अविनाश चौधरीधनगढी, वैशाख ३ गते । कैलालीमा जनता समाजवादी पार्टी (जसपा) पाँच दलीय गठबन्धबाट बाहिरिएको छ । सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रीमण्डल पुनर्गठन भएदेखि गठबन्धनप्रति रुष्ट सो पार्टीले यो जिल्लामा गबन्धनबाट अलग हुँदै अन्य दलसँग चुनावी गठबन्धन गरेको हो । आफ्नो एक जना प्रदेश सभा सदस्य हुँदाहुँदै बाइपास गरेर प्रदेश सरकारको मन्त्रीमण्डल पुनर्गठन गरिएको भन्दै सो दलले असन्तुष्टि जनाएको थियो । मन्त्रीमण्डल पुनर्गठन भएलगत्तै असहमति जनाएको जसपाले स्थानीय तहमा मत मिल्ने अरु पार्टीसँग चुनावी तालमेल हुन सक्ने बताएको थियो । सोहीअनुसार सो पार्टी चार दलीय चुनावी गठबन्धनमा मिलेको छ । जसपा, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेपाल लोकतान्त्रिक पार्टी र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले स्थानीय तहको चुनावमा तालमेल गरेर अगाडि बढ्ने घोषणा गरेका छन् । वैशाख १ गते बसेको चारै पार्टीको संयुक्त बैठकले स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल गरी अगाडि बढ्ने सैद्धान्तिक र वैचारिक निर्णय गरेको थियो । गठबन्धन दलहरुले शनिबार पत्रकार सम्मेलन गरेर गठबन्धनले आह्वान गरेअनुरुप निर्वाचन प्रक्रियामा होमिन नेता, कार्यकर्तालाई आग्रह गरेका छन् ।गठबन्धनको नीति, निर्देशन इमान्दारिताका साथ सबै दलका नेता कार्यकर्ताले पालना गर्ने गराउने चारवटै दलबीच सहमति भएको नेपाल लोकतान्त्रिक पार्टीका कैलाली अध्यक्ष माधव चौधरीले जानकारी दिनुभयो । पहिचान र अधिकारका खातिर सङ्घर्षरत दलहरु तालमेल गरेर चुनावमा अगाडि बढ्ने उहाँले बताउनुभयो ।
होमराज रानाभाटदेवचुुली वैशाख ३ गते । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताले जिम्मेवारी दिएमा मुुलुुकको हितमा आफनो कर्तव्य पूरा गरेर छाडने बताउनुुभएको छ । निर्वाचनमा माओवादी पार्टी हार्दा मुलुक हार्ने उहाँले दाबी गर्नुभयो । अध्यक्ष प्रचण्डले माओवादी जनताका लागि लडेको बताउँदै सबैको अग्रगामी परिवर्तनका लागि पार्टी लडेको चर्चा गर्नुभयो । नेकपा (माओवादी केन्द्र) नवलपुुरले शनिबार दलदलेमा आयोजना गरेको पार्टी प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले सो कुुरा बताउनुुभयो । अहिले पनि केही शक्ति संविधान उल्टाउन लागि परेकाले संविधानको रक्षाका लागि गाउँगाउँ गएर यसको महत्व बुुझाउन कार्यकर्तालाई आग्रह गर्नुुभयो ।'यो चुुनाव हाम्रा लागि लडाइँ हो, हामी जित्दा देशले जित्छ, हार्दा देशले हार्छ', उहाँले भन्नुभयो,'बिगतमा हामीले गरेका गल्तीलाई स्वीकारेर जनताका बीचमा आएका छौं, यो निर्वाचनमा माओवादीले हार्यो भने गणतन्त्र हार्छ । गणतन्त्र हार्दा महिला, जनजाती अपाङ्गता भएका सबै वर्ग हार्छन् ।' माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भन्नुभयो, 'विगतमा हामीले धेरै मिहेनत र त्याग गरेर संबिधान ल्यायाौं, देशलाई संघीय लोकतान्त्रिक निर्बाचनतर्फ लैजाने काम माओवादीले गरेको हो ।'पार्टी प्रशिक्षण कार्यक्रममा माओवादी केन्द्रका जिल्लाभरिका अगुुवा कार्यकर्ताको सहभागिता थियो ।
