• २१ असार २०८१, शुक्रबार

पैँसट्ठी पालिकाको मत परिणाम सार्वजनिक

blog

सर्केगाड गाउँपालिकामा निर्वाचित जनप्रतिनिधी । तस्बिर : राजन रावत

सुर्खेत, जेठ ५ गते । कर्णाली प्रदेशको स्थानीय तह निर्वाचनको मतगणना करिब अन्तिम चरणमा छ । कर्णालीका ७९ पालिकामध्ये बुधबार दिउँसोसम्म ६५ पालिकाको मत परिणाम सार्वजनिक भएको छ । हालसम्म मतगणना सम्पन्न भएका सबै पालिकालाई आधार बनाएर हेर्दा नेपाली काँग्रेस पहिलो, नेकपा (माओवादी केन्द्र) दोस्रो र नेपाल कम्युनिस्ट पार्टी (एमाले) तेस्रो स्थानमा देखिएका छन् । काँग्रेसले २९, माओवादीले १९ र एमालेले १० पालिकामा जित हासिल गरेको छ । यस्तै एकीकृत समाजवादीले तीन र स्वतन्त्र चार पालिकामा विजयी भएका छन् । 

पाँच पालिकाको मत सार्वजनिक

वीरेन्द्रनगर समाचारदाताका अनुसार स्थानीय तह निर्वाचनअन्तर्गत सुर्खेतमा पाँच पालिकाको मत परिणाम सार्वजनिक भएको छ । निर्वाचन कार्यालयका अनुसार बुधबारसम्म सुर्खेतमा तीनवटा नगरपालिका र दुईवटा गाउँपालिका गरेर पाँचवटा पालिकाको मत परिणाम सार्वजनिक भएको छ । पाँचवटा पालिकामध्ये नेपाली काँग्रेसले चारवटा पालिकाको प्रमुख र तीनवटा पालिकाको उपप्रमुखमा जितेको छ । नेकपा एमालेले एउटा पालिकाको अध्यक्ष र उपाध्यक्ष तथा एउटा नगरपालिकाको उपप्रमुख जितेको छ । 

पञ्चपुरी नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी भएको छ । त्यहाँ प्रमुखमा लालवीर भण्डारी र उपप्रमुखमा मुक्तिदेवी रेग्मी विजयी हुनुभएको छ । २०७४ सालको निर्वाचन नेपाली काँग्रेसले जितेको थियो । ११ वटा वडा रहेको पञ्चपुरीमा सातवटा वडामा नेपाली काँग्रेस, तीनवटा वडामा एमाले र एउटा वडामा माओवादी वडाध्यक्षमा विजयी भएका छन् । यस्तै गुर्भाकोट नगरपालिकामा नेपाली काँग्रेसकै उम्मेदवार दोहोरिएका छन् । नगरप्रमुखमा हस्त पुन र उपप्रमुख मैना विक विजयी हुनुभएको छ । दुवै जना अघिल्लो निर्वाचनमा नगरप्रमुख र उपप्रमुखमा विजयी हुनुभएको थियो । १४ वटा पालिका रहेको उक्त नगरपालिकामा नेपाली काँग्रेसले १० वटा र चारवटा वडा नेकपा एमालेले जितेको छ ।

यस्तै वराह ताल गाउँपालिकामा नेपाली काँग्रेसका भीम भण्डारी अध्यक्षमा र उपाध्यक्षमा लक्ष्मी पुन मगर विजयी हुनुभएको छ । अघिल्लो निर्वाचनमा उक्त गाउँपालिकामा नेपाली काँग्रेस नै विजयी भएको थियो । १० वटा वडा रहेको उक्त गाउँपालिकामा पाँचवटा वडा एमालेले, नेपाली काँग्रेसले तीनवटा र माओवादी केन्द्रले दुईवटा जितेका छन् ।

