काठमाडौं, वैशाख ४ गते । नेपाली फिल्म 'प्रेमगन्ज'काे टिजर सार्वजनिक गरिएको छ । निर्माण टिमले राजधानीमा सम्पन्न 'विन्ध्यवासिनी म्युजिक अवार्ड'मा फिल्मको टिजर सार्वजनिक गरेको हो ।टिजरमा सुरक्षा पन्त, बेनिशा हमालसँगै नव प्रवेशी तेज गिरी र बाल कलाकार राइडर प्रशान्त र सिमरन खड्काको पनि प्रभावशाली उपस्थिति देख्न सकिन्छ । अनन्तमान श्रेष्ठ कार्यकारी निर्माता रहेको फिल्मलाई परिच्छेद सेनले नै लेख्नुभएको हो । निर्माण टिमले फिल्मको टिजर 'कपिराइट फ्रि' रहने जनाएको छ । यस्तै, निर्माण टिमले युट्युब, फेसबुक तथा टिकटकमा टिजर राखेर धेरै दर्शकलाई देखाउनेलाई २५ हजार, १४ हजार र १० हजार पुरस्कारको पनि व्यवस्था गरेको छ । यो अफर साउन २५ गतेसम्म चल्नेछ ।श्रेष्ठका अनुसार टिजर सामाजिक सञ्जालमा सेयर गर्दा ह्यासट्याग प्रेमगन्ज भदौ ३, प्रेमगन्ज हेर्ने दिन भनेर फिल्मको अफिसियल पेजमा मेन्सन गर्दै सेयर गर्नुपर्नेछ । भिडियो बुढासुब्बा युट्युब च्यानलबाट डाउनलोड गरेर अपलोड गर्न सकिने पनि निर्माण टिमले जनाएको छ ।फिल्ममा बेनिशा हमाल, सम्पदा बानियाँ, पवन भट्टराई, सुप्रिया खनाल, राइडर प्रशान्त, सिमरन खड्का, नरेश पौडेल, रश्मी भट्ट, सञ्जोग रसाइली र गीता अधिकारीलगायत अन्य कलाकारको अभिनय छ । फिल्म भदौ ३ गतेदेखि प्रदर्शनमा आउने भएकाे छ ।
गोरखापत्र समाचारदाताकाठमाडौँ, वैशाख ४ गते ।चालू आर्थिक वर्ष पूरा हुन तीन महिना बाँकी रहँदा पनि पुँजीगत खर्च एक तिहाइ पनि हुन सकेको छैन । आव २०७८/७९ को नौ महिना पूरा भइसक्दा लक्ष्यको २७.४५ प्रतिशत मात्रै पुँजीगत खर्च भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । चैतसम्मको पुँजीगत खर्च एक खर्ब तीन अर्ब ७८ करोड रुपियाँ मात्र खर्च भएको हो । चालू आर्थिक वर्षका लागि सरकारले तीन खर्ब ७८ अर्ब नौ करोड रुपियाँ पुँजीगत बजेट विनियोजन गरेको थियो । यस हिसाबले सरकारले बाँकी तीन महिनाभित्र दुई खर्ब ७५ अर्ब रुपियाँ खर्च गर्नुपर्ने देखिन्छ । यद्यपि सरकारले मध्यावधि समीक्षामार्फत पुँजीगत खर्च कुल विनियोजनको करिब ३८ अर्ब घटाउँदै तीन खर्ब ४० अर्ब ३२ करोड रुपियाँ खर्च गर्ने लक्ष्य तोकेको थियो । यस हिसाबले पनि सरकारले बाँकी तीन महिनामा दुई खर्ब ३७ अर्ब रुपियाँ खर्च गर्नुपर्ने हुन्छ । कुल खर्च ४९ प्रतिशतसमीक्षा अवधिमा सरकारले कुल सात खर्ब ९४ अर्ब २५ करोड रुपियाँ खर्च गरेको छ जुन लक्ष्यको ४८.६४ प्रतिशत हुन आउँछ । चालू आर्थिक वर्ष सरकारले १६ खर्ब ३२ अर्ब ८२ करोड रुपियाँ खर्च गर्ने लक्ष्य बजेटमार्फत सार्वजनिक गरेको थियो । यसमध्ये सबैभन्दा धेरै चालू शीर्षकमा खर्च भएको कार्यालयको तथ्याङ्क छ । चैतसम्म लक्ष्यको ५८.७२ प्रतिशत अर्थात् छ खर्ब २५ अर्ब ५० करोड रुपियाँ चालू खर्च भएको छ । वित्तीय खर्च भने लक्ष्यको ३४.२९ प्रतिशत अर्थात् ६४ अर्ब ९६ करोड रुपियाँ खर्च भएको छ । चालू आर्थिक वर्ष एक खर्ब ८९ अर्ब ४३ करोड रुपियाँ वित्तीय खर्च गर्ने सरकारको लक्ष्य छ । राजस्व दुई तिहाइ लक्ष्यअनुसार शीर्षकगत बजेट खर्च नभए पनि राजस्व सङ्कलन भने सन्तोषजनक नै देखिएको छ । चैतसम्म सरकारले लक्ष्यको दुई अर्थात् ६६.