• ५ जेठ २०८१, शनिबार

प्रमुख बन्न प्रदेशसभाद्वयको राजीनामा

blog

गोकुल पराजुली
विराटनगर, वैशाख ११ गते ।
प्रदेश १ का दुई जना प्रदेशसभा सदस्यहरुले आइतबार पदबाट राजीनामा दिनुभएको छ । नेकपा (एमाले) बाट निर्वाचित प्रदेशसभा सदस्यहरुले स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न सांसद पदबाट राजीनामा दिनुभएको छ ।

झापाको निर्वाचन क्षेत्र नम्बर १ (२) बाट निर्वाचित हुनुभएका गोपाल बुढाथोकी र इलामको निर्वाचन क्षेत्र नम्बर १ (२) बाट निर्वाचित सांसद काजीमान कागतेले प्रदेशसभा सदस्यबाट राजीनामा दिनुभएको हो । दुबैको राजीनामा स्वीकृत भइसकेको प्रदेशसभा सचिव गोपाल पराजुलीले जानकारी दिनुभयो । 

एमालेले झापाको मेचीनगर नगरपालिकाको प्रमुख पदमा उम्मेदवार बनाउने निर्णय गरेपछि बुढाथोकीले पदबाट राजीनामा गर्नुभएको हो । २०७४ सालको स्थानीय तह निर्वाचनमा पनि बुढाथोकीले नगरपालिका प्रमुख पदमा दाबी गर्नुभएको थियो तर एमालेले त्यसबेला उहाँलाई उम्मेदवार बनाएको थिएन । त्यसबेला स्थानीय तहमा टिकट नपाएपछि पार्टीले उहाँलाई प्रदेशसभामा पठाउने निर्णय गरेको थियो ।

यस्तै, इलामका सांसद काजीमान कागतेले सूर्योदय नगरपालिकाको प्रमुख पदमा उम्मेदवारी दिनुहुने भएको छ । कागते नेकपा एकीकृत समाजवादी पार्टीका वरिष्ठ नेता झलनाथ खनालको निर्वाचन क्षेत्रबाट सांसद निर्वाचित हुनुभएको थियो ।