यस्तै लेकबेँसी नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेस विजयी भएको छ । प्रमुखमा काँग्रेसका उमेश पौडेल र उपप्रमुखमा भने नेकपा एमालेका विमला खड्लुक मगर विजयी हुनुभएको छ । उक्त नगरपालिकामा काँग्रेसले आठ, एमालेले दुईवटा वडाध्यक्ष जितेको छ । अघिल्लो निर्वाचनमा नेकपा एमालेले प्रमुख र उपप्रमुखमा जितेको थियो । 

नेकपा एमालेले अहिलेसम्म एउटा पालिकामा मात्रै जितेको छ । चिङ्गाड गाउँपालिकामा एमालेका बोधविक्रम जिसी र उपाध्यक्षमा मीनाकुमारी रोकाय विजयी हुनुभएको छ ।  उक्त गाउँपालिकामा अघिल्लो निर्वाचनमा काँग्रेसले जितेको थियो । यस पटक काँग्रेसलाई हराउँदै एमाले विजयी भएको हो । छवटा वडा रहेको उक्त गाउँपालिकामा नेपाली काँगे्रस र एमालेका उम्मेदवार तीन/तीनवटा वडाका वडा अध्यक्षमा विजयी भएका छन् । 

सडगाड र अदानचुलीमा गठबन्धन विजयी

हुम्ला समाचारदाताका अनुसार जिल्लाको सर्केगार्ड र अदानचुली गाउँपालिकामा गठबन्धन दलका प्रतिनिधि विजयी भएका छन् । दुई गाउँपालिकामा नेपाली काँग्रेसले अध्यक्ष जितेको छ भने उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका हुन् । सर्केगार्ड गाउँपालिका सहायक निर्वाचन अधिकृत मोहन गिरीका अनुसार गाउँपालिका अध्यक्ष पदमा नेपाली काँग्रेसका ठानबहादुर रोकाया निर्वाचित हुनुभएको छ । निर्वाचित अध्यक्ष रोकायाले तीन हजार ५४३ मत प्राप्त गरी विजयी हुनुभएको छ । उपाध्यक्ष पदमा गठबन्धन दलकै माओवादी केन्द्रका चन्द्रसिंह कार्कीले तीन हजार २८२ मत ल्याएर विजयी हुनुभएको छ । 

त्यसैगरी अदानचुली गाउँपालिकामा अध्यक्षमा नेपाली काँग्रेसका मोहनविक्रम सिंह र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका कर्ण रोकाया निर्वाचित हुनुभएको छ । काँग्रेसका जिल्ला सभापतिसमेत रहेका सिंहले एक हजार ९६८ मत ल्याएर विजयी हुनुुभएको छ । उपाध्यक्षमा माओवादी केन्द्रका कर्णाली प्रदेश कमिटी सदस्य कर्ण रोकायाले एक हजार ९९६ मत ल्याएर विजयी हुनुभएको छ । एमालेको गढ भनेर चिनिएको अदानचुलीमा पहिलो पटक एमाले पराजित भएको छ । 

छायाँ नाथमा काँग्रेसको नेतृत्व

मुगु समाचारदाताका अनुसार मुगुको छायाँनाथ रारा नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका विष्णु भाम निर्वाचित हुनुभएको छ । उपप्रमुखमा नेपाली काँग्रेसकै ऐश्वर्य मल्ल निर्वाचित हुनुभएको छ । मुख्य निर्वाचन कार्यालयका सूचना अधिकारी प्रकाश थापाका अनुसार नगरप्रमुख भामले चार हजार ५९९ मत ल्याएर निर्वाचित हुनुभएको छ । भामका प्रतिस्पर्धी नेकपा एमालेका डम्बर रावलले तीन हजार ८६० मत ल्याउनुभएको छ ।

यस्तै उपप्रमुखमा नेपाली काँग्रेसकी ऐश्वर्य मल्लले चार हजार ३२५ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी नेकपा एमालेकी टोमा लामाले ती हजार ७३४ मत ल्याउनुभएको छ । १४ वटा वडा रहेको छायाँनाथ रारा नगरपालिकामा नेपाली  काँग्रेसबाट नगरप्रमुख, उपप्रमुख, वडा अध्यक्ष र सदस्य गरी ३९ जना निर्वाचित हुनुभएको छ । 