राजकुमार भट्टराईखोटाङ, वैशाख ३ गते। केही समय अघिसम्म बनमारा, ऐँसेलु र घँगरु घारी रहेको जग्गामा अहिले खनजोत गरेर खेती गर्न सुरु गरिएको छ। ४० वर्ष बाँझो बसेको यो जग्गाले अहिले मुहार फेरेको हो। जिल्लाको हलेसी तुवाचुङ नगरपालिका-५ दुर्छिम चुरीढाँडमा पर्ने यो ठाउँमा करीब ४०/४१ वर्ष अघि मकै, कोदो, फापर, तोरी लगायतका बाली लगाइनेगरेको स्थानीय बताउछन्। तर, अहिले यस क्षेत्रका अधिकांश जग्गा बाँझै रहेका छन्। बाँझो रहेको केही जग्गामा भने अहिले खम्ब चाम्लिङ राईले खनजोत गरेर पुनः ४० वर्षपछि खेती लगाउन सुरु गर्नुभएको छ। राई भन्नुहुन्छ, “यहाँ हाम्रो २७ रोपनी जग्गा छ, अहिले मैले १२ रोपनी जग्गामा खनजोत गरेर मकै छरेको छु। विस्तारै अन्य जग्गामा पनि खेती सुरु गर्छु।” अहिले ४८ वर्ष पुग्नुभएका राई बाल्यकाल छँदा बुवाआमाले यो जग्गामा खेती गर्ने गरेको सुनाउनुहुन्छ। पछि बुवा घर बस्न छोडेर बाहिर हिँड्न थालेपछि जग्गा बाँझो रहन पुग्यो। विस्तारै गाउँका सबै मानिस रोजगारीको सिलसिलामा अन्य देश जान थालेपछि राई पनि किशोरावस्थामै विदेश पलायन भएको बताउनुहुन्छ। राईलाई लागेको थियो खेती गरेर खासै फाइदा छैन। भारत, साउदी, कतार लगायतका देशमा दुई दशक बिताउनुभएका राईको सोच अहिले बदलिएको छ। “विदेश मात्रै कमाइ गर्ने ठाउँ होइन रहेछ, मेहनत गर्ने हो भने आफ्नै देशमा पनि राम्रो आम्दानी गर्न सकिन्छ भन्ने लागरे मैले पनि कृषि पेशा रोजेर बुवाआमाले खेती गर्न छाडेर बाँझै बसेको जग्गामा अहिले खेती गर्न सुरु गरेको छु”, राई बताउनुहुन्छ। वैदेशिक रोजगारबाट वाक्क भएर करिब तीन वर्षअघि नेपाल फर्किनु भएका राईले अहिले नौ महिना यता कोदालो र झम्पल लगाएर अहिलेसम्म १२ रोपनी बाँझो फोरेको बताउनुहुन्छ। केही जग्गामा साग, धनिया लगाउन सुरुवात गर्न थाल्नु भएका राईले अहिले अन्य जग्गामा मकै लगाउनुभएको छ। बाँकी रहेको जमिन पनि आगामी वर्षभित्र खनिसकेर सुन्तला, कागती लगायत फलफूल लगाउने उहाँको योजना छ। उक्त ठाउँ भन्दा करिब दुई किलोमिटर टाढा घर रहेपनि अहिले राई र उहाँकी श्रीमती सोही ठाउँमा सानो झुप्रो बनाएर बस्नुभएको छ। खेतीसँगै व्यवस्थित खोर निर्माण गरेर सोही ठाउँमा राईले २० वटा बाख्रा समेत पाल्नु भएको छ। केही समय पश्चात अझै बाख्रा थप्ने र सुँगुर पनि पाल्ने उहाँको योजना छ।
काठमाडौं, वैशाख ३ गते। विवेकशील साझा पार्टीबाट काठमाडौं महानगरपालिकाको प्रमुख र उपप्रमुख पदका उम्मेदवारले प्रतिज्ञा-पत्र सार्वजनिक गरेका छन्। पार्टी केन्द्रीय कार्यालय बखुण्डोल ललितपुरमा शनिबार पत्रकार सम्मेल गरेर काठमाडौंको मेयर र उपमेयर पदका उम्मेदवारले प्रतिज्ञा-पत्र सार्वजनिक गरेका हुन्। वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा विवेकशील साझा पार्टीले काठमाडौंको प्रमुख पदमा समीक्षा बाँस्कोटा र उपप्रमुख पदमा कीर्ति तुलाधरलाई उम्मेदवार बनाएको छ। मेयर पदकी उम्मेदवार बास्कोटा पार्टीको बागमती प्रदेशकी पूर्वसंयोजक तथा हाल पार्टीको केन्द्रीय कार्य सम्पादन समितिकी सदस्य हुनुहुन्छ। ३८ वर्षीया बाँस्कोटाले काठमाडौं स्कुल अफ लबाट कानुनमा स्नातक गरेर अमेरिकाबाट कानुनमै स्नातकोत्तर गर्नुभएको