• १३ साउन २०८१, आइतबार

नवलपुरमा गठबन्धनमा सहमति नहुँदा आ–आफ्नै उमेदवारी दिँदै

blog

नवलपुर, बैशाख १२ गते । नवलपुरमा सत्ता गठबन्धन दलहरुबीच सहमति जुट्न नसकेपछि सबै दलहरुले आ–आफ्नै ढङ्गले उमेदवारी दिन थालेका छन् ।

सोमबार ५ बजेसम्म मनोनयन दर्ता गरिसक्नुपर्ने भएकोले सत्ता गठबन्धन दलहरुबीच सहमति नजुटेपछि आ–आफ्नो ढङ्गले उमेदवारी दिने तयारीमा जुटेको हो । पूर्वी नवलपरासीमा सत्ता गठबन्धनमा अझै कुरा मिल्न सकेको छैन तथापि माओवादी केन्द्रले गठबन्धनसँग तालमेल मिल्ने गरी उमेदवारी दिने तयारी गरेको छ ।

नेपाली काँग्रेसले नेकपा माओवादी केन्द्रसँग सहमतिको प्रयास जारी राखेको छ तथापि माओवादी केन्द्रले पनि उमेदवारी दिने तयारी गरेको छ । माओवादी केन्द्रले नवलपुरका आठ पालिका मध्ये चार पालिकाका उपप्रमुख÷उपाध्यक्ष सहित वडाध्यक्षहरुमा उमेदवारी दिने तयारी गरेको छ ।

त्यसैगरी नेकपा एकीकृत समाजवादीले पनि उमेदवारी दिने तयारी गरेको नेकपा एकीकृत समाजवादी नवलपुरका अध्यक्ष सालिकराम भट्टराईले बताउनु भयो । उहाँका अनुसार नेकपा एकीकृत समाजवादीले कावासोती, गैडाकोट, देवचुली, विनयी त्रिवेणी र हुप्सेकोटमा प्रमुख उपप्रमुख÷अध्यक्ष उपाध्यक्षसहित वडाध्यक्ष र सदस्यहरुमा  उमेदवारी दिने भएको छ । बौदीकाली र बुलिङगटार गाउँपालिकामा भने केही वडामा उमेदवारी दिने बताइएको छ ।

त्यसैगरी जनता समाजवादी पार्टीले पनि छुट्टै उमेदवारी दिने तयारी गरेको छ । जसपाले अहिले देवचुली नगरपालिकामा नगरप्रमुख, उपप्रमुखसहित अधिकांश पदमा उमेदवारी दिने कृष्ण गौतमले बताउनुभयो ।

यता कावासोतीमा पनि उमेदवारी दिने गरी बैठक बसिरहेको राम तामाङ्ले जनाकारी दिनुभयो । तामाङ्गका अनुसार गठबन्धनसँग कुरा नमिलेपछि नवलपुरका सबै पालिकामा जसपाले उमेदवारी दिने भएको छ । जनमोर्चाले भने केही वडामा दावी गरेको छ । जनामोर्चाले दावी गरेका वडाध्यक्षहरुमा उमेदवारी दिने गरी तयारी गरेको जनमोर्चाले जनाएको छ ।

नेपाली काँग्रेसले भने अहिलेसम्म कावासोती, देवचुली, गैंडाकोट र मध्यबिन्दु नगरपालिका नगरप्रमुख बाहेक पालिका प्रमुख उपप्रमुखको अन्य पदमा उमेदवार तय गरेको छैन । नेपाली काँग्रेसका गोपाल वस्ताकोटीका अनुसार काँग्रेस नवलपुरको वैठक उमेदवार तय गर्नका लागि बस्दैछ ।

पूर्वी नवलपरासीको कावासोतीमा पहिलो दिन ६७ जनाले मनोनयन दर्ता गराएका छन् ।