८५ प्रतिशत राजस्व सङ्कलन गरेको छ । कार्यालयका अनुसार चैतसम्म सात खर्ब ८९ अर्ब २६ करोड रुपियाँ राजस्व सङ्कलन भएको छ । चालू आर्थिक वर्षका लागि सरकारले ११ खर्ब ८० अर्ब ६० करोड रुपियाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको छ । कुल राजस्वमध्ये कर राजस्व ६८.१५ प्रतिशत अर्थात् सात खर्ब २७ अर्ब ७८ करोड रुपियाँ सङ्कलन भएको छ । चालू आर्थिक वर्ष १० खर्ब ६७ अर्ब ९६ करोड रुपियाँ कर राजस्व सङ्कलन गर्ने लक्ष्य राखिएको छ । त्यस्तै चैतसम्म ६१ अर्ब ४७ करोड रुपियाँ गैरकर राजस्व सङ्कलन भएको छ । यो लक्ष्यको ५४.५८ प्रतिशत हो । चालू आर्थिक वर्षका लागि एक खर्ब १२ अर्ब ६३ करोड रुपियाँ गैरकर राजस्व सङ्कलन गर्ने लक्ष्य तोकिएको छ । अनुदान झन्डै १४ अर्बचालू आर्थिक वर्षको चैतसम्ममा १३ अर्ब ८८ करोड रुपियाँ अनुदान प्राप्त भएको छ । बजेटमार्फत चालू आर्थिक वर्ष ५९ अर्ब ९१ करोड रुपियाँ अनुदान प्राप्त गर्ने लक्ष्य राखिएको थियो । त्यस्तै अन्य प्राप्तितर्फ सरकारले ३८ अर्ब ६१ करोड रुपियाँ सङ्कलन गरेको छ । राजस्व, अनुदान र अन्य प्राप्तिसमेत गरेर सरकारले चैतसम्म कुल आठ खर्ब ४१ अर्ब ७५ करोड रुपियाँ प्राप्त गरेको छ । यी सबै शीर्षकमार्फत चालू आर्थिक वर्ष सरकारले १२ खर्ब ४० अर्ब ५२ करोड रुपियाँ प्राप्त गर्ने लक्ष्य राखेको थियो ।
सरोज ढुङ्गेलकाठमाडौँ, वैशाख ४ गते । वीर अस्पतालको आकस्मिक कक्षपछाडिको शौचालयमा शौचालयको ढोका अगाडिबाटै ह्वास्सै गन्ध आउँछ, पस्नै कठिन छ । जसोतसो भित्र पसे शौच गर्ने समयसम्म टिक्न मुस्किल पर्छ । पिसाब फेर्ने प्यानमै खैनी, परागजस्ता पदार्थ खाएर थुकेको हुन्छ । शौचालयको एउटा ढोका कुहिएको छ, अर्को खुलै रहन्छ ।दिसा गर्ने प्यानको माथितिर फोहोरै फोहोर हुन्छ । शौचालयभित्रै पानीका बोतल, कपडाजस्ता वस्तु धेरै समयदेखि छन् । शौचालय सफा गर्ने कर्मचारीले त्यता ध्यान दिएको हुँदैन । वीर अस्पतालकै एक तलामाथि रहेको अर्को शौचालय पनि त्यस्तै छ । जताततै फोहोरै फोहोर । प्रायः सबै पिसाब नल भरिएका छन् । त्यसको सिधा आकस्मिक ल्याब अगाडि भने कर्मचारीका लागि मात्र छुट्टै शौचालय व्यवस्था छ । त्यहाँ सर्वसाधारणलाई शौच गर्न ताल्चा लगाइएको हुन्छ । अस्पतालको कुनै कर्मचारीलाई शौच लागेमा चाबी लिएर आउँछन् र शौच गरेर जान्छन् । सर्वसाधारणले प्रयोग गर्ने शौचालयभन्दा अस्पतालकै कर्मचारी तथा स्वास्थ्यकर्मीले प्रयोग गर्ने शौचालय भने राम्रो छ । वीर अस्पतालमा सरसफाइकर्मी सयजना छन् । अस्पतालले राखेका स्थायी ३५ जना र अरू ठेक्कामार्फत राखिएका हुन् । यति धेरै सरसफाइकर्मी भए पनि शौचालय दुर्गन्धित हुनुमा अस्पतालमा मानिसको चाप अत्यधिक रहेको अस्पतालका पदाधिकारीको भनाइ छ । अस्पतालका शौचालय फोहोर भइरहने विषयमा अस्पताल प्रमुख डा. भूपेन्द्रकुमार बस्नेत सामान्य मान्नुहुन्छ । उहाँका अनुसार दैनिक दुई हजारसम्म ओपीडी टिकट जान्छ । अस्पतालमा भर्ना भएका र पछि फेरि जँचाउन आउने बिरामीले गर्दा दुई हजार पाँच सयभन्दा बढीको आवतजावत हुने अस्पतालमा शौचालय फोहोर हुनु सामान्य हो । डा. बस्नेतले भन्नुभयो, “कतिपय मानिस त शौचालय प्रयोग गर्नै नजान्ने पनि आउँछन् ।” समय–समयमा सफाइ कर्मचारीले सफा गर्ने गरेको जानकारी दिँदै उहाँले मानिसको अत्यधिक चापका कारण शौचालय फोहोर भएको बताउनुभयो । थोरै सङ्ख्यामा बिरामी आउने अस्पताल र दैनिक एक हजार पाँच सयदेखि दुई हजारभन्दा बढी बिरामी आउने अस्पताल सरसफाइमा एउटै हुन सक्दैन । डा. बस्नेतले थप्नुभयो, “वीर अस्पतालमा समय–समयमा सफा गर्दा पनि त्यत्तिकै फोहोर भइरहन्छ ।”