छ। उहाँ गत निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ ‘क’ बाट प्रदेशसभाको उम्मेदवार बन्नुभएको थियो। २७ प्रतिशत मत ल्याएर उहाँले तेस्रो स्थान हासिल गर्नुभएको थियो। त्यस्तै, उपमेयर पदकी उम्मेदवार तुलाधर पार्टीको केन्द्रीय सदस्य हुनुहुन्छ। उहाँ नेपाल जेसीजका तीन जना महिला राष्ट्रिय अध्यक्षमध्ये एक हुनुहुन्छ। त्यस्तै, उहाँ अन्तर्राष्ट्रिय जेसीजको पनि दक्षिण एसियाबाटै पहिलो महिला उपाध्यक्ष हुनुहुन्छ। शिक्षा विषयमा स्नातकोत्तर ६२ वर्षीय तुलाधर हाल विभिन्न संघ/संगठनको नेतृत्वदायी भूमिकामा हुनुहुन्छ। मेयर र उपमेयर पदका उम्मेदवारको सात वटा मूल एजेण्डा छन्। बास्कोटा र तुलाधरको भ्रष्टाचार नियन्त्रण, सुशासन र सेवा प्रवाह, सुलभ, व्यवस्थित, विद्युतीय यातायात, नेवाः कला-संस्कृतिको पुनर्जागरण, खुला क्षेत्रको संरक्षण र विस्तार, नदी नालाको सफाइ र पुनर्स्थापना, गुणस्तरीय शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षा मूल एजेण्डा छन्।
अविनाश चौधरीधनगढी, वैशाख ३ गते । निर्वाचन आयुक्त डा. जानकी तुलाधरले संविधानले तोेकेको जिम्मेवारी पूरा गर्न निर्वाचन आयोग सदैव तत्पर रहेको बताउनुभएको छ । आयोगले आज धनगढीमा आयोजना गरेको मिडिया अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्नुहुँदै उहाँले आयोग आफ्नो जिम्मेवारी पूरा गर्न तत्पर रहेको बताउनुभएको हो । आयुक्त तुलाधरले स्थानीय तहको निर्वाचन सफल रुपले सम्पन्न गर्न आयोग तालिकानुसार अगाडि बढिरहेको बताउनुभयो । ‘सबै एकताबद्ध भएर यो निर्वाचन सफल पार्नुपर्छ’, उहाँले भन्नुभयो ।बदर मत सङ्ख्या घटाउन आयोगले मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी ढङ्गले अगाडि बढाउने उहाँको भनाई थियो । निर्वाचन सफल पार्नमा सञ्चार जगतको भूमिका महत्वपूर्ण रहने आयुक्त तुलाधारले चर्चा गर्नुभयो । कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य हरिप्रसाद जोशीले सञ्चारजगत र पत्रकारले पालना गर्नुपर्ने आचारसंहिता बारेमा प्रस्तुति गर्नुभएको थियो । उहाँले सबै राजनीतिक दलसँग खुला र तटस्थ रहेर सूचना सम्प्रेषण गर्न पत्रकारलाई आग्रह गर्नुभयो । यसैगरी, मत बदर सङ्ख्या घटाउन मतदाता शिक्षाको रुपमा काम गर्न पत्रकारलाई आग्रह गर्नु भयो । ‘निर्वाचनमा सञ्चारको भूमिका मतदाता, आयोग र दलबीच पुलको काम गर्ने हो’, उहाँले भन्नुभयो । कुनै पनि दल, नेताका पक्षमा लबिङ गर्नु आचारसंहिताको उलङ्घन रहेको उल्लेख गर्नुहुँदै सदस्य जोशीले त्यस्तो नगर्न पत्रकारलाई आग्रह गर्नुभयो । कार्यक्रममा आयोगका उपसचिव सूर्यप्रसाद अर्यालले मतपत्रबारेमा जानकारी गराउनुभयो । स्थानीय तहको निर्वाचन निर्देशिकाअनुसार मतपत्रमा चुनाव चिन्ह राखिएको उहाँले बताउनुभयो । ‘छ नम्बरसम्म राष्ट्रिय मान्यता प्राप्त दलहरुको चुनाव चिन्ह र २४ देखि उपरान्त स्वतन्त्र उम्मेदवारका लागि चुनाव चिन्ह राखेर मतपत्र छफाइ भएको छ’, उहाँले भन्नुभयो ।
