउँपालिकामा १६ मतदान स्थल रहेको निर्वाचन कार्यालयका नायबसुब्बा मेघलाल पाण्डेले जानकारी दिनुभयो ।कालीगण्डकी र मदाने गाउँपालिकामा १०-१०, गुल्मीदरबार, रुरुक्षेत्र र मालिका गाउँपालिकामा ११-११, चन्द्रकोट गाउँपालिकामा १४ तथा छत्रकोट गाउँपालिकामा १० मतदान स्थल छन् । त्यस्तै धुर्कोट गाउँपालिकामा ११ एवम् मुसिकोट र रेसुङ्गा नगरपालिकामा १५-१५ वटा मतदान स्थल रहेको पाण्डेले बताउनुभयो । गुल्मीमा कुल दुई लाख २४ हजार २७६ मतदाता रहेको कार्यालयले जनाएको छ । जसमा महिला एक लाख १४ हजार २५१ , पुरुष एक लाख १० हजार ५९ र २ जना अन्य रहेको कार्यालयले जनाएको छ ।
तिलाचन पाण्डे गुल्मी, वैशाख १२ गते । नेकपा (एमाले) ले वैशाख ३० गते स्थानीय तहको निर्वाचनका लागि उम्मेद्वारहरुको टुङ्गो लगाएको छ । एमालेले रेसुङ्गा नगरपालिकाको प्रमुखमा राजेन्द्र पाण्डे र उपप्रमुखमा रीता पाण्डेलाई सिफारिस गरेको छ । यस्तै मुसिकोट नगरपालिकामा जीवन खरेल प्रमुख र उपप्रमुखमा गङ्गा श्रेष्ठलाई सिफारिस गरेको नेकपा एमाले गुल्मीका सचिव गणेश श्रीपालीले जानकारी दिनुभयो । यस्तै जिल्लाको कालीगण्डकी गाउँपालिकामा अध्यक्षका लागि रामजी ढकाललाई सिफारिस गरेको छ भने उपाध्यक्षको टुङ्गो लगाउन बाँकी रहेको उहाँले जानकारी दिनुभयो । सत्यवती गाउँपालिकामा अध्यक्षमा टीकारम पाण्डे र उपाध्यक्षमा निरमाया राहादी रहनुभएको छ । चन्द्रकोट गाउँपालिकामा अध्यक्षमा चेतन बस्नेत र उपाध्यक्षमा यस अगाडिकै राधिका अर्याललाई पुनः सिफारिस गरेको छ । रुरु क्षेत्र गाउँपालिकामा अध्यक्षका लागि हिमाल श्रेष्ठ र उपाध्यक्षका लागि मिना गौतम रहनुभएको छ । छत्रकोटमा अध्यक्षका लागि रामप्रसाद पाण्डे र उपाध्यक्षमा सावित्रा ज्ञवाली रहनुभएको छ । गुल्मीदरबार गाउँपालिकामा अध्यक्षमा कृष्ण भुसाल र उपाध्यक्षमा सुशीला पुन , इश्मा गाउँपालिकामा अध्यक्षमा हीरा एसी र उपाध्यक्षमा यस अगाडिकै विमला मालिका गाउँपालिकामा यस अगाडिकै अध्यक्ष रितबहादुर थापा हुनुहुन्छ भने उपाध्यक्षमा रनमाया पुन रहनुभएको छ । मदाने गाउँपालिकामा अध्यक्षका लागि प्रेम केशी र उपाध्यक्षमा यस अगाडीकै सरिता खडका रहनुभएको छ । धुर्कोट गाउँपालिकामा भने अहिलेसम्म कसलाई सिफारिस गर्ने भन्ने बारेमा टुङ्गो लागेको छैन । अहिले पनि धुर्कोटको बारेमा छलफल भइराखेकाले केही समयमै टुङ्गो लगाइने श्रीपालीको भनाइ छ । यता गठबन्धनले भने रेसुङ्गामा काँग्रेसका जिल्ला सभापति खिलध्वज पन्थीलाई प्रमुखमा र अमृता कुँवरलाई उपप्रमुखमा पठाउने निर्णय गरेको छ । मुसिकोटमा गठबन्धनबाट काँग्रेसका हरिनारायण सापकोटा र उपप्रमुखमा समाजवादीका नेता श्रीराम महत रहने भएका छन् । मालिका गाउँपालिकामा गठबन्धनको तर्फबाट माओबादीबाट देवीराम अर्याल अध्यक्ष र उपाध्यक्षमा काँग्रेसका उपेन्द्र अर्यालले आइतबार नै मनोनयन दर्ता गराई सक्नुभएको छ । गठबन्धनले अझै अन्य केही स्थानीय तहको बारेमा भने टुङ्गो लगाउन बाँकी छ ।
एभर्टनमाथि सहज जित निकाल्दै लिभरपुलले इङ्लिस प्रिमियर लिगको उपाधि दौड कायम राखेको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा लिभरपुलले एभर्टनलाई २–० गोलले हरायो ।
इटालियन सिरी ‘ए’ लिग फुटबलको उपाधि होड रोचक बनेको छ । आइतबार राति भएको खेलमा लाजियोलाई उसैको मैदानमा २–१ गोलले हराउँदै एसी मिलान शीर्षस्थानमा उक्लिएको छ ।
स्पेनिस ला लिगाको उपाधि दावेदार बार्सिलोनालाई रायो भालेकानोको धक्का लागेको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा बार्सिलोना रायो भालेकानोसँग १–० गोलले पराजित भयो ।
अविनाशविक्रम शाहको छोटो चलचित्र कान्स फिल्म फेस्टिभलमा छानिएको छ । कान्सले सार्वजनिक गरेका चलचित्रमध्ये शाहले निर्देशन गर्नुभएको ‘लोरी’ छनोट भएको हो । योसँगै नेपालबाट प्रतिस्पर्धात्मक विधामा छनोट हुने ‘लोरी’ पहिलो चलचित्र बनेको छ ।