वीर अस्पतालनजिकका स्थान व्यावसायिक रूपमा अगाडि रहेकाले कतिपय व्यवसायी तथा बाटो हिडँ्ने बटुवा पनि अस्पतालभित्रै आएर शौच गर्छन् । कतिपय मानिसले शौचालयको धारो टुटाइदिने, शौचालयभित्रै प्याड हालिदिने, खैनी, सुर्ती खाएर थुकिदिने, कतिपयले गज पनि शौचालयमै हालिदिने हुँदा जाम हुने गरेको डा. बस्नेतको भनाइ छ । वीर अस्पतालमात्र होइन, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका शौचालय भने पूरै फोहोर छ । केही महिनाअघिसम्म शिक्षण अस्पतालमा आउने बिरामी तथा कुरुवाबाट अस्पतालले दिसा–पिसाब गरेको शुल्क लिने गरेको थियो । अस्पतालका कार्यकारी निर्देशकका रूपमा डा. दिनेश काफ्ले आइसकेपछि अहिले शिक्षण अस्पतालमा दिसा–पिसाब गरेको शुल्क लाग्दैन । धेरै गुनासो आएपछि शुल्क लिने कार्य बन्द गराएको जानकारी दिँदै उहाँले त्रिवि शिक्षण अस्पतालमा शौचालय फोहोर हुनुमा बिरामीको अत्यधिक चापलाई नै लिनुभयो । उहाँका अनुसार कतिपय बिरामी तथा बिरामीका आफन्तले शौच गर्न जान्दैनन् । गाउँबाट सिफारिस भई आएका बिरामी र कुरुवा ट्वाइलेटमा बस्नै नजान्ने हुन्छन् । उनीहरूले पानीले भन्दा माटो तथा कागज, कपडा तथा अन्य पदार्थले दिसा पुछ्ने गरेको पाइयो । शिक्षण अस्पतालमा दैनिक दुई हजार पाँच सयभन्दा बढी ओपीडीमा बिरामी आउँछन् । यस्तै, आकस्मिक कक्षमा पाँच सयभन्दा बढी बिरामी आउँछन् ।
भउचप्रसाद यादवकाठमाडौँ, वैशाख ४ गते । सुरुङमार्ग आयोजनाको कार्यालयमा स्थानीयले आक्रमण गरेपछि थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माणकार्य ठप्प भएको छ । सुरुङमार्ग आयोजना प्रमुख नरेशमान शाक्यले स्थानीयले आयोजनाको कार्यालय र कार्यरत जनशक्तिमाथि आक्रमण गरेपछि सुरक्षा अभावमा चैत २८ गतेदेखि नै सुरुङ निर्माणकार्य ठप्प भएको जानकारी दिनुभयो ।उहाँले भन्नुभयो, “आयोजनाको कार्यालय, काम गरिरहेका जापानी इन्जिनियर र कामदारमाथि साङ्घातिक आक्रमण गर्नुका साथै गाडीलगायतका भौतिक संरचनामा समेत हानि पु-याएको भन्दै जापानी निर्माण कम्पनीले काम गर्न नमान्दा काम ठप्प भएको हो ।”आयोजना प्रमुख शाक्यका अनुसार करिब एक सय जनाको समूहमा आएका स्थानीयवासीले ढुङ्गामुढा, लाठी र लात्तीमुक्का प्रयोग गरी कार्यालयको ब्लक नम्बर १ भवनको छ सेट झ्याल र एउटा ढोका, ब्लक नम्बर २ को चार सेट झ्याल, मेडिकल हलको दुईवटा झ्याल र एउटा ढोका तोडफोड गरेको थियो ।त्यसैगरी, आक्रमणकारीले कार्यालय परिसरमा राखिएको बा१८च ४१२ नम्बरको जिप तोडफोड गरेका छन् । प्रहरीले घटनालाई केही समयमै नियन्त्रणमा लिएको थियो । दातृनिकाय तथा निर्माण कम्पनीका विदेशी जनशक्तिमाथि कुनै पनि बहानामा आक्रमण गर्नु निकै नै संवेदनशील विषय भएको बताउँदै प्रमुख शाक्यले राज्यको तर्फबाट सुरक्षाको पूर्ण प्रत्याभूति नभएसम्म काम पुनः सुरु हुन नसक्ने स्पष्ट पार्नुभयो ।उहाँले भन्नुभयो, “जिल्ला प्रशासन कार्यालय काठमाडौँले छलफलका लागि निर्माण पक्ष र स्थानीयलाई आइतबार बोलाएको छ । छलफलमा प्रशासनबाट निर्माणस्थलमा २४ घण्टा सुरक्षाको सुनिश्चितता नभएसम्म हामी काममा फर्कन सक्दैनौँ ।”