विष्णु पाण्डेय काठमाडौं, वैशाख ३ गते । निर्माणाधीन संघीय संसद् भवन निर्माणको काम सुस्त भएको छ । सिंहदरबारको पुलती बगैँचामा निर्माणाधीन भवनको काममा जारी रुस–युक्रेनबीचको द्वन्द्वको प्रभाव देखिएको छ । रुस र युक्रेन युद्धले निर्माण सामग्रीमा मूल्य बढेकाले निर्माण व्यवसायीले गुनासो गरेका छन् ।निर्माण सुरु गरिएको साढे–दुई वर्ष बिते पनि हालसम्म आधा पनि काम सम्पन्न भएको छैन । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ साल असोज १ गते शिलान्यास गर्नुभएको उक्त भवनको अहिलेसम्म ४२ प्रतिशत मात्रै काम सकिएको छ । विशेष भवन निर्माण आयोजना निर्देशक दिलीपशेखर श्रेष्ठले ठेक्का सम्झौता अनुसार अब निर्माण अवधि एक वर्ष मात्रै बाँकी रहे पनि अझै ५८ प्रतिशत काम सक्न बाँकी रहेको बताउनुभयो । २०८० वैशाखसम्म निर्माणकार्य सक्ने गरी सम्झौता भए पनि चालू आवमा भने १३ प्रतिशत मात्र काम सकिएको छ । कोरोना सङ्क्रमणका कारण सरकारले सबै आयोजनालाई छ महिना म्याद थपिदिएको थियो । यसअनुसार यस आयोजनाको म्याद २०८० वैशाखमा सकिँदैछ ।निर्माण सामग्रीको भाउ बढ्दा रोकियो काम आयोजना प्रमुख श्रेष्ठले पछिल्लो समय निर्माण व्यवसायीहरुले निर्माण सामग्रीको मूल्य बढेको भन्दै काम नगरेको बताउनुभयो । सङ्घीय संसद् भवन टुन्डी, एसएचआइसी जेभीले निर्माण गरिरहेको छ । आयोजना निर्देशक श्रेष्ठले पछिल्लो समय नेपालको अर्थतन्त्रमा समस्या देखिएकाले राष्ट्र बैंकले आयातमा कडाइ गरेको र पतीतपत्रका लागि अनिवार्य मार्जिन राख्नुपर्ने नियम बनाएकाले पनि निर्माण व्यवसायीले निर्माण कार्यमा ढिलाइ गरेको बताउनुभयो ।नेपाल राष्ट्र बैंकले शतप्रतिशत पतीतपत्र मार्जिन राख्नुपर्ने प्रावधान बनाउँदा ईलेक्ट्रिक सामान, सेरामिक्स, पाइप्स, प्लम्बिङ्, सेनेटरी आइटमका सामान आयातमा समस्या आएको श्रेष्ठको भनाइ छ । उहाँले यी सामग्री आयातका लागि अग्रिम शुल्क तिर्नुपर्ने भएका कारण निर्माण कार्यमा कठिनाइ भएको बताउनुभयो ।‘निर्माण सामग्रीको मूल्य बढेको छ ,यसअघि कोरोनाले काम हुन दिएन, यो पटक मूल्य बढ्यो भनेर निर्माण व्यवसायी काम नै नगरी बसेका छन्’ श्रेष्ठले भन्नुभयो ‘यस्तै भयो भने निर्माण सक्न म्याद थप्नुपर्छ ।’कति भयो काम ?हाल संसद् भवन निर्माणअन्तर्गत धेरै खण्डको काम भइरहेको छ । त्यसमा कमिटी भवन निर्माण ९० प्रतिशत सम्पन्न भएको छ । आयोजना प्रमुख श्रेष्ठले ब्रिक वर्कतर्फ भने ९५ प्रतिशत काम पूरा भएको जानकारी दिनुभयो ।भीभीआइपी बिल्डिङ दोस्रो तला निर्माणको काम सकिएको छ भने तेस्रो तलामा ७० प्रतिशत काम पूरा भएको छ । सेक्रेटरी बिल्डिङ् ७५ प्रतिशत, पार्टी अफिस र पार्किङ् ब्लकको ९५ प्रतिशत, लाइब्रेरी ब्लकको निर्माण २२ र सेन्ट्रल लबी २५ प्रतिशत काम पूरा भएको छ ।क्यान्टिन ब्लकको पहिलो तलाको स्ट्रक्चर पूरा भएको श्रेष्ठको भनाइ छ । निर्माणाधीन सङ्घीय संसद् भवन १५१ रोपनी क्षेत्रफलमा बन्दै छ ।
काठमाडौं, वैशाख ३ गते । पछिल्लो २४ घण्टामा थप छ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १९ सय ८६ जनामा एन्टिजेन परीक्षण गर्दा छ जनामा सङ्क्रमण पुष्टि भएको हो ।यसैगरी, दुई हजार ५७ जनाको एन्टिजेन परीक्षण गर्दा तीन जनामा सङ्क्रमण देखिएको छ । कुल चार हजार ४३ परीक्षण गर्दा नौ जना सङ्क्रमण पुष्टि भएको हो ।२४ घण्टामा कोरोनाले मृत्यु हुनेको सङ्ख्या भने शून्यमा झरेको छ भने ४४ जना सङ्क्रमणमुक्त भएका छन् । त्यस्तै, हाल देशभर चार सय सक्रिय सङ्क्रमित छन् ।पछिल्लो २४ घण्टामा ३० हजार ८८९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
