• ५ जेठ २०८१, शनिबार

पहिलो दिन ठूला दलले गरेनन् उम्मेदवारी दर्ता

blog

नवीन शिशिर विक

बागलुङ, वैशाख ११ गते । स्थानीय तह निर्वाचन मनोनयनको पहिलो दिन बागलुङका ठूला राजनीतिक दलहरुले दशवटै स्थानीय तहमा उम्मेदवारी दर्ता गराएनन् । उम्मेदवार टुंगो नलागेपछि नेकपा (एमाले) र सत्तागठबन्धनमा आबद्ध राजनीतिक दलले उम्मेदवारी दर्ता नगराएका हुन । 

आईतबार केही स्थानीय तहमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र केही स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दिएका छन् । पहिलो दिन स्थानीय तहमा रहेका निर्वाचन अधिकृतको कार्यालय सुनसानजस्तै भएको सो कार्यालयका अधिकारीहरुको भनाई छ । उम्मेदवारी दिने प्रयोजनका लागि कार्यालयबाट उम्मेदवारी फर्म लगे पनि दर्ता गर्न राजनीतिक दल कार्यालय नआएको मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानले जानकारी दिनुभयो ।

सत्तागठबन्धनले भागबण्डा टुङ्ग्याउन सकेको छैन । नेकपा (एमाले) ले पनि बागलुङ नगरपालिका, काठेखोला गाउँपालिका, बडिगाड गाउँपालिकामा प्रमुख र उपप्रमुखको टुंगो लगाउन नसक्दा मनोनयन रोकिएको छ । सर्वसम्मत पालिका प्रमुख र उपप्रमुख चयन भएको स्थानीय तहमा पनि एमालेले उम्मेदवारी दर्ता गरेको छैन ।

सत्ता गठबन्धनमा कुरा नमिलेपछि गठबन्धन फुट्ने र गठबन्धनबाट अलग भएको पार्टी  एमालेसँग चुनावी एकता गर्न सक्ने अपेक्षाले सर्वसम्मत उम्मेदवार टुंगो लागेको मात्र स्थानीय तहमा एमालले उम्मेदवारी दर्ता गरेको छ ।

 पहिलो दिन जैमिनी नगरपालिकाको उपप्रमुखमा स्वतन्त्र उम्मेदवार रुद्रकुमारी रोकाय, जैमिनी वडा–२ मा राप्रपाबाट वडाध्यक्षमा यज्ञप्रसाद सापकोटा र वडा–३ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार कृष्ण पाण्डेले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत सूर्यप्रसाद भण्डारीले जानकारी दिनुभयो ।