दुल्लुमा काँग्रेस र एमाले

दैलेख समाचारदाताका अनुसार दुल्लु नगरपालिकाको नगरप्रमुखमा नेपाली काँग्रेसका भरतप्रसाद रिजाल निर्वाचित हुनुभएको छ । रिजालले एमालेका रुद्रबहादुर शाहीलाई १३३ मतान्तरले पछाडि पार्दै विजयी हुनुभएको हो । प्रमुखमा निर्वाचित रिजालले सात हजार ७२५ मत प्राप्त गर्नुभएको छ । यस नगरपालिकामा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीच नगरपालिका र वडामा पूर्ण चुनावी गठबन्धन भएको थियो । गठबन्धन र एमालेबीच भएको प्रतिस्पर्धामा नगरप्रमुखमा काँग्रेसले जितेको हो । उपप्रमुखमा भने एमालेका उम्मेदवार निर्वाचित हुनुभएको छ । उपप्रमुखमा एमालेकी बीना कार्कीले सात हजार १६० मत प्राप्त गर्नुभएको छ  । दुल्लुमा २०७४ मा भएको स्थानीय तह निर्वाचनमा पनि प्रमुखमा नेपाली काँग्रेस र उपप्रमुख नेकपा एमालेले जितेको थियो । 

त्रिपुरासुन्दरीमा एमाले निर्वाचित

डोल्पा समाचारदाताका अनुसार त्रिपुरासुन्दरी नगरपालिकाको मतगणना सम्पन्न भएको छ । मतगणनाबाट त्रिपुरासुन्दरी नगरपालिकाको प्रमुखमा नेकपा एमालेका उम्मेदवार जनचन्द्र रोकाया निर्वाचित हुनुभएको छ । रोकायाले दुई हजार चार मत ल्याएर प्रमुखमा निर्वाचित हुनुभएको हो । उपप्रमुखमा नेकपा एमालेकै देवी घर्तीले एक हजार ८५६ मत ल्याएर विजयी हुनुभएको छ । नगरपालिकाको वडा नम्बर १, २, ३, ५, ७ गरेर पाँचवटा वडाध्यक्षमा नेकपा एमालेका रामचन्द्र कुलाल, टङ्कबहादुर थापा, भक्तबहादुर केसी, नन्दलाल रोकाया र खम बुढा निर्वाचित हुनुभएको त्रिपुरासुन्दरीका निर्वाचन अधिकृत मोहनप्रसाद बेल्बासेले जानकारी दिनुभयो ।

त्यस्तै वडा नम्बर ६ ,८, ९, १० र ४ को वडाध्यक्षमा नेकपा (माओवादी) केन्द्रका देवेन्द्र चलाउने, चन्द्ररूप रावत, ललितप्रसाद गिरी र रञ्जित बुढा निर्वाचित हुनुभएको छ । वडा नम्बर ११ मा भने नेपाली काँग्रेसका चन्द्ररूप डसाल विजयी हुनुभएको छ । २०७४ को स्थानीय तह निर्वाचनमा ४ वडामा वडाध्यक्ष जितेको नेपाली काँग्रेसले यो पटक भने एउटा वडामा मात्रै चित्त बुझाउनुपरेको छ । 

छ पालिकामा मतगणना सम्पन्न

सल्यान समाचारदाताका अनुसार यहाँका छ पालिकाको मतगणना सम्पन्न भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय सल्यानका अनुसार वनगाड कुपिण्डे, शारदा नगरपालिकाका, सिद्धकुमाख, त्रिवेणी, कुमाख र कपुरकोट गाउँपालिकाको मतगणना सकिएको छ । वनगाड कुपिण्डे नगरपालिकामा गठबन्धनबाट माओवादी केन्द्रका कर्णबहादुर बुढाथोकी विजयी हुनुभएको छ । मुख्य निर्वाचन अधिकृत  कुलप्रसाद पाण्डेका अनुसार विजयी बुढाथोकीले सात हजार ४६६ मत ल्याउनुभएको छ । 