उहाँका अनुसार दैनिक १२ मिटर सुरुङ खन्ने काम हुँदै गरेकोमा छ दिनदेखि काम ठप्प छ ।सुरुङमार्ग निर्माण ठप्प हुँदा राज्यलाई दैनिक करिब डेढ करोड रुपियाँ घाटा भइरहेको आयोजना प्रमुख शाक्यले बताउनुभयो । राज्यले निर्माण कम्पनीलाई दैनिक डेढ करोड रुपियाँ भुक्तानी गर्नुपर्छ । हाम्रा कारणले काममा अवरोध भएर काम रोकिएको अवस्थामा सो रकम राज्यले तिर्नैपर्छ । आयोजना प्रमुख शाक्यले सुक्खायामका कारण काठमाडौँ उपत्यकाभरि नै पानीका मुहानबाट पानी कम आएको बताउनुभयो । उहाँले भन्नुभयो, “पानीका अन्य मुहानजस्तै त्यस टोलको पनि मुहानबाट पानी कम आएको हो । मुहान सुकेको होइन ।”
चन्द्र पन्दाकताप्लेजुङ,,वैशाख ४ गते । ताप्लेजुङको पर्यटकीय क्षेत्र सुकेटार नजिक देउरालीमा रेडपान्डा अध्ययन तथा अनुसन्धान केन्द्र निर्माण गरिएको छ । फुङ्लिङ नगरपालिका–९ हाङ्देवास्थित देउराली सामुदायिक वनमा दुर्लभ वन्यजन्तु रेडपान्डाको अध्ययन तथा अनुसन्धान केन्द्र निर्माण गरिएको हो ।जिल्लास्थित हिमाली संरक्षण मञ्च र रेडपान्डा नेटवर्कले रेडपान्डा अध्ययन तथा अनुसन्धान केन्द्र निर्माण गरेका हुन् । जैविक विविधता तथा वन्यजन्तुको अध्ययन र अनुसन्धान गर्नेगरी केन्द्र निर्माण गरिएको हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक रमेश राईले जानकारी दिनुभयो । राईका अनुसार अध्ययन तथा अनुसन्धान केन्द्र स्थापनाका लागि कुल एक करोड ५७ लाख रुपियाँको लागतमा भवनसहितका संरचना निर्माण गरिएको छ ।मञ्चको सहजीकरण र रेडपान्डा नेटवर्कको आर्थिक सहयोगमा भौतिक संरचना निर्माण गरिएको राईले जानकारी दिनुभयो । उहाँका अनुसार वातारणमैत्री संरचना भएकाले जैविक निर्माण सामग्री प्रयोग गरिएको छ । निर्माण कम्पनी एसएनपीका आयोजना सुपरभाइजर अमृत भट्टराईका अनुसार संरचना निर्माणमा वातावरणमैत्री कच्चापदार्थ र स्थानीय उत्पादनका सामग्री प्रयोग भएको छ ।भट्टराईले गोबर, खरानी, अण्डाको खोल, शुद्ध तोरीको तेल, चुना, माटो, परालको टुक्रालाई मुछेर स्रोतकेन्द्र निर्माण कार्यमा प्रयोग गरिएको बताउनुभयो । उल्लेखित निर्माण सामग्री प्रयोगले संरचना वातावरणमैत्री बन्नुका साथै बलियो, टिकाउ र मौसम अनुकूलित प्रकृतिको हुने पनि उहाँले बताउनुभयो । अहिले भवन निर्माणको कार्य करिब ९९ प्रतिशत सम्पन्न भएको र चाँडै सञ्चालनमा आउने बताइएको छ ।यता केन्द्र स्थापनाले वन र दुर्लभ वन्यजन्तुको संरक्षणमा सहयोग पुग्ने विश्वास राखिएको देउराली भित्री सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष निमाक्रिक्या शेर्पाले बताउनुभयो । स्थानीय जैविक विविधता संरक्षणलगायत वातावरणमैत्री सेवाको प्रवर्धन, सदुपयोगसहित पर्यटन प्रवर्धन गरी उपभोक्ता समूहको आयआर्जनमा वृद्धि गर्ने उद्देश्यले पनि केन्द्र निर्माण गरिएको शेर्पाले बताउनुभयो । दुर्लभ रेडपान्डासहित संरक्षित जङ्गली जनावर, जडीबुटीलगायत प्रजातिको प्रदर्शनी स्थलका रुपमा विकास गर्ने योजना रहेको उहाँको भनाइ छ ।
