• ५ जेठ २०८१, शनिबार

गोरखामा काँग्रेसले एकल प्रतिस्पर्धा गर्ने

blog

नरेन्द्र ढकाल

गोरखा, बैशाख ११ गते । नेपाली काँग्रेस गोरखाले जिल्लाका सबै स्थानीय तह र वडाहरुमा एकल उम्मेदवारी दर्ता गर्ने निर्णय गरेको छ । आइतबार पत्रकार सम्मेलन गर्दै जिल्ला सभापति नन्दप्रसाद न्यौपानेले केही दल र व्यक्तिका कारण गठबन्धन सम्भव नभएको बताउनुभयो ।

 ‘हामी केन्द्रको निर्णयअनुसार अधिक लचक भएर गठबन्धन जोगाउन अन्तिम समय लागिरह्यौं । तर केही दलका साथीहरुको महत्वाकांक्षा र राजनीतिक अपरिपक्वताका कारणले सबैसँगै मिलेर जान सकेनौ, तालमेल ट¥यो’ काँग्रेस सभापति न्यौपानेले भन्नुभयो । 

जिल्ला कार्यसमितिको बैठक बसेर एक्लै निर्वाचनमा जाने निर्णय गरेको उहाँले बताउनुभयो । सोहीअनुरुप जिल्लाका दुई नगरपालिका, ९ वटा गाउँपालिकाका ९४ वटै वडाका सबै पदमा उम्मेदवारी दिने निर्णय काँग्रेस गोरखाले गरेको छ । 

‘काँग्रेस गोरखा कसैको दबाब र प्रभावमा नपरी एक्लै प्रतिस्पर्धा गर्न सक्षम छ,’ उहाँले भन्नुभयो, ‘अहिलेको परिस्थितिमा सबैलाई साथै लैजाऔं भन्ने मात्र हाम्रो धारणा थियो । अब तालमेल सम्भव नभएपछि दलहरुवीच मित्रवत सम्बन्ध कायम राख्ने हाम्रो समझदारी छ ।’

केन्द्रमा भएको सहमतीअनुसार जिल्लामा संयन्त्र बनेपछि गठबन्धनका दलहरुवीच ८ वटा औपचारिक र झण्डै एक दर्जन बढी अनौपचारिक छलफलहरु गरिएको काँग्रेस गोरखाको दाबी छ । जिल्लाका ११ स्थानीय तहमध्ये यसअघिको निर्वाचनमा २ नगरपालिकाको प्रमुख, ७ गाउँपालिकाको अध्यक्ष, एक नगरपालिकाको उपप्रमुख, ६ गाउँपालिका उपाध्यक्ष र ४५ वटा वडाध्यक्ष पद काँग्रेसले जितेको थियो । 

केन्द्रले बनाएको सहमतिअनुसार प्रमुख जितेको पालिकामा सम्बन्धित दलले नै पाउने बताइए पनि काँग्रेस २ वटा स्थानीय तह छोड्न तयार हुँदा पनि अन्य दल नमानेको सभापति न्यौपानेले बताउनुभयो । 

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले केन्द्रीय तहबाटै हस्तेक्षप गरी जनता समाजवादी पार्टीको अबस्थाभन्दा बढी माग दाबी गरेपछि काँग्रेस र माओवादी उक्त कुरामा सहमत हुन नसकेको ती दलका नेताहरुले बताउनुभयो । यसअघिको निर्वाचनमा केही वडामा मात्र जितेको जसपाले एउटा नगरपालिका, एउटा गाउँपालिकासहित २५ वडा  र १०० भन्दा बढी सदस्य दाबी गरेको थियो । जसपाको माग पूरा गर्न नसक्ने भन्दै काँग्रेस र माओवादी मिलेर जाने सहमती नजिक पुगेका थिए । 

काँग्रेसले ७ र माओवादी ४ स्थानीय तह लिनेगरी तालमेलको तयारी गरिरहेकाबेला जसपाको दबाबमा केन्द्रले हस्तक्षेप गर्न खोजेपछि अन्ततः एकल प्रतिस्पर्धा गर्ने सहमती दलहरुले गरेका हुन् । काँग्रेसले एक्लै जाने घोषणा गरेपनि माओवादी, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीले भने अहिलेसम्म औपचारिक घोषणा गरेका छैनन् ।