यस्तै नगरपालिकाको उपप्रमुखमा नेपाली काँग्रेसका पुरुषोत्तम आचार्य पाँच हजार ७३५ मत प्राप्त गरेर विजयी हुनुभएको छ । काँग्रेसबाटै बागी उम्मेदवारी दिएका दीपेन्द्र विष्टलाई एक हजार ५५५ मतले पछि पार्दै उहाँ विजयी हुनुभएको हो । 

यस्तै त्रिवेणी गाउँपालिका सल्यानमा अध्यक्ष, उपाध्यक्षमा नेपाली काँग्रेसका  उम्मेदवार विजयी हुनुभएको छ । पालिका अध्यक्षमा खिमबहादुर रावत र उपाध्यक्ष सीता खड्का पुन विजयी हुनुभएको छ । अध्यक्ष रावतले तीन हजार ३६९ मत र उपाध्यक्षमा खड्काले तीन हजार १८६  मत ल्याएर विजयी हुनुभएको मुख्य निर्वाचन कार्यालय सल्यानले जनाएको छ  ।

यसैगरी कुमाख गाउँपालिकामा नेपाली काँग्रेस तर्फबाट अध्यक्षमा मानबहादुर बुढाथोकी विजयी हुनुभएको छ । उहाँले चार हजार ५८ मत प्राप्त गरी विजयी हुनुभएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालय सल्यानका अनुसार पालिका उपाध्यक्षमा नेकपा एमालेबाट लालबहादुर रावतले चार हजार १४३ मत प्राप्त गरी विजयी हुनुभएको छ । सिद्धकुमाख गाउँपालिकामा नेपाली काँग्रेसका भरत गिरीले दुई हजार १७३ मत प्राप्त गरी विजयी हुनुभएको छ । उपाध्यक्ष नेकपा माओवादी केन्द्रका रामबहादुर बस्नेत दुई हजार ३५ मतका साथ विजयी हुनुभएको छ । 

जाजरकोटमा काँग्रेस अग्रस्थानमा

खलङ्गा समाचारदाताका अनुसार यहाँको कुशे र शिवालय गाउँपालिकामा नेपाली काँग्रेस तथा नलगाड नगरपालिकामा माओवादी केन्द्र र जुनीचाँदे गाउँपालिकाको अध्यक्षमा एमालेका उम्मेदवार निर्वाचित हुनुभएको छ । कुशे गाउँपालिकामा नेपाली काँग्रेसका हरिचन्द्र बस्नेत, शिवालय गाउँपालिकामा काँग्रेसकै शेरबहादुर शाही, जुनीचाँदे गाउँपालिकामा वेदबहादुर शाही र नलगाड नगरपालिकाको नगरप्रमुखमा डम्बरबहादुर रावत विजयी हुनुभएको हो । 

शिवालय गाउँपालिकामा नेपाली काँग्रेसका शेरबहादुर शाहीले तीन हजार ३०३ मत प्राप्त गरी अध्यक्षमा निर्वाचित हुनुभएको हो । उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी गीता शाहीले दुई हजार ६५९ प्राप्त गरी विजय हुनुभएको छ । नलगाड नगरपालिकाको नगरप्रमुखमा नेकपा माओवादी केन्द्रका डम्बरबहादुर रावत विजयी हुनुभएको छ । उपप्रमुखमा गठबन्धनबाट नेपाली काँग्रेसका सरिता सिंह निर्वाचित हुनुभएको छ ।  मतगणना सकिएका अधिकांश वडामा नेपाली काँग्रेस, नेकपा माओवादीले विजय प्राप्त गरेका छन् भने नेकपा एमाले केही वडामा जित हात पार्न सफल भएको छ । बारेकोट, छेडागाड र भेरीको मतगणना जारी छ । 