सिराज खान नेपालगञ्ज, वैशाख ४ गते । बाँकेको पूर्वी क्षेत्रमा पर्ने नरैनापुर र राप्तीसोनारी गाउँपालिकामा गर्मीयाममा वर्सेनी आगलागी हुने गरेको छ । ती दुवै पालिका नेपालगञ्ज र कोहलपुरबाट समेत निकै टाढा रहेकोले यहाँबाट दमकल गएर आगो निभाउँदा निभाउँदै गाउँ नै सखाप भैसकेको हुन्छ । जनताको दवाब र मागका कारण नरैनापुर गाउँपालिकाले भने पालिकामै दमकल किनेर राखेको छ । पालिकामा दमकल राखेपछि आगो नियन्त्रणमा निकै सहज भएको गाउँपालिकाका अध्यक्ष ईश्तियाक अहमद शाहले बताउनुभयो । उहाँले भन्नुभयो–‘‘यसअघि दमकल नहुँदा नेपालगञ्ज र कोहलपुरबाट आउने दमकलको मुख ताकेर बस्दा बस्तीका बस्ती सखाप भैसकेका हुन्थे । तर अहिले सहज भएको छ । ’’नरैनापुर जस्तै राप्तीसोनारीका पनि धेरै गाउँ बस्तीमा गर्मी र हावाहुरीको मौसममा आगलागी हुने गरेको छ । तर, सो पालिकाले एक कार्यकाल पूरा गरे पनि दमकल भने खरिद गर्न सकेन । जस्का कारणले आगलागीबाट हुने क्षति रोक्न समस्या भएको स्थानीयले बताएका छन् । पालिकाले अन्य धेरै योजनामा रकम खर्च गरे पनि आवश्यक पर्ने एउटा दमकल खरिद गर्न नसक्दा आगलागी नियन्त्रणमा समस्या भएको फत्तेपुरका जनक थारुले गुनासो गर्नुभयो । उहाँले पालिकाभित्र कतै पनि आगलागी हुँदा कोहलपुर र नेपालगञ्जबाट दमकल पर्खिनुपर्ने बाध्यताले आँखै अगाडि सबै जलेर खरानी हुने गरेको बताउनुभयो । सोही प्रकारको घटना गएको शुक्रबार पनि सो पालिकामा भयो । राप्तीसोनारी गाउँपालिका २ टिकलीपुर गाउँमा शुक्रवार अपरान्ह आगलागी हुँदा ११ घर र ४ गोठ जलेर खरानी भए । नेपालगञ्ज र कोहलपुरबाट दमकल पुग्दासम्म नयाँ बस्ती खरानीमा परिणत भैसकेको थियो । स्थानीय सीताराम जैसीको घरबाट सुरु भएको आगोले ११ घर र ४ गोठ जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डीएसपी ऐन बहादुर मल्लले हावाहुरीको मौसम भएकोले आगो सल्किएको बताउनुभयो । उहाँले गाउँपालिकामा दमकल नहुँदा आगो नियन्त्रणमा समस्या आएको बताउनुभयो । ढकेरी प्रहरी चौकीका इन्चार्ज टेक बहादुर केसीका अनुसार राप्तीसोनारीमा दमकल नहुँदा आगलागी नियन्त्रणका लागि कोहलपुर र नेपालगञ्जबाट दमकल झिकाइएको थियो । दमकलहरु घटनास्थल पुग्दासम्म ११ घर र ४ वटा घर आगोले खरानी भैसकेको केसीले बताउनुभयो । आगलागी पीडितलाई घर बनाउन प्रति परिवार डेढ लाख रुपियाँका दरले राप्तीसोनारी गाउँपालिकाले राहात उपलब्ध गराएको छ । त्यसका साथसाथै पालिकाले पीडितको बसोबासको व्यवस्था मिलाउनुका साथै खाद्य र गैरखाद्य सामग्री पनि वितरण गरेको पालिकाका अध्यक्ष लाहुराम थारुले बताउनुभयो ।
रेखीराम रानापाल्पा, वैशाख ४ गते । जिल्लामा आगलागीका घटनामा वृद्धि भएको छ । गर्मी बढेकाले जिल्लाका विभिन्न स्थानमा आगलागीका घटनामा वृद्धि भएको हो । पछिल्लो समय दिनहुँजसो आगलागीका घटना बढेको डिभिजन वन कार्यालय पाल्पाले जनाएको छ । केही दिनअघिसम्म आगलागीका घटना भएकै थिएनन्, तर पछिल्लो तीन÷चार दिनको अवधिमा तानसेन र रैनादेवी छहरालगायतका स्थानमा आगलागीका घटना भएका छन् । तानसेनको वनदेवीमा जङ्गलमा १५ हेक्टर बढी क्षेत्रफलमा आगलागी भएको छ । यस्तै,तानसेन–९,मदनपोखराको पोषपाखा सामुदायिक वनमा १० हेक्टरभन्दा बढी क्षेत्रफलमा आगलागी भएको डिभिजन वन कार्यालय पाल्पाका डढेलो फोकल पर्सना उपेन्द्र अर्यालले जानकारी दिनुभयो । आगलागीका घटनालाई न्यूनीकरण गर्न वन कार्यालयले जिल्लाभर नागरिकलाई सचेत बनाउने अभियान सञ्चालन गरिरहेको छ । सामुदायिक वनका उपभाेक्ता, जनप्रतिनिधि र सरोकारवाला सहभागी डढेलो नियन्त्रण सञ्जाल सक्रिय रहेको अर्यालले बताउनुभयो । प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको सहयोगमा डढेलो नियन्त्रणको काम भइरहेको छ । जिल्लामा हाल २६ क्षेत्र डढेलोको उच्च जोखिम र २९ वटा क्षेत्र मध्यम जोखिममा छन् । उच्च र मध्यम जोखिम रहेका क्षेत्रमा समेत आम उपभोक्ता, विद्यार्थी तथा स्थानीय बासिन्दालाई सचेत बनाइएको अर्यालले बताउनुभयो । गतवर्ष यही समयमा सात सय हेक्टर वनमा आगलागी भएको थियो । गतवर्ष यही समय अवधिमा जिल्लाभरका ८१ वटा सामुदायिक वनमा आगलागी भएको थियो । विगतका वर्षमा आगलागी हुने क्षेत्रलाई आधार बनाएर आगलागी नियन्त्रण गर्ने कार्ययोजना बनेको डिभिजन वन अधिकृत दीपक ज्ञवालीले बताउनुभयो । जिल्लाभर एउटा मात्रै दमकल यसैबीच, जिल्लामा आगलागीका घटना बढे पनि जिल्लाभर दमकल भने एउटा मात्रै छ । तानसेन नगरपालिकामा मात्रै एउटा दमकल रहेको पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले बताउनुभयो । ‘आगलागीका घटना बढेका छन्, तर आगलागी नियन्त्रण गर्न सबैभन्दा उपयुक्त साधन दमकल तानसेनबाहेक अन्य पालिकामा छैन’, उहाँले भन्नुभयो । स्थानीय तहले दमकलको व्यवस्था गर्न सके आगलागी नियन्त्रण सहज हुने र मानवीय र धनमाल क्षति कम गर्न सकिने प्रजिअ पन्तले बताउनुभयो । अहिले आगलागी नियन्त्रणका लागि उपयुक्त साधन नहुँदा सम्भव भएको स्थानमा दमकल पठाउने गरेको तानसेन नगरपालिकाका नगर प्रमुख अशोककुमार शाहीले बताउनुभयो ।
तिलाचन पाण्डेतम्घास, वैशाख ४ गते । सत्तारुढ गठबन्धन दल गुल्मीको प्रवक्ताको जिम्मेवारी बुद्धि जिसीलाई प्रदान गरिएको छ ।स्थानीय तहको निर्वाचनलाई लक्षित गरी गठबन्धनको आधिकारिक धारणा बाहिर ल्याउने र बोल्ने जिम्मेवारी नेकपा माओवादी केन्द्र गुल्मीका जिल्ला संयोजक जिसीलाई प्रदान गरिएको गठबन्धन गुल्मीले जनाएको छ ।सदरमुकाम तम्घासमा सम्पन्न गठबन्धनको बैठकले जिसीलाई प्रवक्ताको जिम्मेवारी प्रदान गरिएको नेपाली काँग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले जानकारी दिनुभयो ।यता, प्रवक्ता जिसीले जिल्लामा गठबन्धन गरेर जाने विषयमा सबै दल, एकै ठाउँमा रहेको बताउनुभयो ।एक दुई दिनभित्रैमा जिल्लाका १२ स्थानीय तहमा गठबन्धनको भागबण्डासहित आधिकारिक धारणा बाहिर आउने उहाँले दाबी गर्नुभयो । कुन स्थानीय तहमा कुन पार्टीले जिम्मेवारी पाउने भन्ने बारेमा छलफल भइराखेको भन्दै उहाँले सहमतिको नजिक पुगेको बताउनुभयो ।आइतबार पनि गठबन्धनको बैठक बस्ने तयारी भइरहेको एक नेताले जानकारी दिनुभयो ।जिल्लामा हाल दुई नगरपालिकासहित सात स्थानीय तहमा नेकपा एमालेको नेतृत्व छ । चार स्थानीय तहमा नेपाली काँग्रेसको नेतृत्व छ । जिल्लाको धुर्कोट गाउँपालिकामा भने नेकपा (माओवादी केन्द्र)ले नेतृत्व गरेको छ । यता, नेकपा एमालेले भने रेसुङ्गा ,मुसिकोट नगरपालिका, मालिका र कालीगण्डकीमा प्रमुखको टुङ्गो लगाइसकेको छ ।
स्याङ्जाको वालिङमा जिप दुर्घटना पाँच जनाको मृत्यु भएको छ । वालिङ १२ बाट वालिङको बाँयटारी बजार तर्फ जाँदै गरेको ग १ ज ७३९९ नम्वरको महिन्द्रा जीप वालिङ १२ को फिरफिरेमा दुर्घटनाग्रस्त भएको हो । दुर्घटनामा परी ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको सनाखत हुन भने बाँकी रहेको छ । ४ जनाको घटनास्थलमा नै र एक जना बालकको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा ज्यान गएको प्रहरीले जनाएको छ ।