काठमाडौँ, वैशाख ३ गते । अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्गत नेपाल प्रशिक्षक संघको अध्यक्षमा राजेन्द्र तामाङ निर्वाचित हुनुभएको छ । संघको शनिबार चितवनमा सम्पन्न निर्वाचनले राजेन्द्रको अध्यक्षतामा नयाँ समिति निर्विरोध चयन गरेको हो । संघको उपाध्यक्षमा समीर लिम्बू, सुरेन्द्र तामाङ र हेमबहादुर गुरुङ तथा सदस्यहरुमा अर्जुन चौधरी, मन्जित पुन, सनोज श्रेष्ठ, बिमन श्रेष्ठ, रामचन्द्र थापा, विजय श्रेष्ठ, धनेश्वर प्रजापति, सरोज श्रेष्ठ, विनोद महर्जन, अनिल तामाङ र महिला सदस्यमा भगवती रानामगर निर्वाचित हुनुभएको छ । एन्फाको असार ६ गते हुने नयाँ कार्यसमिति निर्वाचनमा प्रशिक्षक संघबाट एकजनालाई मताधिकार छ । यसैगरी एन्फा निर्वाचनका लागि एन्फामा आवद्ध ४८ जिल्लामध्ये ४५ जिल्ला, ‘ए’ डिभिजन क्लबबाट १४, ‘बी’ बाट ११ र ‘सी’ डिभिजन क्लबलाई नौ, खेलाडी संघ, महिला र रेफ्री संघलाई एकम एक मताधिकार प्रदान गरेको छ । एन्फाले राष्ट्रिय लिगका लागि छनोट भएका मोफसलका चार क्लबलाई पनि यसपटक निर्वाचनमा मताधिकार दिएको छ ।
हरिकृष्ण ऐडिमुगु, बैशाख ३ गते । गत माघमा मुगमकार्मारोंग गाउँपालिकाको मँह गाउँका एक महिलाको घरमा पोत्ने माटो लिनजाँदा माटोको ढिस्कोमा पुरिएर मृत्युभयो । कर्णाली प्रदेशले विपत, दुर्घटनामा परेका नागरिकलाई विपत कोषबाट दुई लाख रुपियाँसम्म राहत दिने प्रावधान बनाएको छ । तर मृतकका परिवारले उहाँको पोष्टमार्टम नगरेपछि सरकारी सुविधा प्राप्त गर्न सकेनन् । त्यस्तै घटनामा ज्यान गुमाएकी मुगमकार्मारोंग गाउँपालिका वडा नं ८ माँग्री गाउँकी २४ वर्षीया टोमा तामाङको परिवारले पनि राहत सुविधा नपाएको मुगुमकार्मारोङ स्वास्थचौकीका इन्चार्ज शोनाम तामाङले बताउनुभयो । उहाँकाअनुसार मुगमकार्मारोंग गाउँपालिकाको धर्मको ज्ञानले मृतकको शरीरलाई चिरफार गर्न नमिल्ने मान्यता रहेको बताउनुभयो ।जिल्लामा रहेको बौद्ध धर्मावलम्बी लामा समुदायका परिवारहरु यहाँको धर्म संस्कारअनुसार पोष्टमार्टम गर्न नमान्दा सेवा सुविधा लिनबाट बञ्चित हुँदैआएका छन् । लामा समुदायको धर्म रीतिरिवाजअनुसार पोष्टमार्टम नगरिदिँदा मृतकका आफन्तले सेवासुबिधा लिनबाट वञ्चित भएका हुन् ।कतिपय अवस्थामा पोष्टमार्टमका लागि पालिकामा सुविधा नभएकाले २ दिन लगाएर सदरमुकाम पुगाउनुपर्ने र प्रक्रिया झन्झटिलो भएकाकारण पनि स्थानीयले पोष्टमार्टममा चासो नदेखाएको पाइएको स्वास्थ्यचौकी इन्चार्ज तामाङको भनाइ छ ।जिल्लाको उत्तरी भेगमा पर्ने मुगमकार्मारोंग गाउँपालिकाका २ हजार ३ सय ३० घरधुरिका परिवारले बौद्ध धर्म मान्दैआएका छन् । उक्त समुदायका लामा गुरुले मृतकको दाहसंस्कार गर्नलाई ज्योतिष विधिबाट निज मृतकको शरीरले के मागेको छ सोहीअनुसार गर्ने चलन छ ।यहाँका लामा समुदायको मान्यताअनुसार मान्छे मरेको दुई दिनसम्म स्वास जीवित हुनेभएकाले दुई दिन अगाडि मृतकलाई दाहसंस्कार गर्दा मृतकको आत्माले दुःख दिने भएको स्थानीयको बुझाई छ । त्यहीकारण दुई दिनसम्म घरमै राखिने चलन रहेको स्थानीय सोनाम लामाले जानकारी दिनुभयो ।जिल्ला प्रहरी कार्यालय मुगुले मुगमकार्मारोंग गाउँपालिकाबाट कर्तव्य ज्यानबाहेक अन्य घटनामा पोष्टमार्टम गरेको हालसम्म १ वटा मात्र रेकर्ड रहेको जनाएको छ । जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले बताउनुभयो ।