पाँच पालिकाको मत परिणाम सार्वजनिक

मुसीकोट समाचारदाताका अनुसार रुकुम पश्चिममा दुई नगरपालिका र तीन गाउँपालिका गरी पाँच पालिकाको मत परिणाम सार्वजनिक भएको छ । जिल्लाको चौरजहारी  र आठबीसकोट नगरपालिका, सानीभेरी, बाँफीकोट र त्रिवेणी गाउँपालिकाको मत परिणाम सार्वजनिक भएको हो । छ पालिका रहेको रुकुम पश्चिममा जिल्ला सदरमुकाम रहेको मुसीकोट नगरपालिकाको मतगणना भइरहेको छ ।

यहाँको चौरजहारी नगरपालिकाको नगरप्रमुख र उपप्रमुखमा माओवादी केन्द्रका पुष्प बादी र ईश्वरी शर्मा बीएमले जित हासिल गर्नुभएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार पुष्प वादीले छ हजार ८८२ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका प्रेमबहादुर ओलीले छ हजार ३११ मत प्राप्त गर्नुभएको छ । उपप्रमुख ईश्वरीले शर्मा बीएमले सात हजार दुई मत प्राप्त गर्दा नेकपा एमालेका टङ्कप्रसाद ओलीले पाँच हजार ७४४ मत प्राप्त गर्नुभएको छ ।  १४ वडा रहेको चौरजहारीमा ६, ९ र १४ नम्बर वडामा नेपाली काँग्रेसले जितेको छ भने बाँकी सबै वडामा माओवादी केन्द्रले जितेकोे छ ।

यस्तै आठबीसकोट नगरपालिकामा माओवादी केन्द्रका उम्मेदवार प्रमुख र उपप्रमुखमा क्रमशः रवि केसी र धनकुमारी शाही निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालय आठबीसकोटले जनाएको छ । प्रमुखमा रविले सात हजार ३७९ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिस्पर्धी  नेपाली कांग्रेसका धिरेन्द्रकुमार बटालाले छ हजार ६१५ मत प्राप्त गर्नुभएको छ । उपप्रमुख धनकुमारी शाहीले सात हजार २६५ मत प्राप्त गरी नेकपा एमालेका दिनेश चन्दलाई पराजित गर्नुभएको छ । १४ वटा वडा रहेको आठबीसकोटका चारवटा वडामा काँग्रेस–एमाले गठबन्धनले र बाँकी सबै वडामा माओवादी केन्द्रले जितेको छ ।

उता सानीभेरी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा माओवादी केन्द्रका बिर्खबहादुर विष्ट र कमला रोका पुन विजयी हुनुभएको छ । अध्यक्ष विष्टले छ हजार १९ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार गोरखप्रसाद चन्दले चार हजार ३२० मत प्राप्त गर्नुभएको छ । नवनिर्वाचित अध्यक्ष विष्ट यसअघि सानीभेरी गाउँपालिका–३ को वडाध्यक्ष हुनुहुन्थ्यो ।

उपाध्यक्षमा निर्वाचित कमला रोकाले पाँच हजार ९५८ मत प्राप्त गर्नुभएको छ । नेकपा एमालेका प्रकाश खड्काले तीन हजार ४४२ मत प्राप्त गरी पराजित हुनुभएको छ । सानीभेरी गाउँपालिकाका ११ वटा वडामध्ये ३ र ४ नम्बर वडामा नेपाली काँग्रेसका उम्मेदवार निर्वाचित हुनुभएको छ भने बाँकी नौवटा वडामा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित हुनुभएको छ । सानीभेरी गाउँपालिकामा नेपाली काँग्रेस र नेकपा एमालेको चुनावी गठबन्धन रहेको थियो ।

