• १२ साउन २०८१, शनिबार

दमौली अस्पतालमा विशेषज्ञ शल्यचिकित्सा प्रदान गर्न सम्झौता

blog

अमरराज नहर्की
तनहुँ, वैशाख ११ गते ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले तनहुँको सदरमुकाम दमौली अस्पतालबाट विशेषज्ञ शल्यचिकित्सा प्रदान गर्न जनशक्ति खटाउने भएको छ । जनशक्तिको लागि प्रतिष्ठान र दमौली अस्पतालबीच शुक्रबार सम्झौता भएको छ  ।

प्रतिष्ठानका डिन डा.श्रीकृष्ण श्रेष्ठ, पूर्वडिन डा. नरेन्द्रविक्रम गुरुङ र निर्देशक डा. भरतबहादुर खत्रीको टोलीले सम्झौता गरेका छन् । प्रतिष्ठानले जिल्ला अस्पतालबाटै नियमित रुपमा दक्ष जनशक्ति सहितको शल्यचिकित्सा सेवा प्रदान गर्ने सम्झौता गरिएको छ । तीन जना विशेषज्ञले चिकित्सले स्त्री रोग, हार्डजोर्नी र बेहोस बनाउने सेवा प्रदान गर्ने गरी सम्झौता गरिएको दमौली अस्पतालका निमिक्त प्रमुख डा. दिवश ढकालले जानकारी दिनुभयो ।

प्रतिष्ठानबाटै तीन जना विशेषज्ञ चिकित्सक खटाएर सेवा प्रदान गरिने अस्पतालले जनाएको छ । स्वास्थ्य सेवालाई विस्तार गर्ने लक्ष्य अनुसार प्रतिष्ठानसँग सम्झौता गरिएको दमौली अस्पताल विकास समितिका अध्यक्ष देवेन्द्र थापाले जानकारी दिनुभयो । प्रतिष्ठानलाई जनशक्तिलाई काम दिन सक्ने र यहाँ सेवा लिन पाइने भएकोले सेवा सञ्चालन आवश्यक रहेको अध्यक्ष थापा बताउनुहुन्छ ।

स्थानीय गरिव, निमुखा सुविधा विहीन जनतालाई स्तरीय सेवा प्रदान गर्ने समितिको उद्देश्य अनुरुप सम्झौता गर्न पहल गरिएको अध्यक्ष थापाले जानकारी दिनुभयो । स्तरीय सेवा ग्रामिण क्षेत्रका जनताको पहुँच पु¥याउन एकसातापछि नै सेवा सञ्चालन गर्ने गरी पहलकदमी भइरहेको अध्यक्ष थापा बताउनुभयो ।

‘‘जति सक्दो धेरै सुविधा प्रदान गर्ने र यही जनतालाई दमौली अस्पतालबाट सेवा पु¥याउन प्रत्यन्तशिल छौ’’ अध्यक्ष थापाले भन्नुभयो ।

नेपाल सरकारले स्वास्थ्यसम्बन्धि सेवा विस्तार गरेको र गरीब जनतालाई पोखरा, काठमाडौं, चितवन जान नपरोस् भन्ने सन्देश प्रवाह गर्न समिति लागि परेको छ । दमौलीमै सुविधा प्रदान गर्दा पोखरामा विरामीको चाप घट्न मद्दत पुग्ने र ग्रमिण क्षेत्रमा वासिन्दालाई उपचार लिन सहज बनाउन सम्झौता गरिएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका डीन डा.श्रीकृष्ण श्रेष्ठले बताउनुभयो । जनशक्ति व्यवस्थापन वैशाख महिना भित्र नै गरी सेवा सुरु गर्ने गरी काम अघि बढाइने सो अवसरमा बताईएको थियो ।

यसैबीच दमौली अस्पतालले बालरोग विशेषज्ञ सेवा दिन सुरु गरेको छ  । दमौली अस्पताल विकास समितिले आन्तरिक कोषबाट तलब प्रदान गर्ने गरी चिकित्सक नियुक्त गरे पछि अस्पतालले हालै सेवा सुरु गरेको हो । बालरोगका चिकित्सक अस्पतालमा नभएकोले पोखरा, चितवन, काठमाडौंमा पठाउनुपर्ने बाध्यता रहेको थियो । तर, बालरोग विशेषज्ञ नियुक्त गरी सेवा सुरु गरेपछि बाहिर पठाउनुपर्ने बाध्यता हटेको दमौली अस्पताल समितिका अध्यक्ष देवेन्द्र थापाले जानकारी दिनुभयो ।

सङ्घीय तथा प्रदेश सरकारले दरबन्दी नपठाएकाले सेवा प्रभावित भएकाले समितिको आफ्नै स्रोतबाट बालरोग विशेषज्ञ डा. भविष्य श्रेष्ठलाई नियुक्त गरी हालै सेवा सुरु गरेको उहाँले जानकारी दिनुभयो ।

‘बालरोग विशेषज्ञ नहुँदा अस्पतालमा प्रसूतिको लागि भर्ना भएका महिलाको जन्मिएको बच्चाको स्वास्थ्य समस्या आएमा जिल्ला पठाउनुपर्ने बाध्यता रहेकोले सहज रुपमा सेवा प्रदान गर्न चिकित्सक नियुक्त गर्ने निर्णय गरेका हौं’ अध्यक्ष थापाले भन्नुभयो । दाँतको सेवालाई थप प्रभावकारी बनाउन एक जना विशेषज्ञ थप गरिएको समितिले जनाएको छ ।