धर्बेन्द्र झा धनुषा, बैशाख ३ गते । निर्वाचन आयोग नेपालका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तह निर्वाचनको समय नजिकिदै गएकाले अनावश्यक तर्क वितर्क नगरी सबैजना निर्वाचन सफल पार्नमा जुट्ने बेला आएको बताउनुभएको छ ।मधेस प्रदेशको राजधानी जनकपुरधाममा शनिबार निर्वाचन आयोगले आयोजना गरेको स्थानीय तह निर्वाचन २०७९ मिडिया अभिमुखीकरण कार्यक्रमको उद्घाटन सत्रमा उहाँले यस्तो बताउनुभएको हो । निर्वाचनको मिति तय गर्नुअघि संविधान र कानुनलाई ध्यानमा राखेर विभिन्न प्रकारले विभिन्न विषयमा छलफल भएपश्चात सरकारले निर्वाचनको मिति घोषणा गरेको उहाँले बताउनुभयो ।देशमा स्थानीय तह निर्वाचनको माहोल तयार भइसकेको अवस्थामा अब स्थानीय तहको निर्वाचन सार्न खोजिए त्यसले दुर्घटना निम्त्याउने प्रमुख आयुक्त थपलियाले बताउनुभयो । उहाँले भन्नुभयो, “देशमा निर्वाचनको माहोल तयार भइसकेको छ । कँहि कतैबाट अझै पनि निर्वाचनको विषयमा विभिन्न शंका उपशंका हुनु राम्रो होइन ।” निर्वाचन आयोगले निर्धारण गरेको तालिका बमोजिम अब हामी सबैले निर्वाचन सफल गर्नमा जुट्नुपर्छ उहाँले भन्नुभयो ।निर्वाचनलाई उत्कर्षमा आजसम्म पुर्याउन मिडियाकर्मीको भूमिका महत्वपुर्ण भएको भन्दै निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निषपक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न हामी सबैले आ—आफनो ठाँउवाट भूमिका निर्वाह गर्नुपर्छ उहाँले भन्नुभयो । सुशासन र समृद्धिमा पुग्नका लागि पहिलो पाइलाको रुपमा निर्वाचन रहेकाले निर्वाचनलाई सफल पार्नु सबैको दायित्व भएको प्रमुख आयुक्त थपलियाले चर्चा गर्नुभयो । निर्वाचन अचारसंहिता नैतिक र कानुनी बन्धन भएकाले यसको पालना सबै पक्षले गर्नुपर्ने उहाँले बताउनुभयो ।निर्वाचन आचारसंहितालाई सामान्य रुपमा नलिन आग्रह गर्दै यसको उल्लंघन भएको विषयमा आयोगले जानकारी प्रप्त गर्दा स्पष्टीकरण सोधेर कानुनअनुसार कारवाही हुने उहाँले बताउनुभयो । अचारसंहिंता उल्लंघन भएको प्रमाणित भएमा एक लाख रुपियाँ जरिवानादेखि उम्मेदवारी खारेजीसम्मको कारबाही हुनसक्छ उहाँले भन्नुभयो । निर्वाचनको प्रक्रिया शुरु भएपश्चात् निर्वाचन अचारसंहिता उल्लंघन भएको नभएको विषयमा पालिकादेखि जिल्लासम्म संयन्त्र निर्माण भएको जानकारी समेत दिनुभयो । अचारसंहितामा समाजिक संजालको विषय गम्भीररुपमा उठेकाले प्रेस काउन्सिल नेपाललाई यसको नियमनको लागि आयोगले अनुरोध गरिसकेको बताउनुभयो । कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य लालबाबु शेख, नेपाल पत्रकार महासंघका सचिव पवन अाचार्य र निर्वाचन आयोगका उपसचिव लक्ष्मी शर्माले पत्रकारले समाचार तयार पार्दा ध्यान दिनुपर्ने विषयबारे चर्चा गर्नुभयो । निर्वाचन आयोगले निर्धारण गरेको अचारसंहिताको विषय कार्यान्वयन गरेमात्र निष्पक्ष, पारदर्शी र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुने उहाँहरुले विश्वास व्यक्त गर्नुभयो ।