यता जिल्लाको बाँफीकोट गाउँपालिका अध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार जनककुमार बाँठा विजयी हुनुभएको छ । निर्वाचन अधिकृत कृतबहादुर बोहराका अनुसार उहाँले चार हजार ४५५ मत ल्याएर विजयी हुनुभएको हो । बाँठाका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका उम्मेदवार चन्द्रबहादुर केसीले चार हजार ४२४ मत प्राप्त गर्नुभएको  छ । बाँठाले केसीलाई ३१ मतान्तरले पराजित गर्नुभएको हो ।

त्यसैगरी गाउँपालिकाको उपाध्यक्षमा माओवादी केन्द्रकी ताराबुढा केसी विजयी हुनुभएको छ । उहाँले चार हजार ५६० मत ल्याएर विजयी हुनुभएको छ । बाँफीकोटका १० वटा वडामध्ये आठवटामा माओवादी केन्द्र र दुईवटा वडामा नेपाली काँग्रेस एमाले गठबन्धन विजयी भएको छ । २०७४ सालको स्थानीय तह निर्वाचनमा यस गाउँपालिकाका सबै वडा र पालिकामा माओवादीले विजय प्राप्त गरेको थियो ।

त्रिवेणी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा माओवादी केन्द्र विजयी भएको छ । मङ्गलबार दिउँसो मतगणना सम्पन्न हुँदा अध्यक्षमा माओवादी केन्द्रका गणेशकुमार केसी र उपाध्यक्षमा राजकुमारी रेउले विजयी भएको निर्वाचन अधिकृतको कार्यालय त्रिवेणीले जनाएको छ । अध्यक्षमा केसीले पाँच हजार १२९ मत प्राप्त गर्दै विजयी हुनुभएको छ । उपाध्यक्षमा निर्वाचित रेउलेले पाँच हजार १४३ मत ल्याउँदा उहाँका प्रतिस्पर्धी नेपाली काँग्रेसकी सृष्टि बाँठा मगरले चार हजार ३१३ मत प्राप्त गर्नुभएको छ  । १० वडा रहेको त्रिवेणी गाउँपालिकामा पाँचवटा वडामा माओवादी, चारवटामा कांग्रेस र एउटा वडामा स्वतन्त्रका उम्मेदवार विजयी हुनुभएको छ । 

तीनमा काँग्रेस एकमा माओवादी 

जुम्ला समाचारदाताका अनुसार जुम्लाका  चारवटा स्थानीय तहको नतिजा आइपुग्दा नेपाली काँग्रेस हिमा, कनकासुन्दरी र तिलामा विजयी भएको छ । सिन्जामा भने माओवादी केन्द्र विजयी भएको छ । जुम्लाको सिन्जा गाउँपालिकामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पूर्णप्रसाद धिताल विजयी हुनुभएको छ । उपाध्यक्षमा माओवादीकै सितली रोकाया विजयी हुनुभएको हो । अध्यक्ष धितालले एक हजार ९४९ मत प्राप्त  गर्नुभएको छ भने उपाध्यक्ष रोकायाले एक हजार ९५६ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

जुम्लाको पातारासी गाउँपालिका अध्यक्षमा नेपाली काँग्रेसका पूर्णसिंह बोहरा विजयी हुनुभएको छ । उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका जुनमाया रोकाया विजयी हुनुभएको छ । अध्यक्ष बोहराले दुई हजार ७६८ मत प्राप्त गर्नुभएको छ भने उपाध्यक्ष रोकायाले दुई हजार ७५४ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । हिमा गाउँपालिकामा नेपाली कांग्रेसका अध्यक्ष लक्ष्मणबहादुर शाही र उपाध्यक्षमा नेपाली कांग्रेसकै सुपर्ना शाही विजयी हुनुभएको छ । कनकासुन्दरी गाउँपालिकामा नेपाली काँग्रेसका अध्यक्ष दामोदर आचार्य र उपाध्यक्षमा नेपाली काँग्रेसकै प्रेमकली बुढा विजयी हुनुभएको छ ।

Author

कर्णाली प्रदेश ब्युरो