पेट्रोलियम पदार्थको खपत कम गर्न हप्तामा दुई दिन बिदा दिन नेपाल राष्ट्र बैँक र नेपाल आयल निगमले गरेको प्रस्ताव मन्त्रिपरिषद्मा पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा निरन्तर उकालो लागेको पेट्रोलियम पदार्थको खपत कम गर्न उक्त प्रस्ताव गरिएको हो । नेपाल आयल निगमका सहप्रवक्ता पुष्कर कार्कीका अनुसार दुई दिन सार्वजनिक बिदा दिँदा अत्यावश्यक बाहेकका सवारी साधनहरु नगुड्ने भएका कारण पेट्रोलियम पदार्थको खपतमा मासिक ३५ प्रतिशतले कमी आउनेछ ।
शैलेन्द्र राेकायाबझाङ, वैशाख ४ गते । बित्थडचिर गाउँपालिका–४ देउलेकमा आइतबार बिहान पौने १ बजे सुपप्र ०१००१ च ००९५ नम्बरको जिप दुर्घटना हुदाँ सुर्मा गाउँपालिका २ का २७ वर्षीय विनोद बोहराको घटनास्थलमै मृत्यु भएको छ । मृतक बोहरा नेपाली काँग्रेसका सभापति खड्कबहादुर बोहराका जेठा छोरा हुनुहुन्छ।प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर बिष्टका अनुसार नेपाली काँग्रेसका सभापति खड्कबहादुर बोहरा पनि दुर्घटनामा पर्नुभएकाे छ।त्यस्तै, दुर्घटनामा घाइते भएका एक जनालाई थप उपचारका लागि धनगढी रिफर गरिएको छ । सभापति बोहराकी बुहारी कञ्जु बोहराको अवस्था गम्भीर रहेकाले धनगढी रिफर गरिएको प्रहरीले जनाएको छ । अन्य सात जनाको अवस्था सामान्य छ । चैनपुरबाट धनगढी हिँडेको जिपमा नौ जना सवार थिए । उनीहरूमध्ये अधिकांश बोहराका आफन्त छन्।
दुई सय घर दलित बस्ती रहेको भेरी नगरपालिका ११ कटिगाउँका छ घरपरिवार भारत गएका छन । ब्यवस्था परिवर्तन पनि सोअनुसारको सुविधा र रोजगारको व्यवस्था नभएपछि सपरिवार कामको खोजीमा भारत पलायन भएका हुन् ।
नवराज कट्टेलविराटनगर, वैशाख ३ गते । नेपाल काँग्रेस विराटनगर महानगर समितिले मेयरका लागि सातजना र उपमेयरमा ११ जना नेताको नाम केन्द्रीय समितिमा सिफारिस गरेको छ । महानगर सभापति दिपक चापागाँईले बैसाख ३० गते हुने स्थानीय तह निर्वाचनमा काँग्रेसका तर्फबाट विराटनगरको मेयर र उपमेयरका लागि सिफारिस गरिएको नामावली शनिबार केन्द्रीय कार्यालयका सचिव प्रेम केसीलाई बुझाउनुभएको हो । महानगरको मेयरका लागि काँग्रेसका केन्द्रीय सदस्य अमृत अर्याल, डा.डिला संग्रौला, भीम पराजुली, जिल्ला उपाध्यक्ष नागेश कोइराला, महानगर सभापति दीपक चापागाँई, प्रदेश समिति सदस्य गोपाल रेग्मी र वर्तमान उपमेयर इन्दिरा कार्कीको नाम सिफारिस गरिएको छ । अघिल्लो निर्वाचनमा निर्वाचित मेयर पराजुली र उपमेयर इन्दिरा कार्कीको नामसहित महानगर समितिले सातजनाको नामावली केन्द्रीय कार्यालयमा बुझाएसँगै कसले टिकट लिने भन्ने दौडधुप सुरु भएको छ । महानगरका सभापति चापागाँईले विराटनगरमा कुनै पनि तालमेल वा गठबन्धन नगर्ने गरी ह्याभ्बीवेटहरुको नाम सिफारिस गरिएको जानकारी दिनुभयो ।उपमेयरका लागि ११ जनाको नाम प्रस्ताव विराटनगरको उपमेयरमा निरज कोइराला, झुमा गौतम, प्रमिला गच्छदार, प्रमिला थापा, पुनम सिंह, जस्मिन मण्डल, पङ्कज बर्मा, दुर्गा कोइराला, डा.सीता घिमिरे, गीता सिलवाल र राजु मास्केको नाम सिफारिस गरिएको छ । विराटनगरमा कुनै पनि गठबन्धन र तालमेल नगर्ने सुझावसहित एकल निर्वाचनमा जानका लागि नामहरु सिफारिस गरेका छौं, महानगरसभापति चापागाँईले भन्नुभयो, अन्तिम नामको निर्णय गर्ने अधिकार केन्द्रीय कार्यालयलाई छ, त्यसले नाम टुङ्गो लगाएसँगै निर्वाचनमा होमिनेछौं ।