गायिका मेलिना राई विवाह गर्ने तयारीमा हुनुहुन्छ । करिब पाँच बर्ष लामो प्रेम सम्बन्धलाई उहाँले सार्वजनिक गर्नुभएको छ । उहाँले, आफू र सञ्जीवबीच दुई वर्ष अगाडि इन्गेजमेन्ट भैसकेको उल्लेख गर्नुभएको हो ।
काठमाडौं, वैशाख ३ गते। वैशाख १ गते अस्पताल भर्ना हुनुभएका संस्कृतिविद् सत्यमोहन जोशीलाई सास फेर्न थप अप्ठेरो महसुस भएपछि सघन उपचार कक्ष (आईसीयू)मा सारिएको छ।स्वासप्रश्वासमा समस्या देखिएपछि बिहीबार दिउँसो ४ बजे ललितपुरको इमाडोलस्थित किष्ट मेडिकल अस्पताल भर्ना हुनुभएका जोशीलाई शनिबार आईसीयूमा सारिएको हो।मुटुको चालमा केही समस्या देखिएपछि आईसीयूमा सारिएको हो। उहाँको स्वास्थ्य अवस्था सामान्य छ। भोलिसम्म उहाँको स्वास्थ्य अवस्था सामान्य भएमा वार्डमा सारिने अस्पतालले जनाएको छ।किष्ट अस्पतालका निर्देशक प्रा.डा. सुरज बज्राचार्यका अनुसार जोशीको पिसाबमा संक्रमण र मुटुको चालमा गडबढी देखिएको हो। जोशीको स्वास्थ्यमा सन्तोषजनक सुधार भइरहेको निर्देशक बज्राचार्यले विज्ञप्तिमार्फत जानकारी गराउनुभएको छ। १०३ वर्षीया जोशीको यसअघि २०७८ फागुनमा एक हप्ता किष्ट अस्पतालमै उपचार भएको थियो।
काठमाडौँ, वैशाख ३ गते । नेपाल प्रो क्लब च्याम्पियनसिपको उपाधि रुपन्देही–११ ले जितेको छ । सिद्धार्थनगर क्रिकेट रंगशालामा शनिबार भएको खेलमा रुपन्देहीले मलेसिया–११ लाई सात विकेटले हरायो । मलेसियाले दिएको एक सय ४१ रनको विजयी लक्ष्य पछ्याएको रुपन्देहीले १९.३ ओभरमा लक्ष्य पूरा गरेको थियो । रुपन्देहीको जितमा प्रज्वल थापाले सर्वाधिक ७१ रन बनाउनुभयो । सन्दीप रजालीले ४१ र देव खनाल १२ रन बनाउनुभयो । बलिङमा मलेसियाका मुहमद वाफिक, सायद अजिज र शार्विनले एक एक विकेट लिनुभयो । यसअघि पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ४० रन बनाएको थियो । मलेसियाको लागि नज्रिल रहमानले ३६, जुबईदी जुल्कफ्लेले २६ र सेईद अजिजले २० रन बनाउनुभयो । बलिङमा रुपन्देहीका बसिर अहमदले दुई विकेट लिनुभयो । कृष्ण कार्की, रुपेश कुर्मी, विक्रम भुसाल र विशाल विक्रम केसीले एक एक विकेट लिनुभयो । रुपन्देहीका प्रज्वल थापा ‘प्लेयर अफ दि फाइनल’ हुनुभयो । उपाधिसँगै रुपन्देहीले दुई लाख ५० हजार रुपियाँ पुरस्कार पायो । उपविजेता मलेसियाले एक लाख रुपियाँमा चित्त बुझायो । रुपन्देहीका बसिर अहमद सर्वोत्कृष्ट खेलाडी चुनिनुभयो ।
काठमाडौं, वैशाख ३ गते। मुखको सफाइलाई स्वास्थ्य जीवनका लागि महत्त्वपूर्ण मानिन्छ। शरीरका सम्पूर्ण अङ्ग प्रत्यअङ्गलाई स्वास्थ्य वा अस्वास्थ्य बनाउन मुखले प्रत्यक्ष भूमिका खेलेको हुन्छ। त्यसैले मुख सधै स्वास्थ्य राख्ने बानी बसाल्नुपर्छ। बिहान खाना खाइसकेपछि र बेलुका सुत्नुअघि नियमित रुपमा मुख सफा गरेमा करिब ९० प्रतिशत मुखका रोगबाट बच्न सकिने चिकित्सकको भनाइ छ। बिहान र बेलुका खाना खाएपछि फ्लोराइडयुक्त दन्त मन्जन प्रयोग गरेर दाँत माझ्ने, अन्य