धीरज दाहालविराटनगर, वैशाख १२ गते । स्थानीय तह निर्वाचनका लागि मनोनयनको दोस्रो तथा अन्तिम दिन विराटनगरमा राजनीतिक चहलपहल बढेको छ । मुख्य राजनीतिक दलहरुका उम्मेदवारहरुले आज उमेदवारी मनोनयन दर्ता गर्ने भएकाले पनि विराटनगरका बिभिन्न चोकहरुमा राजनीतिक दलहरुका कार्यकर्ताहरुको भिडभाड बढ्न थालेको छ ।उम्मेदवारी दर्ताको पहिलो दिन विराटनगरमा बिशेषतः स्वतन्त्र उम्मेदवार र साना राजनीतिक दलहरुबाट उम्मेदवारी दर्ता भएको थियो । विराटनगरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारीअनुसार महानगर प्रमुखमा ३ जना सहित ५७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । कार्यालयले दिएको जानकारीअनुसार महानगरको प्रमुखमा स्वतन्त्र उम्मेदवारहरु उमेश यादव र सक्रिय गौतमले उम्मेदवारी दर्ता गराउनुभएको छ । त्यसैगरी जनमत पार्टीकातर्फबाट अरुणकुमार मण्डलले समेत महानगर प्रमुख पदमा उम्मेदवारी दर्ता गराउनुभएको छ । त्यसैगरी वडाध्यक्षमा १८ र वडा सदस्यमा ३६ जनाले मनोनयन दर्ता गराउनुभएको छ ।आसन्न स्थानीयतहको निर्वाचनका लागि विराटनगर महानगरपालिकामा मुख्य दलहरुबाट उम्मेदवार छान्न सकस परेकाले पनि नेपाली काँग्रेस, नेकपा एमाले लगायतका ठूला दलहरुबाट उम्मेदवारी दर्ता हुन सकेको छैन । एमालेले बिराटनगरको मेयरमा सागर थापा र उपमेयरमा शिल्पा निराला कार्कीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । काँग्रेसले प्रमुख पदमा यो समाचार तयार पार्दासम्म कुनै पनि नाममा निर्णय गरिसकेको छैन । विराटनगरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारीअनुसार बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म कार्यालयले तोकिए बमोजिमको प्रक्रिया पूरा गरी उम्मेदवारी मनोनयन दर्ता गराउनेछ ।
शिवराज ढुङ्गाना अछाम, वैशाख १२ गते । स्थानीय तहको निर्वाचन–२०७९ मा अछाममा दुई महिला नगरपालिकाको प्रमुखमा उम्मेद्वारी दर्ता गराउने भएका छन् । नेकपा (एमाले) बाट साँफेबगर नगरपालिकाको प्रमुखमा पशुपति कुँवर र नेपाली काँग्रेसबाट पञ्चदेवल विनायक नगरपालिकामा अम्बिका चलाउने उम्मेद्वार बन्ने हुनुभएको छ ।चलाउने पञ्चदेवल विनायक नगरपालिकामा हाल उपप्रमुख र नेपाली काँग्रेसको सुदूरपश्चिम प्रदेश सहमहामन्त्री हुनुहुन्छ । कुँवर नेकपा (एमाले) जिल्ला सदस्यमा क्रियाशील हुनुहुन्छ । दुई पार्टीले स्थानीय तहको निर्वाचनमा उम्मेद्वारीको नामावली सार्वजनिक गरेसँगै दुई महिला मेयरमा उम्मेद्वारी चर्चा चल्न थालेको छ । यस्तै नेकपा (एमाले) अछामले चौरपाटी गाउँपालिकामा दलिततर्फबाट प्रतिनिधित्व हुने गरेर उम्मेद्वारी दर्ता गरिने एमाले अछामका अध्यक्ष चन्द्रबहादुर बोहराले जानकारी दिनुभयो । चौरपाटी गाउँपालिकामा एमाले जिल्ला सदस्य रामबहादुर आउजी अध्यक्षमा चुनाव लड्ने बताइएको छ । अन्य स्थानीय तहमा अधिकांशमा महिला उपप्रमुख÷उपाध्यक्षमा चुनाव लडाउने राजनीतिक दलको तयारी छ ।
निबन्धकार तथा नियात्राकार युवराज नयाँघरेको ‘याकजी’ निबन्ध सङ्ग्रहको विमोचन भएको छ । प्राज्ञ तथा नाटककार अशेष मल्लले विमोचन गर्नुभएको उक्त नियात्राका कृति तल्लो र माथिल्लो डोल्पाको भूगोल, संस्कृति, जनजीवन र विकटताको वर्णन छ । यो कृति यात्रा मात्रै नभएर सामाजिक रूपमा गहिरो अध्ययन गरिएको विशेष ग्रन्थ हो, नाटककार मल्लले भन्नुभयो ।’
नेकपा (एमाले) ले विराटनगर महानगरपालिकामा प्रमुख र उपप्रमुख उम्मेदवारीको नामवली टुंगो लगाएको छ । आइतबार अवेरसम्म बसेको बैठकले प्रमुखमा सागर थापा र उपप्रमुखमा सिल्पा निराला कार्कीको नाम टुंगो लगाएको नेकपा (एमाले) का सचिव रुपेश खतिवडाले जानकारी दिनुभयो ।