शिवशंङ्कर मिश्र बारा, वैशाख ४ गते । बारा जिल्लामा २०७८/०७९ सालमा एक लाख १८ हजार ७२० मेट्रिकटन आलु उत्पादन भएको छ । यसवर्ष कृषकहरुले विभिन्न जातका आलु कुल ७४२० हेक्टर क्षेत्रफलमा खेती गरी प्रति हेक्टर १६ मेट्रिकटनले कुल एक लाख१८ हजार ७२० मेट्रिकटन आलु उत्पादन गरेको कृषि ज्ञान केन्द्र बारा कलैयाका प्रमुख जितेन्द्र यादवले जानकारी दिनुभयो । कम लगानीमा बढी फाईदा हुने नगदे बाली उखुखेती र मत्स्यपालन व्यवसायतर्फ कृषकहरु बढी आकर्षक भएकाले गतवर्षको तुलनामा यसवर्ष आलुखेतीमा ३० हेक्टर क्षेत्रफलमा कमी भएको छ । विगत तीन वर्षदेखि लगातार २० देखि ३० हेक्टर क्षेत्रफल जग्गामा आलुको साट्टो अन्य नगदे बाली खेती हुँदै आएको उहाँले भन्नुभयो ।गतवर्ष २०७७/०७८ सालमा दुई अर्ब ८७ करोड ५९ लाख ५० हजार बराबरको एक लाख १९ हजार २ मेट्रिकटन आलु उत्पादन भएको थियो । ७४५० हेक्कटर क्षेत्रफलमा विभिन्न जातका आलु खेतीगरि १६ मेट्रिकटनले कुल एक लाख १९ हजार २०० मेट्रिकटन आलु उत्पादन गरेको थियो । यसैगरी, २०७६/०७७ मा ७४७० हेक्कटर क्षेत्रफलमा विभिन्न आलु खेतीबाट प्रति क्विन्टल १५ दशमलव ४ प्रतिशतले कुल एक लाख १५ हजार ३८ मेट्रिकटन आलु उत्पादन भएको थियो, ज्ञान केन्द्रका प्रमुख यादवले जानकारी दिनुभयोे ।जिल्लाको उचिडिह हरिहरपुर, गोलागंज, अमृतगंज, देवापुर, भगवानपुर, पिपरपाती, बरियारपुर, मटिअर्वा लगायतका जिल्लाका दक्षिणी भागमा आलुखेती हुँदै आएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी एवम् वाली विकास अधिकृत राजनारायण प्रसाद साहले बताउनुभयो ।
कपिल ज्ञवालीसिद्धार्थनगर, वैशाख ४ गते । आधुनिक उपकरण प्रयोग गरेर कृषि कार्य गर्दैआइरहेका दुई हजार एक सय जना किसान सम्मानित भएका छन् । किसान मिलाप २०२२ नामक कार्यक्रम गरेर रुपन्देही, कपिलवस्तु र नवलपरासीका २ हजार १ सयभन्दा बढी किसान रुपन्देहीमा सम्मानित भएका हुन् ।शक्तिमान ब्रान्डका आधुनिक कृषिजन्य विभिन्न उपकरण टैक्टर, रोटावेटर, पावर टेलर, सिड ड्रिलरलगायतका उपकरण प्रयोग गर्दै आइरहेका किसानलाई सम्मान गरिएको शक्तिमान ब्राण्डका उदयकुमार सिंहले जानकारी दिनुभयो । “किसानलाई हामीले प्रोत्साहन गर्न र ब्यावसायिक सफलताका लागि सम्मान गरेर हौसला दिन खोजेका हौं, पछिल्लो समय किसानलाई प्रविधिमैत्री बनाउन जरुरी छ” उहाँले भन्नुभयो । नेपालका लागि शक्तिमानको आधिकारिक विक्रेता मनमित ट्रेडिङ्ग ओमसतिया गाउँपालिका २ पडसरीले किसान मिलाप २०२२ गर्दै नयाँं उपकरण बारेमा प्रदर्शन गरेको हो । कृषिमा यान्त्रीकरण गरेर उत्पादन बढाउन मद्दत गरेको सहभागी किसानको भनाइ छ । किसानलाई बढ्दो प्रविधिको प्रयोगसँगै भित्रिएका नयाँ उपकरणकोबारेमा अभिमुखीकरण प्रदान गरिएको छ । किसानले पाउने सरकारी अनुदानलगायतको विषयमा किसानलाई जानकारी गराइएको छ । उपकरण १ लाख ५० हजार देखि ११ लाख रुपियाँसम्मका छन् । शक्तिमानले नेपालमा ७२ प्रतिशतभन्दा बढी मार्केट लिएको कम्पनीको दाबी छ ।एक वर्षको अवधिमा करिब ८ सयभन्दा बढी उपकरण विक्री भएको र घरघरमै पुगेर बिग्रिएका उपकरणलाई मर्मत गरिदिने व्यवस्था मिलाइएको छ ।