समयमा खानेकुरा खानासाथ मुख कुल्ला गर्ने, दाँतबीचको सतह डेन्टल फ्लसको प्रयोग गरी सफा गर्ने, बालबालिका २ वर्ष नपुग्दासम्म सफा कपास पानीले र २ वर्षको उमेरदेखि नरम ब्रसले दाँत सफा गरिदिनुपर्छ। दाँतको सुरक्षाका लागि गुलियो, धेरै तातो वा चिसो, अमिलो खाद्य पदार्थ नखाने गर्नुपर्छ। मदिरा, सुर्तीजन्य पदार्थ, पान, सुपारी सेवन नगर्नु नै दाँतको लागि राम्रो हुन्छ। रेसादार, ताजा फलफूल, हरियो सागपात, दूध, माछाजस्ता सन्तुलित खानाको प्रयोग गरेपछि मुख सफा गर्नुपर्छ। कम्तीमा हरेक ६ महिनामा दन्त परीक्षण गराउँदा मुख सफा हुने चिकित्सको भनाइ छ। दन्त स्वास्थ्यका बारेमा मानिसमा केही गलत धारणा रहेको पाइन्छ। सामान्यतः अन्य रोगको तुलनामा दाँतको रोग गम्भीर हुँदैन भन्ने धारणा पाइन्छ। जुन गलत हुने चिकित्सकको भनाइ छ। स्वास्थ्य मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले दाँतको स्वास्थ्यका बारेमा केही गलत आमधारणाका बारेमा सार्वजनिक गरेको छ। दाँत निकाल्दा आँखा कमजोर हुन्छ, दाँत सफा गर्दा दाँत कमजोर हुन्छ, हल्लिन्छ वा फाटिन्छ, जुठो खाँदा दाँतमा किरा लाग्छ, नक्कली दाँत राखे कमजोर भइन्छ, उपचार गर्नुभन्दा निकाल्नु ठीक हुन्छ, दाँत नदुख्दासम्म उपचार गर्नुहुँदैन, कडा ब्रसले दाँत सफा गर्दा दाँत सफा, चम्किलो हुन्छ भन्नु गलत भएको मन्त्रालयले जनाएको छ। कतिपयले अन्य रोगको तुलनामा दाँतको रोग गम्भीर नहुने बुझाइ गलत भएको मन्त्रालयले जनाएको छ। दन्त चिकित्सालाई आधारभूत स्वास्थ्य सामग्री नमानी विलासिता र कस्मेटिक उपचार ठान्ने र १(२ वटा दाँत बिग्रदैमा केही नहुने मनोविज्ञान गलत भएको सूचनामा उल्लेख छ।
स्याङ्जा, वैशाख ३ गते । राष्ट्रिय खेलकुद परिषद (राखेप) का उपाध्यक्ष शिव कोइरालाले नवौँ राष्ट्रिय खेलकुदमा स्याङ्जामा कम्तिमा एक खेल खेलाउने बताउनुभयो । प्रथम विवेक खाँण स्मृति सेभेन ए साईड अन्तर क्लब पुरुष फुटबलको समापन तथा पुरस्कार बितरणमा कोइरालाले आफु स्याङ्जा जिल्लामा प्याराग्लाइडिङ बाहेक थप एक खेल खेलाउन छलफलमा रहको बताउनुभयो ।कुनै पनि प्रतियोगिताले खेलकुदको विकासमा टेवा पुग्ने बताउँदै कोइरालाले खेलकुदमा सबैको चासो हुनुपर्ने बताउनुभयो । देशकै पदमा आसिन भएपनि आफु हुर्केको ठाउँमा सहयोग गर्र्न मन लाग्ने बताउदै कोइरालाले डिपीआर बनाएर लिएर आएमा आर्थिक सहयोग जुटाउन पहल गर्ने पनि बताउनुभयो । हेलु लामाचौर युवा क्लबले भिरकोट १ लामाचौरमा आयोजना गरेको सेभेन ए साईड अन्तर क्लब पुरुष फुटबलमा उपाधि रामबाच्छा ब्वाइज वालिङले जितेको हो । फाइनलमा स्मार्ट युथ क्लबलाई १–० गोलले हराएको रामबाच्छाले उपाधि सहित ३० हजार रुपियाँ पुरस्कार पायो । उपविजेतका बनेको स्मार्टले २० हजार रुपियाँमा चित्त बुझायो । चैत २८ गतेबाट शुरु भएको प्रतियोगितामा १८ क्लबको सहिभागिता रहेको थियो । प्रतियोगितामा ‘म्यान अफ दि सिरिज’ अयोजक टिमका इश्वर खाँण, बेष्ट फरवार्ड रामबाच्छाका जनम गुरुङ, बेष्ट किपर रामबाच्टाका रुपेश हमाल, बेष्ट डिफेन्डर स्मार्टका सन्देश क्षेत्री हुनुभयो । विजेतालाई राखेपका उपाध्यक्ष शिव कोइरालाले पुरस्कार प्रदान गर्नुभयो ।